त्रिपुरासुन्दरी गापा-७, सुकौरामा रोपाइँ महोत्सव सम्पन्न


-माधव घिमिरे ‘अटल’

असार १४, धादिङ

समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल (भिटोफ-नेपाल)ले रोपाइँ महोत्सव पन्ध्र असारको एक दिन अगावै आज असार १४, २०८३ तदनुसार २८ जुन २०२६ मा धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका, सुकौरा फाँटमा आयोजना गरेको छ ।
उक्त महोत्सवले स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण, प्रवर्धन र विकासमा परोक्ष रुपमा विशेष योगदान हुने अध्यक्ष हरिशरण थपलियाले बताएका छन् ।

उक्त समारोहमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष राजु उप्रेतीले नवराज गौलीले धेरै पटक कार्यक्रम गर्न घच्घच्याएको स्मरण गर्दै उनकै शब्दमा केही जनविरोधी तत्त्वहरूले बखेडा झिक्ने र भँड्याउने गरेका कारण व्यवधान भएको तितो अनुभूति साझा गरे । यस्ता कामलाई सकारात्मक ढङ्गले लिइदिन उप्रेतीले आग्रह गरे । अन्तमा कार्यक्रम सफलताको पनि उप्रेतीले कामना गरे ।

पालिका उपाध्यक्ष देवराज धरेलले कार्यक्रम आफ्नो पालिकामा आयोजना गरेकोमा हर्ष लागेको बताए । नवराज गौली लगायत अन्य साथीहरू समेत कार्यक्रम गर्न अहोरात्र खटेकाले सम्बन्धित सबैलाई धरेलले धन्यवाद ज्ञापन गरे ।
गौली होम स्टेका सञ्चालक तथा कार्यक्रम आयोजना गर्न गहन भूमिका निर्वाह गरेका नवराज गौलीले उपस्थित सबैलाई स्वागत गरेका थिए । सङ्क्षिप्तमा आफ्नो विषयवस्तु राखेका गौलीले मुख्य विषयमा ध्यान दिन सम्बन्धित सबैलाई सुझाए ।

पालिकाका कृषि प्रमुख कृष्णप्रसाद भट्टराईले धेरै टाढादेखि अनेकौँ कठिनाइ भोगेर आउने भिटोफ- नेपाल सम्बद्ध सबैलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना अभिव्यक्त गरेका थिए ।

भिटोफ- नेपालका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग सम्बन्धित रमाइलो कार्यक्रम आयोजना गरेकामा हर्ष व्यक्त गरे । पाठकले सबैजना दत्तचित्त भएर मूल अभियानमा समर्पित हुन सविनय आग्रह गरे ।
सोही पालिकाका वडा नं-७ का वडाध्यक्ष सुवास अधिकारीले गैरी चौतारा, सुकौरामा हुन गइरहेको रोपाइँ महोत्सव आयोजना गर्न पाएकामा खुसी प्रकट गरे । कार्यक्रमलाई भव्य र सभ्य बनाउन खटेर समर्पित हुने सबैलाई अधिकारीले आभार प्रकट गरे ।

भिटोफ- नेपालका अध्यक्ष हरिशरण थपलियाले ‘समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने नारा नै आफ्नो अभीष्ट भएको बताए । सबै बाजा समूह लगायत कार्यक्रम सफल पार्न उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै कसले कति कमायो भन्दा पनि कसले कति रोजगारी दियो भन्ने महत्त्वपूर्ण हुने बताए । उनले पालिकाप्रति विशेष आभार प्रकट गर्दै सङ्क्षिप्त कार्यक्रमको समापन गरे ।

कार्यक्रममा भिटोफ- नेपालका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहालल, पर्यटन महिला सञ्जालकी निवर्तमान अध्यक्ष निर्मला धमला, पूर्व अध्यक्षहरू बोधराज भण्डारी तथा शिव लामिछाने, भिटोफ- नेपालका महासचिव अजिब भट्ट, सचिव तथा कार्यक्रम संयोजक सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, सह-कोषाध्यक्ष नारायण सोडारी, टानका सदस्य अम्बिर गुरुङ, प्रा.डा.प्रेम शर्मा, टुर्गानकी वरिष्ठ उपाध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्ग लगायत तीन दर्जन बेसी आआफ्ना क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वको समुपस्थिति थियो । सो कार्यक्रमको सुसञ्चालन नेत्रावती क्याम्पसका प्रमुख बासु सेढाईले गरेका थिए ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top