सरदार यदुनाथ नेपाली कूटनीतिका किसिन्जर

डिल्लीराम मिश्र ‘कलमजीवी’

प्रसङ्ग २३ औं यदुनाथ स्मृति दिवस

विशेषतः २००७ सालको जनक्रान्तिद्वारा देशमा विकसित भएको राजनीतिक परिवर्तनपश्चात् नेपाललाई बाहिरी संसारसँग परिचित गराएर एउटा स्वाधीन राष्ट्रको रुपमा स्थापित गराउन जेजति कूटनीतिक पहल र प्रयासहरु भए त्यसमा विश्व कूटनीतिज्ञ सरदार यदुनाथ खनालको संस्थागत योगदान रहेको छ । अङ्ग्रेजी भाषामा नेपालसम्बन्धी पुस्तक लेख्ने थोरै नेपाली विद्वानहरुको कोटिमा यदुनाथ अग्रपङ्त्तिमा पर्छन । उनका अङ्ग्रजीमा अन्तर्राष्ट्रिय परराष्टमामिलासम्बन्धमा लेखिएका आधादर्जन भन्दा बढी कृतिहरुले विदेशनीतिका बारेमा सफल कूटनीतिक व्याख्या विवेचना गरेका छन् । उनका अङ्ग्रेजीमा लेखिएका जति पनि आलेखहरु छन्, ती सबै नेपालको कूटनीतिक मामिलासम्बन्धी ऐतिहासिक दस्तावेज हुन् । यस अर्थमा यदुनाथलाई नेपालका हेनरी किसिन्जर भनिएको हो । विश्व–कूटनीतिज्ञ हेनरी किसिन्जरको कूटनीतिक क्षेत्रमा जुनस्तरको क्षमता, घनत्व र कलाकौशल छ त्यही स्थानमा यदुनाथको भूमिका छ । एउटा सफल र क्षमतावान कूटनीतिज्ञले विगतको अनुभवबाट ज्ञानलिदै वर्तमान र भविश्यको सुन्दर तस्वीर कोर्ने क्षमता राख्न सक्नुपर्दछ । संयुक्तराज्य अमेरिकाका कूटनीतिज्ञ हेनरी अल्फ्रेड किसिन्जरले दशकौसम्म अमेरिकी कूटनीतिको मियो सम्हाले जस्तै कूटनीतिज्ञ यदुनाथ खनालले पनि नेपालमा त्यही प्रसिद्धि प्राप्त गरे, जहाँ हेनरी आलोचना र प्रसिद्धिको श्रृङ्खलामा कालजयी रहिरहे नेपालमा यदुनाथ जस्तै जोसँग प्रचुर विवेक, ज्ञान र तर्कशक्ति छ । हेनरी किसिन्जर अमेरिकाका अत्यन्त सफल विदेशमन्त्री हुन ।

नेपालको अन्तर्राष्ट्रियनीति असङ्लग्नता हुनुपर्छ भन्ने सन्देशका साथ श्री ५ हरुलाई सुझाव दिंदै मानक निर्माण गर्ने पहिलो कूटनीतिज्ञ पनि यदुनाथ नै हुन । उनी श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रका अत्यन्त प्रिय पात्र हुन । सिङ्गो असङ्लग्न आन्दोलनको आरम्भविन्दु सन् १९५५ मा इन्डोनेसियाको वाड्डुङ्ग सम्मेलनका सदस्यसचिव रहेका कूटनीतिज्ञ यदुनाथले नेपालको परराष्ट्रनीतिको बारेमा व्याख्या गर्दा दिग्गज पाश्चात्य विद्वानहरुको विचारसँग तर्कपूर्ण र क्षमतापूर्ण ढङ्गले असहमति समेत व्यक्त गरेको तथ्य डा जयराज आचार्यले उल्लेख गरेका छन् । कठोरता सृष्टिको नियमको प्रतिकुल र नम्रता नियमको अनुकुलताले समेत यदुनाथको कूटनीतिमा महत्व पाएको छ । संसारका मानव जातिमा कठोर हृदय भएका मानिसहरु भन्दा नरम स्वभावका मानिसहरु बढी लोकप्रिय एवम् सहनशील सुशील भएको पाइन्छ भन्ने उनको प्राज्ञिक निश्कर्ष छ । त्यसैले यदुनाथको कूटनीतिक क्षमताशैली र देशप्रेम अनुकरणीय रहेको छ ।

