विपद्को चपेटामा पत्रकार एवं सामाजिक अभियन्ता राजन थापा

काठमाडौँ, साउन २१ गते।

समाजका पीडित, असहाय र विपन्न वर्गको पक्षमा निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता तथा पत्रकार राजन थापा आफैं प्राकृतिक विपत्तिको चपेटामा परेका छन्। जीवनभर अरूको दुःखमा सारथि बनेका थापा आफ्नै घर पहिरोको उच्च जोखिममा परेपछि परिवारसहित त्रासपूर्ण अवस्थामा बस्न बाध्य भएका हुन्।

तारकेश्वर नगरपालिका–१, साँगलास्थित उनको साढे दुईतले पक्की घरको पर्खाल लगातारको अविरल वर्षाका कारण भत्किएपछि घर पहिरोको उच्च जोखिममा परेको थियो। जोखिम तीव्र रूपमा बढेपछि घरभित्र बस्नसमेत असुरक्षित बनेको थियो।

घटनाबारे जानकारी पाउनासाथ तारकेश्वर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा नं. १ का कार्यवाहक वडा अध्यक्ष, नगर प्रहरी तथा प्राविधिक टोली तत्काल घटनास्थल पुगेका थिए। टोलीले स्थलगत निरीक्षण र जोखिम मूल्याङ्कन गरी तत्काल सुरक्षाका कदम चालेको थियो। स्थानीय सरकार र सुरक्षाकर्मीको समयमै भएको यो पहलले सम्भावित ठूलो मानवीय क्षति टरेको स्थानीय बताउँछन्।

नयाँ जीवन पाएको महसुस गर्दै भावुक बनेका थापाले उद्धारमा खटिने सबैप्रति आभार व्यक्त गरे।

“यदि नगर प्रमुख, उपप्रमुख, कार्यवाहक वडा अध्यक्ष, नगर प्रहरी र प्राविधिक टोली समयमै नआइपुगेको भए आज म र मेरो परिवार माटोमुनि पुरिन सक्थ्यौँ। उहाँहरूको त्वरित सहयोगले नै हामीले नयाँ जीवन पायौँ,” थापाले भने।

विपद्को घडीमा टेलिफोन, सामाजिक सञ्जाल तथा प्रत्यक्ष रूपमा भेटेरै हौसला दिने र सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता प्रकट गरे।

थापाले थपे, “मैले जीवनमा कमाएको सबैभन्दा ठूलो सम्पत्ति धन होइन, यही समाज र यहाँका मानिसहरू हुन्। संकटको समयमा साथ, हौसला र प्रार्थना गर्ने सबैप्रति हृदयदेखि नै आभारी छु।“

वर्षौंदेखि सामाजिक सेवामा सक्रिय थापा विपद् व्यवस्थापन, राहत वितरण, स्वास्थ्य शिविर तथा पत्रकारिताका माध्यमबाट जनसरोकारका मुद्दा उठाउँदै आएका छन्। अरूका समस्यामा सधैँ अगाडि सर्ने व्यक्ति आफैं संकटमा पर्दा स्थानीय सरकार, सुरक्षाकर्मी र समुदायले देखाएको ऐक्यबद्धताले मानवीय संवेदनशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीको भनाइ छ।

हाल घर वरपरको पहिरो नियन्त्रण, पर्खाल संरक्षण तथा दीर्घकालीन सुरक्षाका लागि थप प्राविधिक अध्ययन भइरहेको जनाइएको छ। स्थानीयवासीले सम्भावित जोखिम न्यूनीकरणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

Follow Us
3Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top