क्यान्सरको पीडा,नागरिकको चित्कार र राज्यको अन्धोपन

-जयराम बिडारी 

साँझको अँध्यारोले काभ्रेको दोलालघाटलाई ढाक्दै ल्याउँदा उर्लिएको सुनकोशीको धमिलो तर चिसो बहावले सधैँझैँ आफ्नै गति समातिरहेको थियो । तर, त्यो साँझ नदीको सुसाइमा एउटा भिन्नै कारुणिक चीत्कार मिसिएको थियो । एउटा यस्तो चीत्कार, जुन कुनै शब्दमा व्यक्त हुन सक्दैन । मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र बोनम्यारो क्यान्सरको असह्य पीडासँग लडिरहेकी उनकी ६७ वर्षीया सहधर्मिणी तिलकुमारी पराजुलीका लागि त्यो कुनै रहरको यात्रा थिएन । त्यो त जीवनका सम्झौताहरू सकिएपछिको एउटा बाध्यतात्मक र अन्तिम कदम पो थियो कि ? 

पछिल्ला दुई वर्षदेखि केदारनाथको जीवन आफ्नै दिनचर्यामा सीमित थिएन । उनी दिनहुँजस्तो आफ्नी बिरामी श्रीमतीलाई बोक्थे, उठाउँथे, थाम्थे र अस्पतालका चिसा छिंडीहरुसम्म पुर्‍याउँथे । गाउँलेले सधैँ देख्ने एउटै दृश्य थियो, बुढ्यौलीले गलेका काँधहरूमा जीवनसङ्गिनीको पीडा बोकेर हिँडिरहेका एक प्रेमी पति। तर, समाजले बाहिरबाट देखेको त्यो समर्पणभित्र कति धेरै थकाइ, आर्थिक अभाव र निराशाको विशाल पहाड लुकेको थियो भन्ने कुरा कसैले मापन गर्न सकेन । बुधबार साँझ धुलिखेल अस्पताल लैजाने बहानामा श्रीमतीलाई पिठ्युँमा बोकेर घरबाट निस्किएका केदारनाथले जब दोलालघाटतर्फको बाटो रोजे, त्यो केवल एउटा यात्राको अन्त्य मात्र थिएन, त्यो त यो निष्ठुरी व्यवस्था र समाजप्रति पारिएको एउटा गम्भीर र अनुत्तरित प्रश्न थियो । 

२. चेतनाहीन सत्ता र संवेदनहीन अर्थशास्त्र

यस्ता मर्मस्पर्शी र हृदयविदारक दृश्यहरूमा हाम्रा सरकार सञ्चालकहरूको दृष्टि नपरेको हो वा तिनको विवेकमा नै कुदृष्टि परेको हो? यो प्रश्न आज प्रत्येक नागरिकको मनमा आगोझैँ सुलगिरहेको छ। “एक लाखको बीमा गर्न एकै लाख प्रिमियम तिर्नुपर्छ” जस्ता गैरजिम्मेवार, उदेकलाग्दा र नागरिकको घाउमा नुन-चूक छर्कने अभिव्यक्ति दिने हाम्रा विद्वान् अर्थमन्त्री र नीति-निर्माताहरूको चेतनाले यतिबेला कसरी काम गरिरहेको होला?

राज्यको काम नागरिकलाई विपत्तिको बेला अभिभावकत्व दिनु हो। जब एउटा नागरिक जटिल रोगको शिकार हुन्छ, तब राज्यको स्वास्थ्य प्रणाली उसको ढाल बन्नुपर्ने हो । तर, नेपालमा बिरामी हुनु भनेको परिवार नै सडकमा आउनु वा घिस्रिएर मर्नु सरह भएको छ। स्वास्थ्य बीमाका गफ छाट्ने तर व्यवहारमा नागरिकले औषधिको सामान्य चक्कीसम्म नपाउने व्यवस्थाले गर्दा आज हजारौँ केदारनाथहरू आफ्ना प्रियजनको आँसु पुछ्दापुछ्दै आफैँ सकिन बाध्य छन् । अर्थतन्त्रका शुष्क तथ्याङ्क र जीडीपीका अङ्कगणितमा रमाउने शासकहरूलाई के थाहा ? काभ्रेको एउटा कुनामा बोनम्यारो क्यान्सरसँग लड्दै गरेकी तिलकुमारीको एकै सासमा कति धेरै पीडा र आर्थिक भार लुकेको थियो ! 

