ऋषि नेपाल र इन्काउन्टर्स नेपाल— नाममा नै कस्तो अनौठो, संयोगपूर्ण र काव्यात्मक लय छ! समयको गतिसँगै नेपालका अधिकांश व्यावसायिक साझेदारीहरू झैँ उनका साझेदारहरू पनि विभिन्न बहानामा पाखा लाग्दै गए । नेपालमा त पार्टनरमात्र होइन, ठुला कम्पनीहरू नै फुट्ने र विघटन हुने अनगन्ति उदाहरणहरू छन् । तर ऋषिले ती विचलनहरूबाट कहिल्यै हार खाएनन् ।

जीवन सोचे जस्तो मात्र कहाँ हुन्छ र ! न सबै सपना साकार हुन्छन्, न त पीडाहरू नै सधैँभरि रहिरहन्छन् । मानिसको जीवनमा आउने उतारचढावहरू नै स्वयम्को वास्तविक शिक्षक हुन् । निरन्तर कर्मको भुम्रोमा खारिएर आँसुलाई पसिनासँग साटेर कठोर सङ्घर्षको मैदानमा होमिन सक्नेहरूले मात्र अन्ततः आफ्नो भाग्यको ढोका आफैँ खोल्न सक्छन् । यस्तै अदम्य साहस र जिजीविषाका एक जीवन्त साक्ष्य हुन्— ऋषिप्रसाद नेपाल ।
त्यसो त ऋषिको जीवनमा अनेकौँ कालरात्रि र कहालीलाग्दा आँधीबेहरीहरू नआएका होइनन् । जीवनको प्रत्येक मोडमा उनी परीक्षाको कसीमा उभिए तर कहिल्यै हार मानेनन् । सन् २००० सालको त्यो कालरात्रिको समय, जब उनी वैदेशिक रोजगारीका लागि मुम्बईको अनकन्टार सडकमा पुगेका थिए, त्यो उनको जीवनको सबैभन्दा कठिन र परीक्षात्मक मोड थियो । एउटा साँगुरो, चिसो र अँध्यारो कोठा, जहाँ घामका किरणहरूले कहिल्यै प्रवेश पाउने अनुमति पाएका थिएनन् । बाहिर सडकमा गुडिरहेका हजारौँ गाडीहरूको कर्कश आवाजले कलिलो नेपाली सपनालाई पलपलमा कुल्चिरहेको थियो । खल्तीमा बचेका जम्माजम्मी केही सय रुपियाँ र मनभरि पालिएका अनगिन्ती आशाहरूको आयु भित्तामा झुन्डिएको घडीको सुईसँगै सीमित बन्दै गएको थियो ।
दलालका मिठा र लोभलाग्दा आश्वासनमा परेर जन्मभूमिको न्यानो माटो, आमाबुवाको ममतामय छाँया र साथीहरूको साथ छाडेर हिँडेका ऋषिप्रसाद त्यतिबेला एउटा अदृश्य पर्खालभित्रको कैदी बनेका थिए । त्यो एउटा यस्तो बन्दी जीवन थियो जहाँबाट न उनी पखेटा फैलाएर उडेर आकाश छुन सक्थे, न त आफ्नो देश फर्कने बाटो पाउन नै ! पाँच हप्तासम्म लगातार एउटै कोठामा खुम्चिएर, छटपटिँदै बस्दा उनले जीवनको अति गहिरो सन्नाटा महसुस गरे । त्यहीबेला उनलाई पहिलोपटक महसुस भयो– मानिसको जीवन वास्तवमा पानीमा तैरिरहेको कागजको एउटा सानो डुङ्गाजस्तै रहेछ, जसलाई जीवनको सानो आँधीले पनि क्षणभरमै डुबाउन सक्छ ।

