पारिजात कविता महोत्सव डा. नवराज केसीलाई ‘पारिजात कृति सम्मान’

-जयराम बिडारी

साउन १०, काठमाडौँ
पारिजात स्मृति केन्द्रको आयोजनामा म्हेपी, काठमाडौँस्थित केन्द्रको प्रेक्षालयमा’ पारिजात कविता महोत्सव र कृतिसम्मान, २०८३’ भव्यताका साथ सम्पन्न गरिएको छ ।

केन्द्रकी अध्यक्ष इन्दिरा दलीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रकी संरक्षक सुकन्या वाइबाको रहेको थियो । यस्तै, प्रमुख वक्ताका रुपमा डा. महेश मास्के रहेका सो महोत्सवमा डा. केशव सिलवाल र सञ्चारकर्मी लक्ष्मी रुम्बाले निर्णायकका भूमिका निभाएका थिए । सोही अवसरमा आख्यान विधाको स्वस्पर्श कृतिका लागि डा. नवराज केसीलाई पारिजात कृति सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रमकी सभापति सुकन्या वाइवाद्वारा पारिजातको जीवन-सङ्घर्ष र साहित्यिक योगदानबारे प्रकाश पारिएको थियो । उनका अनुसार बाल्यावस्थामै आमा गुमाएकी पारिजातले आमाको माया र स्नेहको अनुभव पाउन नसकेको उल्लेख गर्दै काठमाडौँमा अध्ययन गर्दा उहाँले थुप्रै अभावहरूसँग जुध्नुपरेको र वि.सं. २०२९ मा पिताको देहावसान भएसँगै उहाँको जीवनमा सङ्घर्षको अर्को शृङ्खला थपिएको बताइन् । यस्ता निरन्तरका दुःख र सङ्घर्षका बाबजुद पारिजातले नेपाली भाषा-साहित्यमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गरिएको थियो । अन्तमा, सभापति वाइवाले यस भव्य कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूलाई समुज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवं पारिजात स्मृति केन्द्रकी अध्यक्ष इन्दिरा दली तथा प्रमुख अतिथि एवं केन्द्रका संरक्षक सुकन्या वाइबाद्वारा संयुक्त रूपमा डा. नवराज केसीलाई ‘पारिजात कृतिसम्मान २०८२’ अर्पण गरिएको थियो ।

सम्मानित कृति ‘स्वस्पर्श’ का बारेमा आफ्नो मन्तव्य राख्दै प्रमुख वक्ता डा. महेश मास्केले कृतिको साहित्यिक तथा सामाजिक महत्वमाथि प्रकाश पारे । पारिजात स्मृति केन्द्रद्वारा प्रदान गरिने ‘कृति सम्मान २०८२’ का लागि निष्पक्ष रूपमा उत्कृष्ट कृतिको छनोट गर्ने क्रममा डा. नवराज केसीको ‘स्वस्पर्श’ लाई चयन गर्नाको औचित्य पुष्टि गर्ने फेहरिस्त स्पष्ट पारे ।

