चर्चित साहित्यकार तथा प्रभावशाली लेखक अमर अधिकारी‘कीर्तिमानी’ को घर धरापमा परेको छ। रोल्पाको खुंग्रीस्थित पुर्ख्यौली घरको आँगन मोटर बाटोले पूरै काटेको छ भने पेटीको एक छेउँमा नाम निसान देखिदैन। मालबाहक लगायत ठूला गाडीहरु सडकमा गुड्दा घर नै थर्किने र राति सुतिरहेको अवस्थामा मान्छेहरुको निद्रा खलबलिने गरेको छ। ध्वनिप्रदूषण र वायुप्रदूषणका कारण सो घरमा खान, बस्न र सुत्न नहुने भएको अवस्था देखिन्छ। कोठाभित्रका भित्ताहरुमा धुलैधुलो देखिने र भित्ताको किलामा झुण्ड्याइएका लुगाहरु टकटक्याउँदा धुलो मडारिन्छ। घरको अगाडी रहेको पेट्रोल पम्पमा रातिराति पनि तेल भर्न आउने गाडीहरुका चालकले हर्न बजाउनाले गर्नाले पनि निद्रा टुट्ने गरेको स्रष्टा अमर बताउछन्। उच्चशिक्षा अध्ययन र सरकारी जागिरको सिलसिलामा ४३ वर्षअघिदेखि काठमाडौँमा रहेका उनी कतै निस्किदा प्रदूषणबाट बच्न तेत्तीस वर्षअघिदेखि निरन्तर रुपमा मास्कको प्रयोग गर्दैआएका उनी बेलाबखत जन्मथलो गएपछि सो घरमा बस्न, खान र सुत्न निकै सकस मान्ने गरेका छन्।
खुंग्री गाउँको मात्र नभएर ज्योतिषी र पण्डितले जिल्लामै प्रसिद्ध उनका पिताजी स्व. तेज प्रसाद अधिकारीले २०३० सालमा ३० हजारको लागतमा भुइँतलाको रुपमा सो घर बनाइएको थियो। केही वर्षसम्म भुइँतलामै सीमित रहेको सो घर केही वर्षपछि माथिल्ला तुई तला थपिएको रहेछ। झट्ट हेर्दा भक्तपुरको पचपन्नझ्याले दरबारको झल्को दिने सो घर परम्परागत घरहरुमध्ये गाउँघरमा सबैभन्दा ठूलो देखिन्छ। २०५८ सालमा सुलिचौर बजारमा रहेको अमरका दाजु गोविन्दको भत्काइएको पुरानो घरको स्लेट ढुंगा अठार हजारमा ल्याएर अमरको सो घर छाइएको थियो। २०२४ सालमा बनेको घर हुँदाहुँदै अमरका पिताजीले नयाँ घर बनाउनुको उद्देश्य व्यापार व्यवसायका लागि थियो,तर सो घरमा २०३७ देखि २०४२ सालसम्म अमरको भाउजुको कमला होजियारी चल्यो। केही समय घडी पसल र केही समय चिया खाजा पसल चलेको सो घरमा किराना पसल पनि सीमित अवधि चलेको थियो।
पहिले सो घर अगाडिको बाटो साँघुरो वा गोरेटो थियो,पछि मोटरबाटो बनेपछि घर बाटोसँग टाँसिन पुगेको रहेछ। पहिलेपहिले सो घरमा अञ्चलाधीश, सिडियो,विदेशी नागरिकहरु पनि बास बस्दथे। साथै नून-तेल लगायत अन्य उपभोग्य वस्तु खरिद गर्न दाङको सीमावर्ति बजार कोइलाबासमा जानेआउने बटुवाहरु पनि सो घरमा बास बस्दथे। रोल्पामा आ.वा. सेटको पहिलो परीक्षण पनि सोही घरमा भएको कुरा अमर बताउँछन्। यसरी सो घरले धेरै इतिहासहरु रचेको देखिन्छ। जुन उद्देश्यले घर निर्माण भएको थियो सो मुताविक घरको उपयोग हुन पाएन। घरमा उत्कृष्ट काठहरु प्रयोग गरिएको छ भने कोठाहरु फराकिला छन्।
मातापिताका चौध सन्तानमध्ये द्वीतिय पुत्र अमर २०४० सालमा काठमाडौँ प्रवेश गरेर उच्चशिक्षा र जागिर सँगसँगै गरेका थिए। २०४० देखि २०५६ सम्म संस्थान सेवा र २०५६ देखि २०७९ सम्म निजामती सेवा गरेर जम्मा ३९ वर्ष सरकारी सेवा गरेका उनी २०७९ असार २३ देखि अनिवार्य अवकास पाएपछि साहित्य-लेखन क्षेत्रमा सक्रियता बढाए। २०८० मा उनको मुल रचनाको आफ्नै गाउँठाउँ र सेरोफेरो समेटिएको एउटा गीत रेकर्डिङ भएर बजारमा आयो। त्यसपछि सोही सालमै आत्मकथा ‘ओगिल्जा’ प्रकाशन भयो भने लगत्तै ‘रापतीका अलग शब्दहरु’ (भाषिका) प्रकाशन भयो। २०८१ मा उनकै जीवनी पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पूर्व क्याम्पस प्रमुख डा. घनश्याम पुडासैनीले लेख्नुभयो। अमरको पहिलो कृतिको रुपमा बालकवितासङ्ग्रह ‘इन्देणी’ २०६१ सालमा प्रकाशन भएको हो। राष्ट्रियस्तरका मिडियाहरुले अमरका लेख-रचनाहरुलाई प्राथमिकताका साथ प्रकाशन गर्नथाले। त्रिचालिस वर्ष काठमाडौँमा त्यसमा पनि बाह्र वर्ष सिंहदरबारमा बिताएका अमरलाई मुलुकको अवस्था झनपछि झन बिग्रनुका कारणहरु थाहा छ। उनले ती कुराहरु आफ्ना लेखहरुमा छुटाउँदैनन्। उनका केही लेखहरुका कारण राष्ट्रियस्तरमा सुधारका कामहरु पनि भएका छन्।