त्यो बन्दी जीवनले उनका उमङ्गहरू र आँखामा सजिएका सुनौला भविष्यका चित्रहरूलाई खरानी बनाइदियो । उनीसँग न कसैलाई आफ्नो पीडा सुनाउने कुनै उपाय थिएन । साँगुरो झ्यालबाट बाहिरको यो विशाल संसार नियाल्दा उनलाई लाग्थ्यो— धर्ती विशाल छ तर उनको आफ्नै अस्तित्व भने एउटा बन्द बट्टामा कैद भएको छ ।
त्यो क्षण, जब उनी ४८ घण्टाको लामो थकानयुक्त रेल यात्रा गर्दै गोरखपुर आइपुगेर धुलाम्मे र अनकन्टार बाटो हुँदै रित्तै हात, पूर्णतया निराश अवस्थामा काठमाडौँको धूलोधुवामा फर्किए, उनको जीवनको आकाशमा सबैभन्दा कालो बादल मडारिएको थियो । नेपाली समाजको एउटा अत्यन्त तीतो तर शाश्वत यथार्थ छ– जीवनको कुनै पनि मोडमा लडेर घाइते भएकालाई यो समाजले मायाको हात समाएर उठाउनुको साटो हास्यपात्र बनाउँछ ।
सङ्घर्ष, अभाव र यथार्थका तीतामिठा पानाहरूले रङ्गिएको छ ऋषिको जीवन–यात्रा । वि.सं. २०३६ साल वैशाख ३० गते धादिङ जिल्लाको फूलखर्क– १ को एक साधारण परिवारमा नवजात शिशु ऋषिको पहिलो रोदनले उनको आगमन भएको सन्देश दिएको थियो । बुवा डिल्लीप्रसाद नेपाल र आमा टीकाकुमारीको काखमा हुर्किएका पाँच दाजुभाइ र तीन दिदीबहिनीमध्ये परिवारको चौँथो सदस्य हुन् उनी ।
उनको बाल्यकाल कुनै सुविधायुक्त गाउँले बालकको भन्दा फरक थिएन । हिलो–माटो, उकाली–ओराली र पसिनाको गन्धमा बिहान बेलुकाको चुलो बल्थ्यो । अन्नको अभाव नभए पनि आङ ढाक्ने लुगा र खुट्टामा चप्पल भने सधैँ दुर्लभ सपनाजस्तै हुन्थ्यो ।
जीवनको कठोर यथार्थ कस्तो हुन्छ भने– उनले कक्षा चारसम्म पढ्दासम्म आफ्नो कलिलो गोडामा चप्पलको स्पर्शसमेत गर्न पाएनन् । नेपाली समाजमा ‘छ लुगा छ जाडो, छैन लुगा छैन जाडो’ भन्ने उखान उनले काँप्दै गरेका आफ्नै अङ्गप्रत्यङ्गमा प्रत्यक्ष अनुभव गरेका थिए ।
मान्छेको जीवनको पाना यत्तिकै सजिलै च्यातिँदैन किनकि त्यसमा अनगन्ति कथा लेखिन बाँकी रहेका हुन्छन् । ठुला महल वा वैभवशाली जीवनको सपना नसाँची परिवारका लागि छाक टार्ने भावनाले मात्र प्रेरित एउटा सोझो गाउँले ठिटोलाई भाग्यले कसरी यस्तो दर्दनाक जालमा फसायो ? प्रश्नको उत्तर खोज्न र त्यस विडम्बनाको रहस्य उघार्न समयको चक्रलाई पछाडि फर्काउनुपर्छ— धादिङको त्यही पसिना र माटोको सुवासित उर्वर आँगनतिर ।
फूलखर्कको मण्डली माविमा अक्षरारम्भ गरेका उनले आठ कक्षामा पुगेपछि मात्र जीवनको पहिलो नयाँ ज्याकेटको न्यानो स्पर्श पाए । त्यतिबेला मात्र उनलाई बोध भयो— जाडो बाहिर बहने वायुको स्पर्शमात्र होइन, हड्डी कमाउने र मुटु छेड्ने कडा ठिही पो रहेछ ।
