-केदार सङ्केत
जुन २८,अल्डरसट, बेलायत
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको आफ्नो प्रतिष्ठित कार्यक्रम ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण भव्यताका साथ सम्पन्न गरेको छ। यस वर्षको शृङ्खला पूर्व गोर्खा सैनिक तथा विशिष्ट स्रष्टा डा. दूतबहादुर पुन (चिम्खोले काइँला) लाई केन्द्रमा राखेर आयोजना गरिएको थियो।
शनिबार अल्डरसटस्थित सुसीमोटो हलमा आयोजित उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष टंक वनेमको अध्यक्षता तथा वरिष्ठ गीतकार एकेन्द्र गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सिर्जना वाचन र गहिरो भावानुभूति
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका स्रष्टा चिम्खोले काइँलाले करिब एक घण्टासम्म आफ्ना विविध साहित्यिक सिर्जनाहरू प्रस्तुत गरेर उपस्थित दर्शक–श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए। उहाँले ‘बुढो लाहुरे’, ‘युकेको जिन्दगी’, ‘थाहा छैन आफैँलाई केले खाने हो’, ‘राष्ट्रियताका लागि डम्फु बजाउने नेताहरू’, ‘मान्कान्त हाम्रो घर’, ‘चाखियो’ र ‘गोर्खेले सकेकै हो’ लगायतका आठवटा कविताहरू वाचन गर्नुभएको थियो। यी कवितामार्फत युद्ध साहित्य, गोर्खा सैनिकको जीवन, आप्रवासी नेपालीको संघर्ष, राष्ट्रिय चेतना, सामाजिक विसङ्गति तथा मानवीय संवेदनालाई सशक्त ढङ्गले अभिव्यक्त गरिएको थियो।
कविताका अतिरिक्त उहाँले तीनवटा गजल, तीनवटा मुक्तक र तीनवटा हाइकु समेत वाचन गर्नुभयो। साथै, उहाँका सिर्जनामा आधारित केही गीतका म्युजिक भिडियोहरू समेत प्रदर्शन गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक र विविधतापूर्ण बनाएको थियो।
साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति
कार्यक्रममा बेलायतमा क्रियाशील विभिन्न सामाजिक, सांस्कृतिक तथा साहित्यिक सङ्घ–संस्थाका प्रतिनिधि, धर्मगुरुहरू, बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिष्ठानका पूर्वअध्यक्षहरू रक्ष राई, गणेश राई र दयाकृष्ण राई सहित कवि तथा यात्रास्पर्सकार केदार सङ्केत, पर्या-साहित्य अभियन्ता विजय हितान, कवि तथा आख्यानकार लीला सेलिङ माबो, कवि अन्जु अन्जली, मुक्तककार गोमा गुरुङ, कवि देवेन्द्र खेरेस र गजलकार मिजास तेम्बे लगायतका थुप्रै स्रष्टाहरूको सहभागिता रहेको थियो।
समाज, संघर्ष र पहिचानको दस्तावेज
पूर्व गोर्खा सैनिकसमेत रहेका चिम्खोले काइँलाका सिर्जनाहरूले सैनिक जीवनका अविस्मरणीय अनुभूति, गोर्खा सैनिकहरूले दशकौँदेखि भोग्दै आएका विभेद र असमानताका पीडा, बेलायतमा नयाँ जीवनको खोजीका संघर्ष र नेपालको समकालीन सामाजिक–राजनीतिक यथार्थप्रतिको असन्तुष्टिलाई उजागर गरेका थिए। उहाँका रचनाहरूले उपस्थित साहित्यप्रेमीहरूलाई भावुक मात्र बनाएनन्, जीवन र समाजका विविध आयामबारे गम्भीर आत्ममन्थन गर्न समेत प्रेरित गरे।
कृति प्रदर्शनी तथा बिक्री
यस विशेष अवसरमा बेलायतमा रहेका विभिन्न कवि तथा साहित्यकारहरूका कृतिहरू पनि बिक्रीका लागि राखिएका थिए। जसमा:
टंक वनेमको ‘सुदूर विस्मृतिको बिम्बहरू’
डा. सुमाया राईको ‘जिन्दगी फूल सम्झे फूलै हो’
विजय हितानको ‘मलाई आर्यघाट लगेर जलाउनु’
हाङओजा थेगीमको ‘रातसँगै पलाएको सपना’
भिम बिरहीको ‘बारूदले कोरेका अक्षरहरू’
गोमा रानाको ‘सात समुद्रपारिबाट’
केदार संकेतको ‘अन्तिम साँझ’
डा. विजयप्रसाद मिश्रको ‘हर्कवाद’ जस्ता कृतिहरू वितरण तथा बिक्री भएका थिए।
संस्थाको उद्देश्य र समीक्षा
कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य राख्दै विदेशमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको निरन्तरताका लागि प्रतिष्ठानले यस्ता कार्यक्रमहरू नियमित गर्दै आएको बताउनुभयो। कार्यक्रमको सञ्चालन अर्का उपाध्यक्ष मिजास तेम्बेले सहज र रोचक शैलीमा गर्नुभएको थियो।
समारोहको समापन गर्दै अध्यक्ष टंक वनेमले डा. दूतबहादुर पुनका रचनामाथि संक्षिप्त टिप्पणी गर्नुभयो। उहाँले डा. पुनका सिर्जनाहरूले ब्रिगेड अफ गोर्खाज भित्रको वास्तविक जीवन र सङ्घर्षलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउँदै उहाँलाई ‘पल्टन घरका आँशु कवि’ का रूपमा चित्रण गर्नुभयो। उहाँका कृतिहरू आगामी पुस्ताका लागि खाँटी दस्तावेज र ऐतिहासिक अभिलेखका रूपमा स्थापित हुने विश्वास अध्यक्ष वनेमले व्यक्त गर्नुभयो।
स्मरण रहोस्, ‘नेपाली प्रतिभा प्रतिष्ठान बेलायत’ ले सन् २००७ देखि निरन्तर रूपमा ‘अभिव्यक्ति शृङ्खला’ सञ्चालन गर्दै आएको छ, जसले प्रवासमा नेपाली स्रष्टाहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने एउटा बलियो साझा मञ्च प्रदान गर्दै आएको छ। कार्यक्रमको अन्त्यमा अनौपचारिक भेटघाट, फोटो सेसन तथा जलपानको आयोजना गरिएको थियो।
Follow Us



