०८३ बैशाख ११रकाठमाडौँ।
स्रष्टाको पहिचान सिर्जनाको सम्मान भन्ने मूल अभिव्यक्तिका साथ क्यालेन्डरमा साहित्यकारहरुको संक्षिप्त परिचय समेटिएको साहित्यिक भित्तेपात्रो २०८३ एक भव्य समारोहका वीच सार्वजनिक गरिएको छ ।
नेपाली वाङ्मय क्षेत्रमा आफुलाई उभ्याउँदै आउनुभएका लेखक तथा सर्जकहरुको परिचय समावेश गरेर प्रकाशनमा ल्याइएको शब्दसरोवर नामक साहित्यिक भित्तेपात्रो २०८३ प्रा.डा। शैलेन्दु प्रकाश नेपालको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको हो ।माइन्डप्लसद्वारा आयोजित सो कार्यक्रम कीर्तिमानी लेखक तथा क्यालेन्डर प्रकाशन समितिका स्रष्टा संयोजक अमरकीर्तिमानीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा। शैलेन्दु प्रकाश नेपालले यस्तो किसिमको कार्य सराहनीय रहेको बताउनुभएको थियो भने विशेष अतिथि महेन्द्र चालिसेले साहित्यिक प्रकाशनहरु डिजिटल सँगै भौतिक रुपमा प्रकाशन हुनुपर्नेमा जोड बताउँदै फरक तरिकाले प्रकाशनमा ल्याइएको क्यालेन्डर प्रशंसायोग्य रहेको बताउनुभएको थियो। त्यस्तै अर्का विशेष अतिथि ललिता दोषीले यस्तो किसिमको कार्य निकै उल्लेखनीय रहेको भन्दै खुशी प्रकट गर्नुभएको थियो।
लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका वक्ता माधव घिमिरे ‘अटल’ ले साहित्यिक उन्नयनका विषयमा बोल्नुभएको थियो भने सभापति अमर कीर्तिमानीले कम्तिमा पनि एउटा पुस्तक प्रकाशन गर्न सकियो भने सर्जकको व्यक्तित्वमा धेरै फरक पर्ने र कृति एउटा सम्पत्ति तथा सन्तानको रुपमा रहने बताउनुभयो।

कार्यक्रममा कवि गंगा खतिवडाले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम नवीन पल्लवले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वौद्धिक सम्पत्ति विज्ञ मधुसूदन पौड्याल, साहित्यकारहरु प्रमोद नेपाल, रश्मी रिमाल र रामेश्वर जलनले आआफ्ना रचना वाचन गर्नुभएको थियो। साथै कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मीहरू कल्पना मरासिनी, सानुराजा अञ्जान, शशिश्री आचार्य, उर्मिला ढुंगाना, रुबी सत्याल, जयराम बिडारी, दीपक भेटुवाल दिपसागर लगायतका स्रष्टाहरुको उपस्थिति रहेको थियो ।
माइन्ड प्लस प्रा।लि। को आयोजनामा भएको सो कार्यक्रमको सिर्जनात्मक सहकार्य लोमश वाङ्मय प्रतिष्ठान, सूचक प्रकाशन र बालसस्कार डटकमले गरेको थियो। ‘क्यालेन्डरमा साहित्यकार’ राष्ट्रियस्तरको अभियानका लागि आह्वान गरिएकोमा सर्वाधिक काठमाडौँका साहित्यकारहरु समेटिएका छन् भने दोस्रोमा रोल्पाका साहित्यकारहरु समेटिएका छन्।

रोल्पाका दसजना स्रष्टाहरू क्यालेन्डरमा समेटिएका छन्। सार्वजनिक गरिएको उक्त क्यालेन्डरमा मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म र बीस वर्ष उमेरकादेखि ८२ वर्ष उमेरसम्मका स्रष्टाहरुको तस्विर सहितको छोटो विवरण उल्लेख छ। क्यालेण्डरमा देशभरका १२३ जना साहित्यकारहरु समेटिएका छन्। क्यालेन्डरमा बीस वर्ष उमेरका तीनजना छन् भने प्रायः युवा साहित्यकारहरु समेटिएको यस क्यालेन्डर एक विशेष क्यालेण्डरको रुपमा रहेको र सङ्ग्रयोग्य रहेको पनि बताइएको छ। यसपालीको क्यालेन्डरमा नसमेटिएकाहरुलाई क्रमशः आगामी वर्षदेखि समेटिने भएको छ। क्यालेन्डरमा वर्णानुक्रम अनुसार स्रष्टाहरुको विवरण रहेकोले विवादरहित बनेको यस कार्यलाई ऐतिहासिक मानिएको छ। ओझेलमा परेका कतिपय स्रष्टाहरु यसमा समेटिएका छन्। नौलो किसिम र नवीन सोचबाट क्यालेन्डर प्रकाशन कार्यले उल्लेखनीय सफलता हासिल गरेको जनाइएको छ।

Follow Us
0Shares