वि.सं. २०५२ सालमा एसएलसीको अग्निपरीक्षा पार गरेपछि ऋषि पहिलो पटक काठमाडौँ छिरे । फूलखर्कबाट आफ्ना दुई साथीहरूसँगै मलेखुसम्मको थकानयुक्त पैदल यात्रा तय गरी उनीहरूसँगै त्यहाँबाट रात्रिकालीन बस चढेका थिए ।
दाउराको झरिलो आगोमा पकाएको ढिँडो र करेसाबारीको तरोताजा तरकारी खाएर हुर्किएका उनका लागि काठमाडौँको परिवेश बिल्कुलै नौलो थियो । गाउँमा जस्तो यहाँ न त दाउराको बास्ना आउने चुलो थियो, न त मकलको न्यानोपन नै ! काठमाडौँको साँघुरो कोठामा मट्टितेलको स्टोभ बाल्दा आउने कडा गन्धले सुरु–सुरुमा उनको साह्रै टाउको दुखाउँथ्यो । तर पेटको आगो निभाउन त्यो गन्ध सहनुको विकल्प उनीसँग थिएन ।
‘रहर, लहर र बाध्यताको दोसाँधमा उभिएर गरिने सङ्घर्ष नै मानिसको असली पहिचान हो’ भने झैँ, राजधानी त टेकियो तर यहाँ न रुखमा रुपैयाँ फल्थ्यो, न त कसैले सित्तैमा ओत र गाँस नै दिन्थ्यो । घरबाट नियमित रूपमा खर्च मगाएर पढ्ने आर्थिक हैसियत उनको परिवारको थिएन । त्यसैले आफ्नो पढाइको सपना र पेटको भोक दुवैलाई बचाउन अब उनी सङ्घर्षको नयाँ मोर्चामा होमिन बाध्य भए ।

त्यो बेला अहिलेको जस्तो गाउँघर वा शहरका गल्लीहरूमा हातहातमा स्मार्टफोनको सुविधा उपलब्ध थिएन । राजधानीमा ‘एसटीडी/आईएसटीडी’ बुँथहरूले खुबै बजार पिटेको थियो । मानिसहरू आफ्ना दाजुभाइ, आमाबुवा वा विदेशमा रहेका आफन्तसँग कुरा गर्न घण्टौँसम्म लाइनमा बस्थे । ऋषिले न्यरोडको एउटा भिडभाडयुक्त बुँथमा काम पाएसँगै टङ्गालस्थित रत्नज्योति क्याम्पसबाट वाणिज्य शास्त्रमा प्रविणता प्रमाण–पत्र तहको अध्ययनलाई पनि रगत र पसिनाको लेपन लगाएर अगाडि बढाए ।
समय आफ्नै गतिमा बद्लिँदै थियो । जीविकोपार्जनका अनगन्ती बाटा नियाल्दै गर्दा उनले सन् १९९८–१९९९ को अन्तरालमा धुलिखेल नगरपालिकाको चुङ्गीकर डिपोमा ‘कर संकलक’ का रूपमा एक नयाँ अवसर प्राप्त गरे । करिब ११ महिनासम्म उनले त्यहाँ इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरे ।
नेपालको प्रशासनिक तथा स्थानीय शासन प्रणालीमा ठुलो परिवर्तन भयो । विशेष गरी ‘स्थानीय स्वायत्त शासन ऐन’ लागू भएपछि चुङ्गीकर प्रणाली नै सदाका लागि खारेजीमा पर्यो । प्रणालीको यही फेरबदलसँगै उनको त्यो जागिर पनि गुम्यो । एउटा सुरक्षित बन्दै गएको रोजीरोटी अचानक खोसिएपछि उनी फेरि अनिश्चितताको चौबाटोमा पुगे । तर यस्ता धक्काले उनलाई आगामी कठिन उकालोहरूसँग जुध्न अझ बढी साहसी र परिपक्व बनाउँदै लगिरहेका थिए ।
