कात्तिक ७, विराटनगर
साहित्यकार तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनासङ्ग्रह ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा भव्य समारोहका बीच विमोचन गरिएको छ ।
विराट साहित्य संगम, मोरङको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलद्वारा उक्त कृतिको विमोचन गरिएको थियो ।
कार्यक्रममा समालोचक निर्मला कोइरालाले कृतिमाथि विस्तृत समीक्षा प्रस्तुत गर्दै यसको विषयगत विविधता, समालोचनात्मक दृष्टिकोण र साहित्यिक महत्त्वबारे चर्चा गर्नुभयो । लेखक तोमनाथ उप्रेतीले कृतिको लेखन उद्देश्य प्रकाश पार्दै समालोचनाप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
‘अक्षरभित्र चिन्तन’ सङ्ग्रहमा विराटनगरलाई कर्मभूमि बनाएर साहित्यसाधनामा सक्रिय विभिन्न स्रष्टाका कविता, खण्डकाव्य, कथा, मुक्तक, हाइकु, उपन्यास तथा नाटकलगायतका विधाका कृतिमाथि समालोचनात्मक विश्लेषण गरिएको छ ।
विमोचित कृतिमा सीमा आभासको उपन्यास ‘महायुग’
छवि वैरागी घिमिरेको ‘विविशारा’उमेश लुइटेलको कवितासङ्ग्रह‘आगो खरानी जान्दैन’ लगायत दर्जनौं स्रष्टाका महत्वपूर्ण कृतिहरुको समुचित र गम्भीर समीक्षाहरु समेटिएका छन् ।
कृतिमा समेटिएका समीक्षाहरूले सामाजिक यथार्थ, मानवीय संवेदना, जीवनदर्शन, वर्गीय असमानता, सांस्कृतिक चेतना र सामाजिक रूपान्तरणका विषयलाई साहित्यसँग जोडेर विश्लेषण गरेका छन् ।
लेखकीय मन्तव्यका क्रममा स्रष्टा उप्रेतीले साहित्यिक कृतिको मूल्याङ्कन गर्दा लेखकको प्रतिष्ठा वा व्यक्तिगत आग्रहभन्दा पाठगत प्रमाण, ऐतिहासिक तथा सांस्कृतिक सन्दर्भ र कलात्मक संरचनालाई महत्त्व दिनुपर्ने दृष्टिकोण अघि सार्नुभएको छ । समालोचनालाई केवल प्रशंसा वा निन्दामा सीमित नराखी कृतिका सबल पक्ष, अन्तर्विरोध र सामाजिक अर्थको खोजी गर्ने बौद्धिक अभ्यासका रूपमा प्रस्तुत गर्नु यस संग्रहको मुख्य विशेषता रहेको छ ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले नेपाली साहित्यको उन्नयनमा समालोचनाको भूमिका महत्वपूर्ण हुने बताउँदै साहित्यिक कृतिको गम्भीर अध्ययनले सिर्जनात्मक क्षेत्रमा ठूलो योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रममा गोपाल निर्भिकले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
आदर्श माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रमानाथ भट्टराई तथा प्रमुख जिल्ला अधिकारी युवराज कटेलले मन्तव्य राख्दै कृतिकारलाई कृति सफलतको शुभकामना दिनुभएको थियो ।
मोफसलको साहित्यिक गतिविधि तथा विराटनगरमा सक्रिय स्रष्टाहरुको अभिलेखीकरण र मूल्याङ्कनका लागि ‘अक्षरभित्र चिन्तन’ ले महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका मधु पोखरेलले कृतिकारलाई शुभकामना दिँदै कार्यक्रमको समापन मन्तव्य दिनुभएको थियो । साहित्यानुरागी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयको बाक्लो उपस्थिति रहेको सो समारोह सभ्य एवम् भव्य रुपमा सम्पन्न गरिएको थियो ।