२०५३ सालमा गोरखापत्रका उनको कथा ‘भाग्य र कर्म’प्रकाशन भएपछि उनीको साहित्य यात्रा शुरु भएको थियो भने २०६२ मा सगरमाथा दैनिकमा प्रकाशित उनको लेख पहिलो लेख बन्यो। २०८० देखि संघीय राजधानी काठमाडौँका मात्रा नभएर देशका विभिन्न सञ्चार माध्यम तथा साहित्यिक संघ-संस्थाहरुले पछ्याइरहेको देखिन्छ। काठमाडौँ बाहिरका मिडियाहरु साहित्यिक पत्रपत्रिकाहरुले समेत अमरसँग लेख-रचनाहरु माग्दैआएका छन् र प्रकाशन पनि हुँदैआएका छन्। एक सञ्चार माध्यममा प्रकाशित उनको ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शिर्षकको लेख सुदूरपूर्व इलामदेखि सुदूरपश्चिम डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले साभार प्रकाशन गरे। सो लेख लोकप्रिय बनेपछि उनले ‘बालसंस्कार डटकम’ को सम्पादकको जिम्मेवारी बहन गरेका छन्। उनका लेख-रचनाहरुमा प्रकृतिप्रेम र देशभक्ति ज्यादा देखिन्छ। केही सञ्चार माध्यमहरुले लेख वापत पारिश्रमिक दिने गर्दा उनको दैनिकीमा केही सहज भएको महसुस गर्छन्। नेपालमा सबैभन्दा कम पेनसन बुझ्ने पूर्व अधिकृत उनी नै हुन्। नियुक्ति लिदाका बखत पैँतिस वर्ष उमेर व्यतित भैसकेका कारण सेवा अवधि कम भएपछि यस्तो हुन गएको रहेछ।
अमर गीतकारको रुपमा पनि चिनिन्छन्, उनको रचनाको दोस्रो गीतको रुपमा सन्देशमूलक यातायात गीत ‘बसमा सरर’ केही महिनाअघि बजारमा आइसकेको छ भने बालगीत ‘म स्कुल आइनँ’ पनि बजारमा आइसकेको छ। साथै उनको शब्दमै ज्येष्ठ नागरिक गीत ‘ओइलिएको फूल’ र ‘स्वर्गद्वारी भजन’ रेकर्डिङको क्रममा रहेको छ।
चिन्ताको विषय यो छ कि सिंहदरबारको ध्यानाकर्षण हुनेगरी कलम चलाउने लेखककै घरको भविष्य अस्तित्वहीन हुने सम्भावना छ। बाटो बिस्तारका लागि दशकअघि नै उनको घरको दशमिटरमाथि रेखांकन भैसकेको छ। सो घरका अतिरिक्त उक्त बाटोको छेउछाउका रहेका अधिकांश घरहरु केही वर्षमा भत्काइने जानकारीमा आएको छ। नैतिकतालाई अंगिकार गर्ने अमरमा जागिरे जीवनमा धेरै हण्डरहरु खाएको र भ्रष्टाचार विरोधी सोच रहेका कारण जागिरबाट उनले नाजायज रुपले धन आर्जन गरेनन्। भत्किनेवाला सो घर अन्यत्र सार्न आर्थिक अभावका कारण उनी चिन्तामा छन्। २०३० सालमा सुरु गरिएको भए तापनि घरको बार्दली निर्माण हुन पाएको छैन, केही काम हुन बाँकी नै देखिएको छ। घरले पूर्णता नपाउँदै भत्काइने अवस्थामा पुगेको देख्दा एउटा इतिहास मेटिने अवस्थाले जो कोही पनि भावुक बन्नसक्छ।
अंशबण्डापछि अमरका पिताजीले २०२४ सालमा निर्माण गरिसक्नुभएको पहिलो घरको एउटा कोठामा औलो उन्मुलन कार्यालय बसेको थियो भने पछि औलो उन्मुलन कार्यालय त्यहाँबाट उठेपछि त्यसै कोठामा पसल चलेको रहेछ। चौध सन्तानको जन्म दिनुभएको अमरकी मातालाई घर व्यवहारमा अति नै व्यस्त रहनुपरेका कारण माइत जान नपाएको अठार वर्षभएको रहेछ र आँटेर एकपटक माइत जानुभएछ तत्कालीन प्यूठान र हालको रोल्पामा पर्ने सिर्प गाउँमा। सानै उमेरको भए पनि साथमा अमर पनि आमाको साथमा गएछन् मामाघरमा। एकदिन बिहान मामाघरमा ‘यो नानीको सिरैमा इन्द्रकमल फूल फुल्यो मगमग चल्यो बासना’ गीत बजेपछि त्यतिबेलाका बालक अमरले सो गीत मन पराएछन्। पछि दुई तीनपटक सुनेपछि उनलाई सो गीत कण्ठस्थ भएछ। अमरले आफ्नो जीवनमा भोगेका विविध कठिनाइहरु तथा गरेका संघर्षका कहानीहरु सेतोपाटीले शृंखलावद्ध रुपमा प्रकाशन गर्दैआएको छ। केही कुराहरु उनको पुस्तक ‘ओगिल्जा’ मा समावेश छन्।
Follow Us



