भौतिकवादी उपनिषद् वैज्ञानिक चिन्तनका लागि उपयोगी : विचार चौतारी–८७ सम्पन्न

काठमाडौँ, असार २१। प्रगतिशील लेखक सङ्घ, नेपालअन्तर्गत वैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजनामा ‘विचार चौतारी–८७’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा गोपीरमण उपाध्याय द्वारा लिखित ‘भौतिकवादी उपनिषद्हरू’ कृतिमाथि गहन परिचर्चा गरिएको थियो।

कार्यक्रमका मुख्य परिचर्चाकारका रूपमा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ र आहुतिले कृतिको वैचारिक पक्षमाथि विश्लेषण प्रस्तुत गर्नुभएको थियो। लेखक गोपीरमण उपाध्याय स्वयंको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता तथा सहजीकरण वैचारिक विमर्श तथा परिसंवाद विभागका अध्यक्ष समीर सिंहले गर्नुभएको थियो।

परिचर्चाका क्रममा वक्ताहरूले गीता तथा उपनिषद्हरूलाई केवल अध्यात्मवादी दर्शनका ग्रन्थका रूपमा मात्र बुझ्नु अपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँहरूका अनुसार ती ग्रन्थहरूमा परमेश्वरवाद, नियतिवाद, परलोक र पुनर्जन्मजस्ता अध्यात्मवादी मान्यतासँगै स्वभाववाद, कालवाद र यदृच्छावादजस्ता भौतिकवादी चिन्तनका आधारहरू पनि उल्लेखनीय रूपमा उपस्थित छन्। यस दृष्टिले उपनिषद्हरूभित्र विद्यमान द्वन्द्वात्मक वैचारिक प्रवृत्तिको अध्ययन आवश्यक रहेको उहाँहरूको भनाइ थियो।

लेखक गोपीरमण उपाध्यायले आदिम साम्यवादी समाजमा अग्निको वरिपरि गरिने सामूहिक श्रम र जीवन प्रक्रियाबाट ‘वृहत् ब्रह्म’को अवधारणा विकसित भएको, तर निजी सम्पत्तिको उदयसँगै व्यक्तिवादी तथा रहस्यवादी ‘ब्रह्म’को अवधारणा स्थापित हुँदै गएको धारणा प्रस्तुत गर्नुभयो। उहाँले प्रचलित अनेक उपनिषद्हरूमध्ये मूल उपनिषद् १३ वटा मात्र रहेको तथा पछि दास प्रथा र सामन्तवादी समाजको विकाससँगै अध्यात्मवादी उपनिषद्हरू थपिएको तर्क राख्नुभयो।

कृतिमा उल्लेख गरिएका प्रश्नोपनिषद्, स्वयंवेद्य उपनिषद्, शरीरकोपनिषद् तथा वज्रसूचिकोपनिषद् जस्ता उपनिषद्हरूमा भौतिकवादी चिन्तन स्पष्ट रूपमा अभिव्यक्त भएको विषयमा कार्यक्रममा विशेष चर्चा गरिएको थियो। वक्ताहरूले प्राचीन पूर्वीय भौतिकवादी दर्शनका यस्ता स्रोतहरूको पुनर्पाठले वैज्ञानिक तथा आलोचनात्मक दर्शनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने धारणा व्यक्त गर्नुभयो।

बौद्ध रामहिटीस्थित साहित्य सदनमा असार २१ गते सम्पन्न कार्यक्रममा डा कृष्ण सुवेदी, डा शोभा ढुङ्गाना, दिवाकर शर्मा तथा डा यादेवी ढकालले पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समापनमा साहित्य सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलले समीक्षात्मक मन्तव्य व्यक्त गर्दै यस्ता वैचारिक बहसहरूले नेपाली बौद्धिक जगत्मा नयाँ विमर्शलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top