देशको परराष्ट्रसचिव रहेकै अवस्थामा संवत २०२७ सालमा संयुक्तराज्य अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयको अन्तर्राष्ट्रियमामिला अध्ययन केन्द्रमा छात्रवृत्ति प्राप्त गरेर एक वर्ष कूटनीति अध्ययनको लागि उनको प्रवेश भएको थियो । एकवर्षसम्म त्यहाँ वसेर अध्ययन गर्दा यदुनाथले गहन र प्रचुर अध्ययनका साथ धेरै शोधपत्रहरु लेखेका छन् । हार्वर्ड विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गर्ने यदुनाथ पहिलो नेपाली कूटनीतिज्ञ हुन् । यस विश्वविद्यालयको स्थापना प्रोफेसर हेनरी किसिन्जरले सन् १९५९ मा गरेका थिए । संसारमै यस विश्वविद्यालयको इज्जत र प्रतिष्ठा ज्यादै माथिल्लो स्तरको मानिन्छ । यस विश्वविद्यालयमा अध्ययन गर्न जाने दोस्रो नेपाली कुमार खड्गविक्रम शाह हुन । उनी सन् १९७८ को लागि त्यहाँ गएका थिए भने तेस्रो व्यक्ति यदुनाथ गएको २५ वर्षपछि सन् १९९५ मा डा. जयराज आचार्य पुगेका थिए । डा. जयराज त्यहाँ पुग्दा एउटा रोचक प्रसङ्ग के छ भने विश्वविद्यालयबाट रिटायर भइसकेका एकजना ८० वर्षीय प्रोफेसर वेन्जामिन ब्राउनसँग डा. जयराजको परिचय हुनासाथ उनले यदुनाथको बारेमा सोधे उनी स्वस्थ र अध्ययनशील छन् यसको उत्तर पाएपछि ज्यादै प्रभावित भएर उनले भने – यदुनाथ अत्यन्त गहन विद्वान रहेछन् । यस तथ्यबाट पनि प्रष्ट हुन्छ यदुनाथसँग अन्तर्राष्ट्रिय जगत्‌लाई प्रभाव पार्नसक्ने त्यस्तो अद्भूत कूटनीतिक क्षमता रहेको छ ।


अन्तर्राष्ट्रिय कूटनीतिकमामिलामा यदुनाथले प्राप्त गरेको अर्को प्रसङ्ग–जब उनी हार्वर्ड विश्वविद्यालयबाट परराष्ट्रनीतिको गहन अध्ययन गरी नेपाल फर्केको एकवर्ष पछि नै उनी अमेरिकाकै लागि शाही नेपाली राजदूत भएर गए । उनले ओहोदाको प्रमाणपत्र स्वीकार गरेपछि तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड एन निक्शनले दिएको भाषणमा भनिएको छ– तपाईजस्तो ख्यातिप्राप्त र उच्च सम्मानप्राप्त व्यक्ति श्री ५ बाट यस देशका लागि राजदूत नियुक्त हुनुभएकोमा संयुक्तराज्य अमेरिका नै सम्मानित भएको छ । सायद यस्तो वाक्य अरु राजदूतहरुको स्वागतमा पनि भनिन् सक्छ र त्यो औपचारिकता मात्र हुनसक्छ, तर यदुनाथका विषयमा भने त्यो केवल औपचारिकता मात्र थिएन, यथार्थ थियो । त्यतिखेर संयुक्तराज्य अमेरिकाका लागि राजदूत बनाएर पठाउनका लागि सायद नेपालमा उनी भन्दा बढी योग्यव्यक्ति अर्को कोही थिएन भन्दै डा. जयराजले आफ्नो पुस्तक यदुनाथ खनाल जीवनी र विचारमा उल्लेख गरेका छन् । यादरहोस् रिचर्ड एन निक्शन अमेरिकाका ३७ औं राष्ट्रपति हुन ।