मट्टितेलको गन्ध आउने स्टोभमा आफैँले पकाएको अधकचरो भात खाएर कोठाको चारकुने साँघुरो बसाइ काट्दै गर्दा उनको मानसपटलमा कतै विदेश जाने भूत सवार थियो । नातावाद, कृपावाद र भनसुनको जालोले गहिरो गरी ग्रसित नेपालमा एक त साधारण मान्छेले रोजगारी पाउनै असम्भव थियो र अद्यापि छ, पाइहाले पनि त्यसको कुनै स्थायित्व हुन्न र छैन पनि । फलस्वरुप, जो कोहीका लागि पनि विदेसिनु रहर नभई जीवन बचाउने र परिवार पाल्ने एक कठोर बाध्यता बनेको थियो ।
रोजगारदाता नामका स्याङ्जाका ती कुख्यात जाली भक्तराज र लीलाको प्रलोभनमा परेर उनी पनि नराम्ररी फसे । बम्बईको बाटो हुँदै खाडी मुलुकको सुनौला बगैँचा देखाउने ती दलालहरूको पञ्जामा परेर आफ्नो सर्वस्व गुमाएपछि उनले जेजति अपमान र हन्डर खाए, त्यसले उनको कोमल मस्तिष्कमा कहिल्यै नमेटिने गहिरो खाटा बसालेको थियो ।
तर जीवनले सधैँ रुन मात्र सिकाउँदैन । जसले प्रहारबाट पाठ सिक्छ, उसैले इतिहासको पाना पल्टाउँछ । समाजमा कुरा काट्नेहरूको तिखो बाणले उनलाई भित्रैसम्म त पोल्यो तर ती प्रहारहरूबाट उनी पूर्णतया घाइते भएनन् । बरु त्यसलाई उनले जीवनको सबैभन्दा ठुलो र महँगो विश्वविद्यालयको पाठ ठाने । त्यसपछि उनी जीविकोपार्जनका लागि भौतारिँदै काठमाडौँको प्रसिद्ध स्नुकर बार ‘९९ क्लब’ मा पुगे ।
त्यहाँ उनले जुन काम पाए, त्यो उनको जीवनको सङ्घर्षको अर्को महत्त्वपूर्ण अध्याय थियो । स्नुकर टेबल सफा गर्ने, बलहरूलाई निश्चित स्थानमा सेट गर्ने, क्यु स्टिकको नियमित हेरचाह गर्ने, खेलाडीहरूलाई आवश्यक पर्दा बल राख्ने त्रिकोण मिलाइदिने, क्यु स्टिकमा चक लगाउने र उनीहरूको सुविधा अनुसारका सम्पूर्ण प्रबन्ध मिलाउने उनका दैनिक कर्म बने । ठमेलको पर्यटन हबको मुटुमा रहेको त्यो क्लबमा देशविदेशका अनगन्ति मानिसहरू आउँथे । त्यहीँ आउने विभिन्न ट्रेकिङ कम्पनीका गाइड र प्रबन्धकहरूसँग उनको चिनजान र सामीप्य दिन प्रतिदिन बढ्दै गयो ।
दिनभर क्लबका ती चिप्लो टेबल र भारी क्यु स्टिकहरू मिलाउँदा मिलाउँदै उनका हातका छालाहरू कडा भइसकेका थिए । तर उनको भित्री मनमा भने एउटा अर्कै अतास सल्किरहेको थियो— के यो स्नुकर हाउसको चार दिवारीभित्रै मेरा सपनाहरू सधैँका लागि सीमित हुने त होइन ?
