असार २१,काठमाडौँ ।
सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा साहित्यकार अच्युत चालिसेद्वारा लिखित नवीनतम् कृति ‘अम्मल’ कथासङ्ग्रहको लोकार्पण गरिएको छ ।
बौद्ध रामहिटीस्थित साहित्य सदनमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा उक्त विशेष समारोह सम्पन्न भएको हो । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति एवं रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष के.के. कर्माचार्यको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा सयौँको सङ्ख्यामा साहित्यानुरागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रमुख अतिथि कर्माचार्य, विशिष्ट अतिथि पूर्व सांसद तथा अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसे, अध्यक्ष बाजुराम पौडेल लगायत मञ्चासीन व्यक्तित्वहरूद्वारा संयुक्त रूपमा कृतिको लोकार्पण गरिएको थियो।
नेपाल ललितकला प्रतिष्ठानका पूर्व उपकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि के. के. (कान्छाकुमार) कर्माचार्यले वास्तविक अममलको तलतलको प्रत्यक्ष अनुभव गरेकाहरुलाई अम्मलको राम्रो अनुभूति हुने बताउँदै अम्मल कथासंग्रहले हराउँदै गइरहेको पठन संस्कृतिमा पुनर्जागरण ल्याउन महत्वपूर्ण भूमिका निभाउन सफलता प्राप्त गरोस् भनि शुभकामना व्यक्त गरे । उनले लेखक चालिसेलाई बधाई दिँदै सिर्जनात्मक यात्रा निरन्तर अघि बढोस् भनी कामना गरे ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचक रामप्रसाद पन्तले लोकार्पित कृति ‘अम्मल’ माथि समग्रमा प्रकाश पार्दै यसले समाजका विविध विसङ्गतिमाथि तिखो प्रहार गरेको टिप्पणी गरे । समालोचक पन्तले कृतिको गम्भीर चिरफार गर्दै ‘पढिएन वेद’ कथाको माध्यमबाट समाजको तत्कालीन चेतनाको अवस्था र ‘जितमस्यु कथा’ मार्फत ऐतिहासिक धरोहर निर्माणको प्रसङ्गलाई समेत थाहा छैन भनि पन्छिन खोज्ने गैरजिम्मेवार चरित्रमाथि व्यङ्ग्य प्रहार गरेको तथा ‘नाममा के छ र?’ भन्दै पन्छिन खोज्ने प्रवृत्तिका मानिसहरू वास्तवमा बदमास स्वभावका हुने यथार्थलाई उजागर गरेको चर्चा गरे । यसैगरी, ‘बुढो साँढे र कोरली बाच्छी’ को प्रसङ्गले देशको समकालीन राजनीतिक परिवेश, खिचातानी र विसङ्गतिलाई प्रतीकात्मक रूपमा चित्रण गरेको उल्लेख गर्दै उनले एक प्रसङ्गमा रल्लिएर हिंडेका अल्लारेकेटा हरुलाई प प्रशासनले टिकट काटेर कसरी उनीहरूलाई आफ्नै थातथलोमा फिर्ता पठायो भन्ने रोचक घटनाक्रम समेत कृतिमा समेटिएको बताए । सतही रूपमा सामान्य र हास्यवोध गराउने जस्ता लाग्ने विषयवस्तुलाई पनि अत्यन्तै गहन र दार्शनिक रूपमा प्रस्तुत गर्न सक्नुनै लेखकको मुख्य सामर्थ्य रहेको उनको ठम्याइ थियो । अन्तमा, समीक्षक पन्तले संग्रहभित्रका सिर्जनाहरूले नेपाली समाजको जीवन्त यथार्थलाई ऐना देखाएको र यसको भाषाशैली अत्यन्तै ओझिलो एवं प्रभावकारी रहेको चर्चा गरे ।
मन्तव्यका क्रममा पुस्तकका भूमिका लेखक गोविन्द घिमिरे ‘वेदमणिले’ पाको उमेरमा लेखन यात्रा सुरु गरेर पनि छोटो समयमै कविता र कथा विधामा सशक्त रुपमा कलम चलाउन सफल लेखक चालिसेको समुज्वल साहित्यिक भविष्यको कामना गरे । कार्यक्रममा बोल्दै वेदमणिले कृतिको साहित्यिक पक्ष र यसले समाजमा पुर्याउने सकारात्मक सन्देशका बारेमा प्रकाश पार्दै वर्तमानको गोकर्णेश्वर नगरपालिका भित्रको साहित्यिक गतिविधीका लागि पूर्व मेयर समेत रहेका पूर्व संघीय सांसद संतोष चालिसेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । कृतिमा समेटिएको वैदिक सनातनी परम्परा र सात दशकअघिको काठमाडौँको परिवेशबारे चर्चा गर्दै वेदमणीले तत्कालीन परिवेशका प्रसंगलाई रोचक रुपमा सुनाए ।