नेपालको परराष्ट्रनीति र भूराजनीतिमाथि बहस र सम्वाद गर्न परराष्ट्र मन्त्रालयले आफ्नो क्षेत्रका विज्ञहरुलाई बोलाएर नेपाली कूटनीतिका चाणक्य सरदार यदुनाथ खनालको नाममा हरेकवर्ष प्रवचन श्रृङ्खला आयोजना गर्दै आएको छ । यही क्रममा पहिलोपटक २०७९ जेठ २४ गते आयोजित यदुनाथ खनाल प्रवचन श्रृङ्खलाका मुख्यवक्ता थिए–अन्तर्राष्ट्रिय कानूनका ज्ञाता एवम् बेलायतनिवासी प्रोफेसर सूर्यप्रसाद सेवेदी उनले नेपालको परराष्ट्रनीति विगत, बर्तमान र भविश्य विषयमा प्रवचन दिएका थिए । दुई दुई पटक नेपालको परराष्ट्र सचिव रहेका यदुनाथको प्रवचन श्रृङ्खलाको पाँचौ श्रृङखला गत असार १५ गते २०८३ मा सम्पन्न भएको छ ।


विश्व ब्रमाण्ड बुझेका यदुनाथले आफ्नो आत्मवृत्तान्त नलेखिदिंदा नेपाली वौद्धिक समाजले धेरै तथ्यहरु गुमाएको छ । उनको आत्मबृत्तान्त लेख्न धेरै विद्वानहरुले यदुनाथलाई अनुरोध गरेका थिए, तर त्यसलाई उनले त्यति महत्व दिएनन् । यस बारेमा विद्वान लेखक अब्राहम काउलीको तर्क छ– आफ्नै बारेमा लेख्नु जतिको मुश्किल हुन्छ त्यत्तिकै रोचक पनि हुन्छ, किनकि आफ्नै बारेमा नराम्रा कुरा र निन्दा लेख्न मलाई नराम्रो लाग्छ र प्रशंसा गरौं भने पाठकहरु रिसाउँछन्, सायद यदुनाथलाई पनि यस्तै समस्या उत्पन्न भएको तथ्य बुझ्न सकिन्छ । किनभने यदुनाथको आत्मवृत्तान्त भनेको विचारप्रधान ज्ञानको भण्डार हो । त्यसैले पनि आफू जीवित छदै नेपाली, संस्कृत र अङ्ग्रेजी भाषाका ज्ञाता एवम् कूटनीतिक क्षेत्रका जानकार विद्वान डा. जयराज आचार्यलाई आफ्नो जीवनी र विचार प्रस्तुत गर्ने माध्यम बनाएका थिए ।ं जीवनमा प्राध्यापनदेखि प्रशासन एवम् कूटनीतिक क्षेत्रमा भारत, चीन र अमेरिकासम्म निवास गरेका यदुनाथको अनुभव र ज्ञानको भण्डार–क्षेत्र व्यापक छ । उनले दर्जनौ अन्तर्राष्ट्रिय कूटनीतिक मञ्च, सभा र सम्मेलनहरुमा शोधपत्र प्रस्तुतसहित भाषण दिएका छन । यसकारण पनि यदुनाथको जीवनी समाजको जीवनी हो । उनले २०५४ मङ्सीर ८ गते त्रिभुवन विश्वविद्यालयद्वारा यदुनाथलाई प्रदान गरिएको सम्मानार्थ महाविद्यावारिधि डी.लिट्को उपाधि प्राप्त गरेपछि विश्वविद्यालय परिसरमा गड्गडाएर दिएको लामो वौद्धिक भाषण तत्काल अत्यन्त चर्चित बनेको थियो ।