काम सानो वा ठुलो हुँदैन, मानिसको दृष्टिकोण र काम गर्ने लगनशीलता मात्र सधैँ ठुलो हुनुपर्छ भन्ने भावना थियो उनमा । स्नुकर हाउसको त्यो बन्द कोठाको कामबाट अघि बढ्दै उनी ट्रेकिङको विशाल र खुला दुनियाँमा होमिए । हाइल्यान्डर ट्रेकिङ कम्पनीबाट पोर्टरको रूपमा डोको बोकेर उनी लाङसिसा खर्कलगायत पहाडका अनगन्ति उकालो र चिप्लो बाटो हिँड्न पुगे । वैदेशिक रोजगारका दलालले शून्यमा झारेको आफ्नो आर्थिक अवस्थालाई माथि उठाउनु थियो, नेपालका घुम्तीहरू र पदयात्राका बाटाहरू नजिकबाट चिन्नु थियो । त्यतिमात्र होइन, समाजमा केही गरेर देखाउने अभिष्ट पनि पूरा गर्नु थियो । कठोर मिहिनेत र पसिना बगाउनुको विकल्प अरू केही थिएन उनीसँग ।
कहालीलाग्दा हिमाली उकालोहरूमा जब उनी विदेशी पर्यटकहरूको भारी डोकोमा बोकेर हिँड्थे, तब शरीरका प्रत्येक जोर्नी दुख्थे, सास फुल्थ्यो र पिँडुलाहरू बटारिन्थे । तर उनले कहिल्यै गुनासो गरेनन् । उनले गहिरो गरी बुझेका थिए— जसले पसिनाको मूल्य बुझ्दैन, उसैले कहिल्यै जीवनको वास्तविक सुख पाउन सक्दैन । अविराम पैदल यात्रा र भारी बोक्ने क्रममा उनले पहाडका हरेक कुनाकाप्चालाई नजिकबाट नियाले । केही समयको त्यो कठोर अनुभवपछि उनी ‘गुर्खाज इन्काउन्टर’ कम्पनीमा जोडिए र आफ्ना पाइलाहरूलाई अझ उचाइमा पुर्याए । अन्ततः सन् २००१ मा उनले नेपाल हस्पिटालिटी ट्रेनिङ एन्ड म्यानेजमेन्ट (नाथम) बाट विधिवत रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) को आधिकारिक अनुमति–पत्र प्राप्त गरे र व्यावसायिक रूपमा गाइडको जिम्मेवारी सम्हाल्न थाले ।
भनिन्छ– जसले आफ्ना पाइलाहरूलाई चट्टानझैँ कडा बनाउन जान्दछ, उसैका लागि हिमालका चुचुराहरू पनि झुक्न बाध्य हुन्छन् । हो, ऋषिले नेपालका विभिन्न दुर्गम तथा सुगम पदयात्रा क्षेत्रमा १५० भन्दा बढी पटक सफल नेतृत्व गर्दै गर्दा पर्यटन व्यवस्थापनको गहिरो मियो र व्यावसायिक तौरतरिकालाई नजिकबाट बुझे । विदेशी भूमिमा गएर काम गर्नुभन्दा आफ्नै देशका हिमाल, पाखा र संस्कृतिमा पसिना बगाएर केही गर्न सकिन्छ भन्ने दृढ विश्वास उनमा पलायो ।
फलतः समयको चक्रले उनलाई जीवनको एउटा निर्णायक मोडमा पुर्यायो— सन् २००४ साल ।
त्यो वर्ष उनले हिम्मतका साथ केही विश्वासिला साथीहरूको सहकार्यमा दर्ता गरे— ‘इन्काउन्टर्स नेपाल’ ट्रेकिङ कम्पनी ।
ऋषि नेपाल र इन्काउन्टर्स नेपाल— नाममा नै कस्तो अनौठो, संयोगपूर्ण र काव्यात्मक लय छ! समयको गतिसँगै नेपालका अधिकांश व्यावसायिक साझेदारीहरू झैँ उनका साझेदारहरू पनि विभिन्न बहानामा पाखा लाग्दै गए । नेपालमा त पार्टनरमात्र होइन, ठुला कम्पनीहरू नै फुट्ने र विघटन हुने अनगन्ति उदाहरणहरू छन् । तर ऋषिले ती विचलनहरूबाट कहिल्यै हार खाएनन् । साझेदारहरूले साथ छाडे पनि उनी एक्लै चट्टानझैँ दृढ भएर कम्पनीलाई एक्लैले सम्हालिइरहे ।
