साइनो वाङ्मय चौतारीको सातौँ वार्षिकोत्सव: ‘२४ अक्षर’ साइनो कवितासङ्ग्रह विमोचन तथा स्रष्टा सम्मान सम्पन्न

-जयराम बिडारी

साउन १६,काठमाडौँ
साइनो वाङ्मय चौतारी, नेपालको आयोजनामा संस्थाको सातौँ वार्षिकोत्सव, कृति लोकार्पण तथा सम्मान अर्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
शनिवार बागबजारस्थित काठमाडौँ मोडल कलेजमा आयोजित कार्यक्रम संस्थाकी अध्यक्ष डा. सीता सुवेदी पन्थीको अध्यक्षता तथा पूर्वीय र पाश्चात्य साहित्यका विद्वान् एवं बालसाहित्यविज्ञ प्रा. डा. रमेशप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. रमेशप्रसाद भट्टराईले ब्यानर पढेर औपचारिक समुद्घाटन गरिएको कार्यक्रममा केशव ज्ञवालीद्वारा अभ्यागतहरुलाई स्वागत गरिएको थियो ।

उक्त अवसरमा सर्जक तोयानाथ चापागाईँद्वारा रचित अङ्ग्रेजी साइनोसमेत समेटिएको ‘२४ अक्षर’ नामक साइनो कवितासङ्ग्रहको लोकार्पण गरिएको थियो । प्रमुख अतिथि प्रा. डा. भट्टराईसहित मञ्चासिन विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरिएको थियो ।
विमोचित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य-सचिव एवं समालोचक डा. धनप्रसाद सुवेदीद्वारा ‘२४ अक्षर’ साइनो कवितासङ्ग्रह साहित्यिक दृष्टिकोणले उत्कृष्ट र विचारणीय रहेको बताउँदै कृति सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

साइनो स्थापनको सातौं वार्षिकोत्सवको अवसरमा साहित्य,शिक्षा र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वहरूलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । सो अवसरमा ‘शृङ्खला’ साहित्यिक मासिक तथा स्टार एक्सप्रेसका सम्पादक/प्रकाशक प्रवीण जोशी , साइनो कविता अभियानकी सक्रिय सदस्य तथा शोधकर्ता आशा तिम्सिना तथा अग्रज स्रष्टा, शिक्षासेवी तथा ‘साइनो चौतारी पाल्पा भाग १ र २’ का प्रकाशन संयोजक धातानन्द शर्मा गैरेलाई प्रमुख अतिथिबाट दोसल्ला ओढाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूका बारेमा शान्तिदीपद्वारा छोटो परिचय गराइएको थियो भने सम्मानित व्यक्तित्व प्रवीण जोशी र आशा तिम्सिनाले संक्षिप्त भनाइ राख्दै प्राप्त सम्मानले ज़िम्मेवारी थपिएको बताउँदै वाङ्मय चौतारीप्रति आभार व्यक्त गरे ।

सो कार्यक्रममा खेमलाल पोखरेल, हरि चौलागाईं, पवित्रा अर्याल, शङ्करकुमार प्रधान, धनकुमार श्रेष्ठ, तथा वासुदेव ज्ञवालीलगायतले साइनो वाचन तथा शुभकामना दिएका थिए,भने शान्तिदीपद्वारा सम्मानित व्यक्तित्वका बारे प्रकाश पारिएको थियो ।

उक्त अवसरमा कृतिकार तोयानाथ चापागाईँले आफ्नो रचनागर्भ र कृति लेखनका अनुभवबारे प्रकाश पार्दै पाठकहरुको समुचित प्रतिक्रियाको अपेक्षित रहेको बताए । सोही अवसरमा साइनो कविता विधाका प्रवर्धक बालसाहित्यकार तथा लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेद्वारा साइनो विधाको महत्त्व र यसको विकासक्रम बारे प्रकाश पारिएकोा थियो ।
उक्त अवसरमा प्रमुख अतिथि .डा. भट्टराईद्वारा साइनो वाङ्मय चौतारीका आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
संस्थाका सचिव शेखरप्रसाद अर्यालद्वारा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रमलाई सभाध्यक्ष डा. सीता सुवेदी पन्थीद्वारा उपस्थित सम्पूर्ण अतिथि, साहित्यकार, स्रष्टा तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो।

Follow Us
7Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top