आजका सचेत युवापुस्ताले हाम्रा अग्रज मनीषीहरुका विचार र चिन्तन पक्षलाई बुझ्नको लागि कूटनीतिज्ञ डा. जयराजद्वारा लिखित यदुनाथ खनाल जीवनी र विचारका बारेमा लेखिएको यो ज्यादै नै गहन र प्राज्ञिक पुस्तक हो । उक्त पुस्तकमा प्रस्तुत यदुनाथको जीवनी र विचारपक्षको अध्ययन गर्दा गहन विचारले विश्व ब्रमाण्ड बुझेको एउटा सुखद अनुभव र अनुभूति प्राप्त हुन्छ । यो गहनतम् पुस्तक यदुनाथको प्रस्ताव र साझा प्रकाशनको अनुरोध स्वीकार गरी डा. जयराज आचार्यले लेखेका हुन् । गुणात्मक पठन संस्कृतिमा र्‍हास भइरहेको वर्तमान अवस्थामा यदुनाथको कूटनीतिक क्षमतालाई बुझ्न पनि युवापुस्तालगायत जो कोहीले पनि यो पुस्तक अध्ययन गर्नु अनिवार्य देखिन्छ । यस पुस्तकमा दुईवटा आकर्षण तस्वीर रहेका छन्‌–पहिलो तस्वीर श्री ५ वीरेन्द्रद्वारा उतारिएको यदुनाथको अनुहार रेखाचित्र पुस्तकको आवरणको रुपमा राखिएको छ भने दोस्रो तस्वीर हेनरी किसिन्जर र यदुनाथ खनालसँगै रहेको पूर्णकदको तस्वीर छ । यस तस्वीरमा दुबैको व्यक्तित्व बाघजस्तो छ भने हेनरी किसिन्जरको यदुनाथप्रतिको हेराईमा नेपालमा पनि यस्ता विराटव्यक्तित्व रहेछन् भन्ने मनोबैज्ञानिकता बुझ्न सकिन्छ ।

कुनै पनि प्रतिभा विशेषको योगदान र उसको मूल्याङ्कन गर्ने परिपाटी र परम्परामा यदुनाथको क्षमता विशिष्ट छ । उनले नेपालका तीनजना मूर्धन्य प्रतिभा सोमनाथ सिग्देल, हेमराज शर्मा र नयराज पन्तका बारेमा गरिएको गम्भीर अध्ययन समालोचना यसको उत्कृष्ट क्षमताभित्र पर्दछ । यी मूर्धन्य प्रतिभाहरुको सम्बन्धमा यदुनाथको सटिक तर्क छ– मलाई अनुभव हुन्छ, हामीले हेर्नेभन्दा अर्को दृष्टिबाट हेमराज र सोमनाथको सम्बन्धलाई नयराजले हेर्नुभएको छ । हेमचन्द्रिका, पुस्तकालयको सङ्ग्रह, संस्कृत शिक्षा विभागको लामो निर्देशन, उनको सर्वस्वीकृत विद्वता आदि कुराको कारणले गर्दा नेपाली इतिहासमा हेमराजको आफ्नै व्यक्तित्व छ । त्यो व्यक्तित्व विवेकपूर्ण तरिकाले इतिहासको चर्चाको विषय हुन सक्दछ, तर यसरी आफ्नै स्वतन्त्र व्यक्तित्व भएका हेमराजलाई उचाल्न सोमनाथलाई पर्छानुपर्ने आवश्यकता म देख्तिन् । नयराजको ठूलो गुनासो छ– जव हेमराज राणावंशमा स्थिर रहे सोमनाथले भने हेमराजलाई त्याग गरे । २००७ सालको जनक्रान्ति राणावंशको होइन वल्की व्यवस्थाको विरोधमा थियो । क्रान्तिका प्रवर्तक राणा अराणा सबै थिए, तव क्रान्तिपछि हेमराज राणावंशमा स्थिररहे भन्नाको के तात्पर्य हो ? नयराजप्रति यदुनाथको प्रश्न कति गम्भीर र सन्तुलित रुपमा एउटा घटनाक्रमसँग जोडेर व्याख्या विश्लेषण गरिएको छ । यदुनाथको यो मूल्याङ्कन आजका युवापुस्ता र विशेष गरी राजनीतिक दलका एकलकाटे र एकसरो चिन्तन बोकेका पात्रहरुले अध्ययन मनन गर्नु पनि राष्ट्रकै हितको पक्षमा छ ।