३. केवल खबर होइन, चीत्कारपूर्ण प्रेमको गाथा

रेडियो, टिभी र समाचारका पानाहरूका लागि यो केवल एउटा आत्महत्या वा दुर्घटनाको शुष्क खबर मात्र हुन सक्छ । सम्पादकहरूका लागि यो एउटा हेडलाइन हुन सक्छ । तर, यसको गहिराइमा पुगेर हेर्ने हो भने यो त क्यान्सरको असह्य शारीरिक पीडा, समाजको पिल्स्याउँदो बाध्यता र जीवनको अन्तिम मोडमा उभिएका एक वृद्ध दम्पतीको चीत्कारपूर्ण प्रेमको कारुणिक गाथा हो । 

केदारनाथले आफ्नी श्रीमतीलाई एक्लै छाडेनन् । श्रीमतीलाई अस्पताल पुर्याउँदा पुर्याउँदै आफैं पनि प्रोस्टेट पिडित भइसकेको थाहा पाएका उनले निराशाका गीत गाउन थालिसकेका थिए । त्यसैको परिणाम,आर्थिक अवस्थाको मूल्यांकन,ढल्कँदो उमेर र जीवनसंगिनीको असैह्य पीडाले  आहत भएको मनले बिरामी श्रीमतीको स्याहारबाट पन्छिने सजिलो बाटो रोजेका हुन सक्छन् । उनले त जीवनको अन्तिम पलसम्म पनि श्रीमतीको साथ छाडेनन् । चाहे त्यो गाडी घोडा एम्बुलेन्स होस् वा आफ्नै पिठ्युँमा बोकेर अस्पताल लैजाने क्रममा नै किन हेस् या सुनकोशीको गर्तमा सँगै बिलाउने निर्णयमा नै किन नहोस् । यो प्रेमको त्यो रूप हो, जसलाई हाम्रो आधुनिक समाजले बुझ्न सक्दैन । तर, यो प्रेममा जति न्यानोपन छ, त्योभन्दा बढी राज्यको संवेदनहीनताप्रतिको विद्रोह र वितृष्णा हुनु पर्छ सायद । एउटा वृद्ध लोग्नेले आफ्नी जीवनसङ्गिनीलाई क्यान्सरको पीडाबाट मुक्त गराउन र आफू पनि त्यो निरन्तरको यातनाबाट उम्किन नदीको चिसो पानी रोज्नुपर्ने स्थिति आउनु यो देशका लागि ठूलो राष्ट्रिय लज्जाको विषय हो । 

४. सामाजिक विघटन र ‘ट्रक साहित्य’को तीतो सत्य

प्रसङ्गवश, एउटा दृष्टान्त सम्झना आउँछ। हाम्रा सडकहरूमा हुर्किएको ट्रक साहित्यमा प्रायः एउटा वाक्य लेखिएको देखिन्थ्यो—‘दुनियाँका छोरी पोइल जान्छन्, ड्राइभरलाई दोष!’

ठीक त्यसैगरी, आज हाम्रा घरभित्रका ५ जना सदस्यहरू आपसमा मिल्न सकिरहेका छैनन् । पारिवारिक आत्मीयता, सहकार्य र बुढाबुढीप्रतिको दायित्व एकादेशको कथा बन्दै गएको छ । परिवारहरू टुक्रिएर ‘एकल परिवार’को अवधारणा चरम रूपमा मौलाउँदै छ । युवा पुस्ता रोजगारी र व्यक्तिगत सपनाको पछि दौडिँदा घरका वृद्धवृद्धाहरू एक्लोपन र रोगको दोहोरो मारमा पिल्सिन बाध्य छन् । 

करिब तीन करोड जनसङ्ख्या भएको देशमा कसले, कतिबेला र कसरी आत्महत्याको बाटो रोज्छ भनेर सरकारले घर-घरमा सुरक्षाकर्मी खटाएर पूर्वअनुमान लगाउन सम्भव नहोला, त्यो तर्क आफ्नो ठाउँमा सही हुन सक्छ । सरकारले पक्कै पनि प्रत्येक नागरिकको पछि लागेर उसलाई रोक्न सक्दैन । तर, प्रश्न यो होइन कि सरकारले घटना रोक्न पुलिस पठायो कि पठाएन? प्रश्न यो हो कि सरकारले नागरिकलाई जिउने आशा र आधार दियो कि दिएन ? 

