-माधव घिमिरे ‘अटल’
राजधानीमा शनिबार आयोजित एक वृहत् कार्यक्रममा साहित्यकार तथा राजनीतिज्ञ गोपाल कोइराला ‘त्यागी’बारे लिखित कृतिको लोकार्पण तथा कृतिकारलाई अभिनन्दन गरियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व सचिव प्रमुख अतिथि द्वारिकानाथ ढुङ्गेलले प्रकाशकलाई धन्यवाद दिँदै विभिन्न व्यक्तित्वहरूले गोपाल कोइराला ‘त्यागी’का जीवनका ऊहापोह र सम्पूर्ण परिचय कृतिमा समेटिएको बताए । यो सतासी बर्से वयमा पनि उनको सिर्जनशीलता र देशप्रति गम्भीर चासो रहेको ढुङ्गेलले बताए ।
प्रा.डा. सुरेन्द्र के.सी.ले कोइराला सिमानामा बसेर सीमाका कुरा उठाउने साहसिक योद्धा भएको खुलासा गर्दै कतिले पार्टी छोडे, कतिले देश छोडे, कतिले विचार छोडे भन्दै गोपाल कोइरालाहरू अहिलेका प्रधानमन्त्रीको कथन सुन्दा के सोच्दा हुन् भन्दै यक्षप्रश्न तेर्स्याए । सरकारको गलत बुझाइले यतिखेर सीमाबारे थप अप्ठ्यारो निम्तिएको बताए ।
चर्चित समालोचक तथा सर्जक गोपी मैनालीले भावना र सिर्जनाको योद्धा भएको जिकिर गर्दै बीसदेखि तीसको दशकमा लेखिएका कविता र त्यतिखेरको समाजको जीवन्त चित्रमात्र नभई आठ दशकको व्यक्तित्व आफैँ एउटा पुस्तक पनि हो भन्ने बताए ।
डा. हरिप्रसाद सिलवालले गोपाल कोइराला ‘त्यागी’को त्यागका बारे परिचर्चा गर्दै त्यागीको साहित्यिक र सामाजिक योगदान पहिचान गर्न ढिला भइसकेको चर्चा गरे । उनले गोपालजस्ता व्यक्तित्वका बारे व्यापक विमर्शको खाँचो रहेको बताए ।
त्यसरी नै साहित्यकार तथा समालोचक डा. विनोद मन्जनले त्यागी साहित्य र राजनीतिका प्रखर हस्ती भएको दाबी गरे । गतिमा क्रिया हुन्छ त्यसमा सिर्जना हुन्छ भन्ने मन्जनको कथन थियो ।
डा. खेम कोइराला ‘बन्धु’ले ‘त्यागी’ राष्ट्र र राष्ट्रियताका अथक योद्धा भएको बताउँदै उनको मुक्तकण्ठले सराहना गरे । उनलाई सम्मान गर्नु भनेको आफूहरूलाई नै सम्मान भएको बन्धुको कथन थियो ।
यसैगरी ठाकुर शर्मा भण्डारीले त्यागीले लेखेको उपन्यासमाथि आफूले लेखेको कवितात्मक भाषा वाचन गर्दै त्यागीको त्यागबारे प्रकाश पारे ।
समालोचक युवराज मैनालीले त्यागी सीमा क्षेत्रको दस्तावेजीकरण गर्ने बहादुर व्यक्तित्व भएको बताए । इनरुवा नपाको मेयर हुँदा कोइरालाले गरेका कामको मैनालीले बखान गरे ।
गोपाल कोइरालाका सुपुत्र रोशन कोइरालाले यदि पुनर्जन्म भयो भने यिनै बाबुआमाबाट जन्मन पाऊँ भन्ने कामना गरे ।
बानेश्वर सर्जक समाजका सचिव रमेश शुभेच्छुले सम्पूर्ण उपस्थित साहित्यकारहरूलाई स्वागत गरेका थिए भने जे.पापीले आफू गायकभन्दा पनि हलकारा भएको भन्दै ‘छिटो हिँड ड्राइभर दाजु….’ बोलको सुमधुर गीत प्रस्तुत गरे । उता गजलकार अर्जुन ‘अन्योल’ले गजलद्वारा परोक्ष रुपमा सरकारप्रति आक्रोश पोखे ।
कार्यक्रममा लहरा साहित्यिक पत्रिका, चेरब स्मृति प्रतिष्ठान, दायित्व वाङ्मय प्रतिष्ठान, नागार्जुन वाङ्मय प्रतिष्ठान, लालित्य सिर्जना समाज, नोबेल साकोस साहित्य संस्था, गोधूली साहित्य, वनिता त्रैमासिकलगायतका संस्थाहरूले गोपाल कोइराला ‘त्यागी’लाई सम्मान गरेका थिए ।
अभिनन्दित व्यक्तित्व गोपाल कोइराला ‘त्यागी’ उपस्थित सबै वक्ताका कुरा सुन्दा आफूले केही पो गरेछु कि भन्ने अनुभूति भएको भन्दै उपस्थित सबैप्रति आभार प्रकट गरे । कार्यक्रमका अध्यक्ष वरिष्ठ साहित्यकार महेश प्रसाईंले सबैप्रति कृतज्ञता व्यक्त गर्दै समारोहको बिट मारे ।
महेश प्रसाईं र तेजेन्द्र प्रसाईंले सम्पादन गरेको पुस्तक ‘एउटा अथक योद्धा गोपाल कोइराला ‘त्यागी’ ‘ मा उनका जीवनका विविध आयाम समेटिएका साढे दुई दर्जन रचनाहरू समेटिएका छन् ।