अधिकाङ्श कर्मयोगी मानिसहरु जीवनमा एकपटक जसरी उदाए त्यसरी नै अस्ताउने पनि गर्छन्, तर नेपाली वाङ्मय क्षेत्रका सिङ्गो प्राज्ञिक धरोहर कूटनीतिज्ञ यदुनाथ नै एउटा यस्तो विवादरहित, कर्तव्यनिष्ठ र निश्कलङ्क नाम हो, जो विगत वि.सं. १९९१ देखि २०६१ सालसम्म नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक, साहित्यिक, शैक्षिक, प्रशासनिक र सामरिक महत्वका क्षेत्रमा अटुट रुपमै आजीवन देखापर्‍यो । यदुनाथ आफ्ना अत्यन्त क्रियाशील जीवनका सुरुचिपूर्ण प्रहरमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरको कोटिका प्रकाण्ड विद्वान हुन । यदुनाथको जन्म वि.सं. १९७० साउन २८ गते तनहूँको मानुङ गाउँमा असम्पन्न तर शिक्षित परिवारमा भएको थियो । उनको निधन २०६१ असोज १६ गते झण्डै ९१ वर्षको उमेरमा आफ्नै निवास वानेश्वरमा भएको हो । यदुनाथले त्यो असम्पन्न अवस्थामा पनि संस्कृत शिक्षाको चाहिदो ज्ञान प्राप्त गरेर जीवनका विकराल, विषम र जटिल परिस्थितिहरुसँग लड्दै भिड्दै अन्तर्राष्ट्रिय व्यक्तित्व निर्माण गर्न सक्नु एवम् मानुङका खनाल परिवारमा शिक्षा अफाव हुन्छ भन्नेहरुका लागि चुनौती दिदै लेखन, अध्ययन र अध्यापन कलाकौशलता प्राप्त गर्नु यदुनाथको सफल वैशिष्टय हो । कलकत्ता विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. गरेपछि उनले त्रिचन्द्र कलेजबाट अङ्ग्रेजी साहित्यमै प्राध्यापन सेवा प्रारम्भ गरेका थिए । आफ्नो वौद्धिक नवउर्जाशील लेखन र अध्ययनको माध्यमबाट एउटा कुशल अङ्ग्रेजीविद् मात्र नरहि एक अग्रणी वौद्धिक व्यक्तित्वका साथै अङ्ग्रेजी साहित्यबाट प्राप्त विराट मानव सचेतना र उन्नत संस्कार सुरुचिपूर्ण आभूषणभित्र यदुनाथले देश र समाजको पक्षमा प्रदान गरेको अग्रणी सेवा भावी पुस्ताका लागि पनि जीवन्त प्रेरणा भएर रहेको छ र रहिरहने छ । यदुनाथ वि.सं. १९९९ सालदेखि २०१३ सम्म त्रिचन्द कलेजमा लोकप्रिय प्राध्यापकको रुपमा रहेका थिए । उनको लोभलाग्दो जीवनशैली र योगदानको पक्ष छदैछ, तर यो भन्दा पनि ९६ वर्षअघि अध्ययनको महत्वकाङ्क्ष बोकेर सर्वप्रथम संबत १९८२ सालमा करिव १४ वर्षको उमेरमा तनहूँको मानुङ गाउँबाट सातदिनको पैदलयात्रा हिडेर यदुनाथ देशको राजधानी आउँदा बाटोमा डेढ रुपैयाँ पनि खर्च हुन नसकेको उनको अनुभव छ ।

नेपालमा सर्वप्रथम सम्बत् १९९० सालमा एसएलसी परीक्षाबोर्डको विधिवत् गठन भएपछि नेपाली विद्यार्थीहरुले स्वदेशमै रहेर परीक्षा दिन पाउने सुगम प्रणालीको सुरुवात भयो । यही क्रममा सम्बत् १९९१ सालको एसएलसी परीक्षामा दरवार हाईस्कुलको तर्फबाट सहभागी भै प्रथम श्रेणीमा प्रथम हुने अवसर यदुनाथले प्राप्त गरेका थिए । एसएलसी परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरेवापत श्री ३ राणा सरकारद्वारा उनलाई त्रिचन्द्र कलेजमा आई.एस्सी पढ्नको लागि दुई वर्षसम्म मासिक १५ रुपैयाँको छात्रवृत्ति प्रदान गरियो । उक्त छात्रवृत्तिले उनको जीवनको पठनपाठनमा महत्वपूर्ण आर्थिक सहयोग पुर्‍यायो । साहित्यलेखनको प्रारम्भसँगै निबन्धको क्षेत्रमा यदुनाथले विशेष भूमिका छात्र जीवनदेखि नै निभाएका थिए । राणाकालमा देशकै जनचेतना र वौद्धिकताको केन्द्र त्रिचन्द्र कलेज नै रहेको पृष्ठभूमिमा यदुनाथको आरम्भकालीन वौद्धिक प्रतिभाले आफ्नो परिचय दिएको थियो । यसै क्रममा सम्वत १९९३ सालमा त्रिचन्द्र कलेजमा कलेजस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । निबन्ध प्रतियोगितामा यदुनाथ खनाल, सुरेन्द्रबहादुर शाह, कण्ठनारायण प्रधान, गोपालप्रसाद रिमाल, रामप्रसाद तण्डुकार, साम्वदेव पाण्डे, रामप्रसाद जोशी र तीर्थनाथ अधिकारी समेत गरी आठजना प्रतिभाशाली छात्रहरुको सहभागिता रहेको थियो । निवन्ध प्रतियोगिताको शीर्षक पृथ्वी, समुद्र र आकाश राखिएको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटा त्रिचन्द्र कलेजस्तरीय निवन्ध प्रतियोगिताका परीक्षक रहेका थिए । निवन्ध प्रतियोगितामा देवकोटाको सहयोगीका रुपमा अङ्ग्रेजी साहित्यका प्राध्यापक वोधविक्रम अधिकारी र उच्च प्राज्ञिक व्यक्तित्व खड्गमान सिंहको सहभागिता रहेको थियो । नेपालबाट सर्वप्रथम एमए पासगर्ने व्यक्तित्व बोधविक्रम यदुनाथका पनि गुरु हुन । बोधविक्रमको जन्म पनि यदुनाथकै गृहभूमि तनहूँमा वि.सं. १९५१ सालको असारमा भएको हो ।