सफलताको यात्रा केवल एउटै विन्दुमा अडिइरहँदैन । यही निरन्तरताको सुन्दर प्रतिफल हो— काठमाडौँको बिजेश्वरीमा अवस्थित ‘स्तुपा भ्यू इन’ होटल, जहाँ उनको गतिशील लगानी र दूरदर्शिता झल्किन्छ ।
उनले जुन ज्ञान र सीप आर्जन गरेका थिए, त्यसैलाई इमानदार सेवाको रूपमा निरन्तरता दिए । दुई दशकभन्दा लामो व्यावसायिक यात्रामा उनले हजारौँ विदेशी पर्यटकहरूलाई उत्कृष्ट सेवा प्रदान गरेका छन् । उनी आफैँमात्र रोजगार बनेनन्, आफ्नो कम्पनीमार्फत ४०–५० जनाभन्दा बढी नेपाली युवाहरूलाई प्रत्यक्ष रोजगारी दिएर राज्यको अर्थतन्त्रमा गतिलो इँटा थपेका छन् । इमानदारीपूर्वक देशलाई राजश्व तिरेर व्यवसायीमात्र बनेका छैनन्, विभिन्न सामाजिक संस्थाहरूमा अवाद्ध भई सेवाका थुप्रै कार्यहरूमा तल्लीन रहेर समाजसेवीको सुन्दर छवि पनि निर्माण गरेका छन् । हाल उनी काठमान्डु इन्भाइरभेन्टल एजुकेसन प्रोजेक्ट (किप) को कोषध्यक्षको भूमिकामा छन् । उनको निःस्वार्थ समाजसेवा र राष्ट्रप्रतिको समर्पणको उच्च कदर गर्दै नेपाल सरकारले सन् २०२३ मा उनलाई ‘जनसेवाश्री (पञ्चम)’ विभूषणबाट सुशोभित गर्यो । आज उनी समाजमा एक प्रतिष्ठित र सम्मानजनक जीवन बाँच्न सफल छन् ।
जीवनमा कहिलेकाहीँ यस्ता अदृश्य परिदृश्यहरू घट्छन्, जुन मान्छेले आफ्नो कल्पनाको सीमामा पनि सोचेको हुँदैन । जीवन भनेको नै सोचेको कुरा नहुनु र नसोचेको कुरा अचानक हुनुको नाम न हो ! दलालको जालमा परेर मुम्बईको एउटा साँगुरो कोठामा थन्किएका र पीडा भोगेका ऋषि जब उनैले आफ्नै बलबुतामा खोलेको ट्रेकिङ कम्पनीको पहिलो वर्ष (सन् २००४) मा पहिलो पटक फ्रान्सको भूमिमा ओर्लिए, तब उनका आँखाहरूबाट बगेको आनन्दको आँसु शब्दमा वर्णन गर्नै सकिँदैनथ्यो । जीवनमा फ्रान्सजस्तो विकसित युरोपेली मुलुकको माटो टेक्न पाइएला भन्ने कहिल्यै सोचेका थिएनन् । आजका दिन सम्म आइपुग्दा उनले अमेरिका, बेलायत, युरोपका १६ देश र एसियाका भारत, चीन, थाइल्यान्ड, म्यानमार, भुटान, तिब्बत र अस्ट्रेलियालगायत २२ देशहरूको भ्रमण गरिसकेका छन् ।
त्यस्तै, काठमाडौँको धूलोधुवामा भौतारिँदै गर्दा उनले कहिल्यै सोचेका थिएनन् कि यो सहरमा उनको पनि आफ्नै एउटा स्थायी घर हुनेछ । तर आज उनी काठमाडौँको रमणीय तारेकेश्वर–५ मा आफ्नी धर्मपत्नी भवानी वाग्ले (जससँग वि.सं. २०६८ मा ३२ वर्षको परिपक्व उमेरमा परम्परागत मागी विवाह भएको थियो) र आफ्नी एक मात्र प्यारी पुत्रीरत्न वीनिषा नेपालसँग सुख र सन्तुष्टिको जीवन बिताइरहेका छन् ।
