नेपाली लोक धुन स्वरलिपि’ पुस्तक लोकार्पण

-जयराम बिडारी

काठमाडौं, २६ वैशाख २०८३
नेपाली लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलद्वारा संकलित एवं लिखित पुस्तक ‘नेपाली लोक धुन स्वरलिपि’ (Nepali Folk Songs Scores) को एक विशेष समारोहका बीच लोकार्पण गरिएको छ । काठमाडौं टेकुस्थित लक्ष्मेश्वर मन्दिर परिसरमा आयोजित उक्त समारोहमा संगीतकर्मी, लेखक तथा संस्कृतिविद्हरूको बाक्लो उपस्थितिका बीच अभ्यागत सवैले एकसाथ विमोचन गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्दै पुस्तकका लेखक एवं लोक बाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले नेपाली लोक धुनहरूलाई शास्त्रीय र प्राविधिक रूपमा लिपिबद्ध गर्ने प्रयास स्वरूप यो पुस्तक ल्याइएको बताए । उनले भने , “हाम्रा मौलिक धुनहरू हराएर जाने जोखिममा रहेकाले सो को संरक्षण गर्नुपर्ने दायित्व महसुस गरिकन स्वरलिपिको माध्यमबाट यी धुनहरूलाई विश्वव्यापी बनाउन र संरक्षण गर्नु हामी संगीतप्रेमीको दायित्व हो ।
समारोहमा स्वागत मन्तव्य राख्दै श्री रवीन्द्र तामाङले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुका साथै पुस्तकको आवश्यकता र सान्दर्भिकतामाथि प्रकाश पारेका थिए । सो समारोहमा पुस्तकको समीक्षा गर्दै संरक्षक मनोहर लामिछाने र सम्पादक राजेश खनालले यस कृतिलाई नेपाली लोक संगीतको क्षेत्रमा एक ‘ऐतिहासिक दस्तावेज’ को रूपमा दर्ज हुने टिप्पणी गरे । उनका अनुसार यो पुस्तकले भावी पुस्तालाई नेपाली लोक बाजा र धुन सिक्नका लागि व्याकरणको काम गर्नेछ ।
सोही अवसरमा जापानी नागरिक ताकाशी हासेगावा (Takashi Hasegawa) लाई विशेष प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । हासेगावाले यस पुस्तकको प्रकाशनमा महत्वपूर्ण सहयोग पुर्याएका छन् । सम्मान ग्रहण गर्दै हासेगावाले नेपाली लोक संगीतको विविधता र मौलिकताले आफूलाई सधैं मोहित पार्ने गरेको र यसको संरक्षणमा जोडिन पाउँदा खुशी लागेको बताए ।
उक्त कार्यक्रमको अर्को मुख्य आकर्षण सारङ्गी वादन रहेको थियो । कलाकार विशाल नकर्मीले सारङ्गीमार्फत विभिन्न नेपाली लोक धुनहरू प्रस्तुत गर्दा उपस्थित श्रोताहरू मन्त्रमुग्ध भएका थिए । लोक बाजा संग्रहालयद्वारा प्रकाशित यस पुस्तकले नेपाली संगीतको प्राज्ञिक अध्ययनमा ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रमको अन्त्यमा उपस्थित सबैका लागि जलपानको व्यवस्था गरिएको थियो।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top