तथापि, उक्त निबन्ध प्रतियोगिता सम्पन्न भएपछि सबै उत्तर पुस्तिकाहरु परीक्षक महाकवि देवकोटालाई बुझाइयो । परीक्षक देवकोटाले निवन्धलेखन प्रतियोगिता अन्तर्गत भाषाशैली, भावुकता, वौद्धिकता, प्रखरता, कल्पनाशक्ति, यथार्थ गहिराई र चातुर्यजस्ता विषयलाई मूल्याङ्कनको आधारमानी अङ्क निर्धारण गरिएको थियो । अन्तत निबन्ध प्रतियोगितामा सबैभन्दा बढी ६० अङ्क प्राप्त गरी यदुनाथ खनाल सर्वप्रथम भै स्वर्णपदकको लागि योग्य घोषित भए । यदुनाथले अध्ययनको महत्वलाई छात्र जीवनदेखिनै अत्यन्त सुझवुझका साथ वुझेका थिए । उक्त निवन्ध प्रतियोगितामा सहभागी आठैजना सबैले आ–आफ्नो क्षेत्रमा नाम र ख्याति कमाए, तर यदुनाथले प्राप्त गरेको राष्ट्रिय अन्तर्राष्ट्रिय प्राज्ञिक उचाई र ख्याति आजसम्म कसैले पनि कायम गर्न सकेनन । यसकारण मानिसको जीवनको लक्ष्य प्रारम्भिक चरणदेखि नै सार्वजनिक हुदै जाँदो रहेछ भन्ने तथ्य आजको युवापुस्ताले यदुनाथको जीवनीबाट बुझ्न सक्छन् । निवन्ध प्रतियोगिताका सहभागी यदुनाथ भविष्यमा गएर देशको विविध क्षेत्रका साथै अन्तर्राष्ट्रिय मामिलासम्बन्धी क्षेत्रमा समेत ख्यातिप्राप्त विद्वान वन्नसक्ने छन् भन्ने महाकवि देवकोटाले तत्कालीन परिवेशमा गरेको सुदूर–भविष्यवाणीलाई समेत आजको स्थितिमा स्मरण नगरिरहन सकिन्न । त्यसैले नेपाली साहित्यका विशिष्टसाधक, पूर्वीय र पाश्चात्य समालोचनका ज्ञाता तथा प्रख्यात् अन्तर्राष्ट्रिय कुटनीतिज्ञ सरदार यदुनाथको प्रेरणादायी व्यक्तित्वबाट समाज, राष्ट्र र विशेष गरी युवापुस्ताले लामो समयसम्म पनि प्रेरणा र वौद्धिक उर्जा प्राप्त गरिरहने छन् भन्नुमा विमति रहदैन् । यदुनाथ साहित्य, दर्शन र विज्ञानका त्रिवेणी विद्वान हुन् ।

Follow Us
4Shares
Shabdasarovar
Shabdasarovar
Articles: 59

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।