ऋषि नेपालको जीवनको सबैभन्दा सुन्दर र अद्भूत पाटो भनेको उनको निर्भिक र स्पष्ट स्वभाव हो । ‘नबिराउनु नडराउनु’ भन्ने नेपाली लोकसिद्धान्तलाई आफ्नो जीवनको मूल मन्त्र बनाएका उनी कहिल्यै कसैसँग झुक्न वा डराउन जानेका छैनन् । आफूले देखेको सत्य कुरा बोल्न किञ्चित् हिच्किचाउँदैनन् । समाजले उनलाई आज एक ‘स्पष्टवक्ता’ को रूपमा चिन्छ, अर्थात् स्पष्टवक्ताको अर्को जिउँदो जागृत नाम नै ऋषि नेपाल बनेको छ ।
मृत्युको मुखबाट रसातलमा पुगेर पनि पुनर्जीवन पाएर फर्किएको मान्छेका लागि यो धर्तीको प्रत्येक नयाँ बिहानी एउटा अमूल्य उपहार सरह हुन्छ भन्ने उदाहरणमध्येका एक हुन् उनी । जीवनको पानामा भायनक आँधी आउन बाँकी थियो सायद । सन् २०१९ मा विश्वभरि ताण्डव मच्चाएको कोभिड–१९ महामारीले कसलाई पो छाडेर गयो र ! ख्यालख्यालमै सुरु भएको त्यो प्राणघातक भाइरसले ऋषिलाई पनि आफ्नो पासोमा नराम्ररी पारेको थियो । ह्याम्स अस्पतालको आइसीयू र भेन्टिलेटरमा लगातार १६ दिनसम्म मृत्यु र जीवनको दोसाँधमा रहे । झण्डै एक महिनाको अस्पतालको त्यो कष्टकर बसाइमा उनले मृत्युलाई नजिकबाट नियालेका थिए । मेसिनहरूको बिप–बिप आवाजमात्र सुनिने अस्पतालको साँघुरो कोठामा उनले जीवन र मृत्युको बिचको मसिनो रेखालाई आफ्नै आँखाले महसुस गरे । तर मान्छेभित्र हुने जिजीविषा अचम्मको हुन्छ । उनको भित्री इच्छाशक्ति र दृढ मनोबलले आखिर मृत्युलाई समेत परास्त गरिदियो र उनी पूर्ण स्वास्थलाभ गरी हँसिलो मुहारमा घर फर्किए ।
त्यसो त उनले जीवन सङ्घर्षको मैदान छाडेका नै कहाँ छन् र ! तर उनी जुन जीवन बाँचिरहेका छन्, यो यथार्थमा त यो उनको पूर्ण रूपमा दोस्रो जुनी हो । जतिसुकै ठुलो बज्रपात वा दुःख आए पनि कहिल्यै घुँडा नटेक्ने र जीवनमा कहिल्यै पनि अहम् वा घमण्डलाई नपाल्ने उनको उच्च दार्शनिक आदर्श नै आजका नवयुवाका लागि प्रेरणाको स्रोत बन्न सक्छ । यदि उनले सुरुवाती दिनका ती कठोर दुख र दलालको धोकाबाट हार मानेका हुन्थे भने आज उनी न यो स्थानमा पुग्न सक्थे, या त समाजका लागि उदाहरण नै बन्न सक्थे ।
मुम्बईको त्यो अन्धकारयुक्त कोठा, जहाँबाट ऋषिको जीवन कथाको रहस्यमय थालनी भएको थियो— आज त्यहीँ ठाउँबाट पछाडि फर्केर हेर्दा लाग्छ, जीवन वास्तवमा एउटा अनौठो र अनन्त नाटक हो । जसले नाटकको सुरुमा पर्दा खुल्दाका अनगन्ति पीडा, अपमान र आँसु भोग्छ, उसैले अन्त्यमा सफलता हात पार्न सक्छ । ऋषि नेपालले जीवनका तिक्त पीडाहरूलाई सिँढी बनाएर आज सफलताको शिखर चुमेका छन् ।
ऋषिको कथाको सुरु त एउटा बन्दी गृहको कहालीलाग्दो अन्धकारबाट भए पनि अन्त्य कुनै पराजय वा असफलतामा होइन, एउटा जिउँदो र जाग्दो इतिहासको सुनौलो बिहानीमा पुगेर टुङ्गिन्छ— जहाँ सङ्घर्ष, साहस, प्रेम, त्याग र सफलताका स्वर्णिम किरणहरूले आगतका पुस्तालाई सधैँभरि सही बाटो देखाइरहनेछन् ।
यस स्तम्भमा जीवनका अाराेह अवराेहहरू छिचाेल्दै समाजमा उदाहरणीय परिचय बन्न सफल व्यक्तिहरूकाे जीवनकथा समावेश गरिन्छ – shabdasarovar.com
Follow Us