५. अन्यायपूर्ण करको बोझ

वास्तविक सामाजिक मनोविज्ञानको गहिराइमा पुगेर हेर्ने हो भने तितो यथार्थ अर्कै देखिन्छ । एउटा प्रचलित भनाइ छ—”राँगा, भैँसी, भेडा र बाख्राको कारुणिक रुवाइले बगरेको निष्ठुरी मन कहिल्यै पग्लिँदैन।”

आजको वर्तमान सरकार र यसका सञ्चालकहरू ठीक त्यही बगरेजस्तै बनेका छन् । नागरिकहरू रोग, भोक, शोक,गरिबी र मानसिक तनावले दिनदिनै रोइरहेका छन्, छटपटाइरहेका छन् । तर, सरकारको ध्यान भने केवल कसरी नयाँ करका दरहरू लाद्ने, कसरी नागरिकको ढाड भाँचिने गरी राजस्व उठाउने र कसरी सत्ताको कुर्सीमा टिकिरहने भन्ने ध्याउन्नमा मात्र सीमित छ । 

नागरिकले तिरेको करबाट महँगा गाडी चढ्ने, विदेशमा उपचार गराउन जाने र ऐश-आरामको जीवन बिताउने हिजोका शासकहरूलाई होस्  वा वर्तमानका नेतृत्वकर्ता लाई नै किन नहोस् यीनलाई सामान्य जनताको सास्तीको कुनै प्रवाह छैन । उपचार नपाएर, औषधि किन्न नसकेर र करको भारले पिल्सिएर नागरिकहरू दिनदिनै यसैगरी मर्न बाध्य भइरहेछन् । काभ्रेका केदारनाथ र तिलकुमारीको यो कदम कुनै भुल वा आवेग मात्र थिएन, यो त राज्यले सिर्जना गरिदिएको त्यो दलदलको परिणाम थियो, जहाँबाट निस्कने कुनै अर्को बाटो उनीहरूले देखेनन् । सरकारले कम्तीमा पनि जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य सेवा ,बालबालिकालाई शिक्षा र युवालाई रेजगार दिन सक्यो भने यस्ता घटना न्यूनिकरण हुनेछन् ।

६. प्रश्नको घेरामा राज्यको औचित्य

यदि राज्यले आफ्ना वृद्ध, अशक्त र कडा रोगबाट पीडित नागरिकलाई न्यूनतम उपचार र संरक्षण पनि दिन सक्दैन भने त्यस्तो राज्यको औचित्य के , के राज्य केवल कर असुल्ने अड्डा मात्र हो र ? अथवा सरकार भनेको केवल चुनाव जित्ने र मन्त्री बाँड्ने संयन्त्र मात्र हो र ? 

केदारनाथले आफ्नी श्रीमतीलाई पिठ्युँमा बोकेर दोलालघाटसम्म पुर्‍याउँदै गर्दा बाटोमा भेटिएका प्रत्येक गाउँले र चालकले उनीहरूको पीडा महसुस गरेका थिए सायद । तर, सिंहदरबारका चिसानिष्ठुरी कोठाहरूमा बसेर बजेट र नीतिको खेल खेल्नेहरूले यो चीत्कार कहिल्यै सुन्ने छैनन् । उनीहरूका लागि सुनकोशीमा बेपत्ता भएका दुई वृद्धवृद्धा केवल एउटा ‘सङ्ख्या’ वा ‘प्रहरी रिपोर्ट’ मात्र हुन् । 

७. निष्कर्ष: सोचमग्न बनाउने दृश्य र भावुक आह्वान

सुनकोशीको किनारमा भेटिएका ती चप्पल र दोलालघाटमा छाडिएका ती अन्तिम पाइलाहरूले आज सम्पूर्ण समाज र राज्य व्यवस्थालाई नै सोचमग्न बनाइदिएका छन् । यो घटनाले हामीलाई आफ्नै सामाजिक संरचना र राज्यको संवेदनहीनतामाथि गम्भीर भई पुनर्विचार गर्न बाध्य पारेको छ । क्यान्सर जस्तो घातक (असाध्य) रोगसँग लड्दै गर्दा हार खाएको एउटा परिवार, बिरामी श्रीमतीको स्याहार गर्दागर्दै थाकेको एउटा वृद्ध पति, र उनीहरूलाई मर्न बाध्य पार्ने यो निष्ठुरी सामाजिक तथा राजनीतिक व्यवस्था यी सबैको योगफल हो दोलालघाटको यो त्रासदी । 

यदि अझै पनि सरकार सञ्चालकहरूको आँखा खुल्दैन, यदि अझै पनि उनीहरूको विवेकमा परेको कुदृष्टि हट्दैन र नागरिकलाई स्वास्थ्य तथा सामाजिक सुरक्षाको प्रत्याभूति गराइँदैन भने, सुनकोशी र त्रिशूलीका किनारहरूमा यस्ता कारुणिक गाथाहरू दोहोरिरहनेछन् । केदारनाथ र तिलकुमारीको यो कारुणिक ओझेलले राज्यको अन्धोपनलाई सधैँभरि गिज्याइरहनेछ । अब त चेत खुलोस्, अब त यो निष्ठुरी बगरे मन अलिकति पग्लियोस् ! 

Follow Us
4Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top