सोही क्रममा मन्तव्य राख्दै गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर तथा संघीय सांसद सन्तोष चालिसेले साहित्यले समाजको ऐनाको रूपमा काम गर्ने उल्लेख गर्दै ‘अम्मल’ कथासङ्ग्रहले नेपाली वाङ्मयको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले आफू स्वयं साहित्यकार नभए तापनि साहित्यानुरागी रहेको र रमेश विकलसंगको घनिष्ठ सम्बन्ध र उनकै अनवरत प्रेरणाका कारण नेपाली साहित्यको संरक्षण, संवर्द्धन र जगेर्नाका निम्ति सदैव क्रियाशील रहने विचार व्यक्त गरे ।
कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा। महेश प्रसाईंले अच्युत चालिसेसँगको आफ्नो साढे चार दशक (४५ वर्ष) पुरानो प्रगाढ मैत्रीपूर्ण सम्बन्ध र सद्भावलाई स्मरण गर्दै त्यसलाई पुनर्जीवित बनाएको विचार व्यक्त गरे । रमेश विकल तथा भैरव अर्यालजस्ता नेपाली वाङ्मयका मूर्धन्य साहित्यकारहरूको उर्वर क्रिडास्थलका रूपमा रहेको यस क्षेत्रमा साहित्यिक चेत र परिवेश निर्माण हुनु आफैँमा गौरवपूर्ण रहेको उनको भनाइ थियो। समग्रमा, यो क्षेत्र नै सरस्वतीको अनुग्रह र वरदान प्राप्त सिद्धभूमिका रूपमा जीवन्त रहेको धारणा व्यक्त गरे ।
लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै समीक्षक ठाकुर शर्मा भण्डारीले कृतिको ‘अम्मल’ शीर्षक पूर्ण रूपमा सार्थक रहेको धारणा राखे । विषयवस्तुलाई रैथाने स्वाद र मौलिक ढाँचामा प्रस्तुत गर्न सक्नु नै लेखकको मुख्य सामर्थ्य भएको उल्लेख गर्दै उनले लेखक अच्युतप्रसाद चालिसेलाई अचेल लेखनकै ‘अम्मल’ (लत) लागिसकेको रोचक टिप्पणी समेत गरे। साथै, यो कृति निबन्ध र प्रबन्धको विशिष्ट एवं भिन्न शैलीमा बुनिएको एक महत्त्वपूर्ण सिर्जना भएको मूल्याङ्कन उनले गरे।”
सोही अवसरमा शुभकामना मन्तव्यका क्रममा बहुआयामिक साहित्यकार महेन्द्र चालिसेले पुस्तक केवल कागजको पाना मात्र नभएर समाज, दर्शन, परिवेश,ज्ञान र विज्ञानको आधारशिला भएको धारणा व्यक्त गरे । जीवनलाई हेर्ने र बुझ्ने गहिरो समवेदनालाई यसअघि कवितामार्फत प्रस्तुत गरिसकेका सर्जक अच्युत चालिसे अब कथाकारका रूपमा समेत उदाएकामा उनको लेखल निरन्तरताको कामना गरे ।
युवराज मैनालीले वर्तमान पुस्ता हेर्ने कथा सुन्ने कथाको क्रममा रहेको बताए । उनले पठन संस्कृति ध्वस्त भइरहेको वर्तमान परिप्रेक्ष्यमा चालिसेलाई लेखन कर्ममा चरैवेती चरैवेती भइरहन सफलता मिलोस् भन्दै साहित्यिक साधनाको निरन्तरताका लागि कामना गर्दै कृति सफलताको सुभकामका साथै उर्जाशील जीवनको शुभकामना व्यक्त गरे ।
कृतिकार अच्युत चालिसेले आफ्नो लेखन अनुभव र कृतिका बारेमा प्रकाश पारे । उनले उपस्थित सबैप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै विद्वत् पाठकहरुको समुचित प्रतिक्रियाको अपेक्षित रहेको बताए ।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति बाजुराम पौडेलले प्रतिष्ठानको गरिमालाई हार्दिकताका साथ स्वीकार गरी यस कृतिको प्रकाशनको पूर्ण जिम्मेवारी सुम्पिएकामा लेखकप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरे । यसअघि नै ‘चित्त के ले बुझाऊँ’ कविता सङ्ग्रह प्रकाशित गरिसकेका सर्जक अच्युतप्रसाद चालिसेको साहित्यिक योगदानको चर्चा गर्दै अध्यक्ष पौडेलले उनीप्रति विशेष धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।
आलोक चालिसेद्वारा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा आमन्त्रित पाहुनाहरूलाई शाम्वकुमार चालिसेले स्वागत गरेका थिए । कार्यक्रममा साहित्य अनुरागी काशीनाथ पौडेल तथा लेखककी धर्मपत्नी विमला चालिसे सहित साहित्यकारहरु विमल अर्याल, वसन्त रिजाल,निबन्ध आचार्य एनबि जनकपुरी,माधव घिमिरे अटल,शारदा पराजुली, परशुराम पराशर ,सुकदेव उपाध्याय,ध्रुवराज थापा,एन्जेल निलु लगायत थुप्रै गण्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
Follow Us