सोही क्रममा डा. मास्केले पारिजात स्मृति केन्द्रले यसै वर्षदेखि सुरु गरेको “कृति सम्मान” का लागि उत्कृष्ट कृति सिफारिस गर्न डा. बिन्दु शर्मा, डा. अम्रिता शर्मा र आफू समेतको तीन सदस्यीय समिति गठन गरिएको बताए । समितिलाई प्राप्त ४५ कृतिहरु बाट आठ उत्कृष्ट कृति निर्धारण गरिएको र गम्भीर छलफल र सर्वसम्मतिपछि डा. नवराज केसीको गैर-आख्यान कृति ‘स्वस्पर्श’ लाई ‘कृति सम्मान’का लागि चयन गरिएको बताए । सम्बोधनका क्रममा डा.मास्केले डाक्टर नवराज केसीले उपचारका क्रममा भेटेका मानिस,पशु-पन्छी र बोटबिरुवा समेतको कथालाई उत्कृष्टता का साथ प्रेम र करुणाका रुपमा प्रस्तुत गरेको बताए । उनले कर्णालीको यथार्थ चित्रण गर्दै समाजको तल्लो पिधमा परेका भुईंमान्छेको कथालाई मूलधारमा व्यक्त गरिएको बताए । कथामा विभेद र गरिबी भोगेका पात्रहरू जस्तै बाल्यावस्थामा बाथ पीडित जङ्ग बहादुर, यौन दुराचारमा परेका र मिटरब्याज पीडित, आदिको दुःख र सङ्घर्षलाई प्रभावकारी रुपमा उजागर गरिएको बताउँदै गैर-आख्यान भए पनि यसमा उपन्यासको जस्तै प्रवाह, मर्म र आख्यानको स्वाद अर्थात् जीवन्यासको अंश रहेको कृतिका आधारमा पुरस्कृत गरिएको बताउँदै यस्तै सार्थक सिर्जनात्मक कर्मका निम्ति डा. केसीलाई शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आफ्ना धारणा राख्दै पुरस्कृत व्यक्तित्व डा. नवराज केसीले आफ्ना कथाका पात्रहरूले सामान्य जीवनभित्रै पनि असामान्य खुसी पहिल्याउन अभिप्रेरित गरेकाले आफ्नो पुस्तक ‘स्वस्पर्श’ ले प्राप्त गरेको ‘पारिजात कृति सम्मान २०८२’ कृतिका ती तमाम पात्रहरूमै समर्पण गर्न चाहेको बताए । दोस्रो विश्वयुद्धको समयमा झैँ अहिले पनि दैनिक दुई हजारभन्दा बढी मानिस निराश भएर आत्महत्याको बाटो रोज्न बाध्य भएकोमा उनले चिन्ता व्यक्त गर्दै यस्ता विश्वव्यापी निराशा कम गर्न प्रभावकारी उपायको खोजी हुनुपर्ने उनको भनाइ थियो । नेपालमा यो अवस्था अझै भयावह रहेकाले यसलाई गम्भीरतापूर्वक विवेचना गरिनुपर्नेमा उनले जोड दिए ।
उनले बढ्दो मानसिक अशान्ति र विकारबाट मुक्ति पाउने भरपर्दो आरोग्यमार्ग नेपाली साहित्य नै भएको स्पष्ट पार्दै नेपाली साहित्यको मूल चेतनामा बौद्ध दर्शन, गीताको सार र पारिजातजस्ता कालजयी स्रष्टाको अनवरत साधना समाहित भएकाले यसले जीवन जिउन हिम्मत र प्रेरणा दिने उनको ठम्याइ थियो । तसर्थ, बालबालिकालाई विद्यालयस्तरबाटै जीवनोपयोगी साहित्य पढाउनुपर्ने, जीवनमुखी कृतिहरूको निरन्तर सिर्जना हुनुपर्ने र तिनलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन स्तरीय अनुवाद गरिनुपर्नेमा डा. केसीले जोड दिँदै सम्मानप्रति आभार व्यक्त गरे ।

नवयुवा कविता महोत्सव तथा रचना वाचन

उक्त अवसरमा युवा पुस्तामा साहित्यिक चेतना र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘पारिजात नवयुवा कविता महोत्सव’का लागि देशभरका विभिन्न विद्यालय तथा कलेजबाट दशजना प्रतिभाशाली युवा कविहरू छनोटमा परेका थिए ।
छनोटमा परेका सहभागीहरूले सो समारोहमा आ-आफ्नो कविता वाचन गरे । आ-आफ्ना रचना वाचन गर्ने क्रममा ज्योति मा.वि. बेलटार, उदयपुरबाट अनु आले,ज्ञानोदय मा.वि., काठमाडौँबाट अर्पिता शाह,ट्रिनिटी इन्टरनेसनल कलेज, भक्तपुरकी करिशा गौतमले रचना बाचन गरे । यसैगरी जनकल्याण मा.वि., काठमाडौँबाट निष्ठा निरौला, श्री कान्ति भैरव गुरुकुल, काठमाडौँबाट पुसप खरेल र बालजागृति इङ्लिस सेकेन्डरी स्कुल, मकवानपुरबाट प्रनिषा थापाले कविता वाचन गरे । सोही क्रममा ज्ञानोदय सेकेन्डरी स्कुल, काठमाडौँबाट योलिशा राणा,ज्योति मा.वि. बेलटार, उदयपुरबाट विपना खड्का,फिनिक्स स्कुल ललितपुरबाट संयुक्ता मल्ल र मनास्लु वर्ल्ड कलेज काठमाडौँबाट सिलसिला लामाले चोटिला कविता सुनाएका थिए । कार्यक्रमका निर्णायक कवि डा. केशव सिलवाल र कवि तथा सञ्चारकर्मी लक्ष्मी रुम्बाको टीमले उक्त प्रतियोगिताको नतिजा सार्वजनिक गरी उत्कृष्ट पाँच कविहरुलाई नगद राशि पदक तथा विजेताहरूलाई ‘कविता सम्मान’ अर्पण गरिएको थियो । उक्त अवसरमा अनु आले मगरद्वारा वाचित ‘यो ब्रह्माण्ड त आमा हो,करिशा गौतमको ‘जब मुर्दाहरु बोल्न थाल्छन्,निष्ठा निरौलाको ‘रोकिन्न क्रान्ति’संयुक्ता मल्लको ‘बीऊ’ र सिलसिला लामाको ‘पारिजातको सम्झनामा’ शीर्षकीय कविताहरुका लागि ‘पुरस्कार सम्मानद्वारा’ सम्मानित गरिएको थियो । भने अन्य सहभागी स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सुमी पोखरेल तथा राजु उबरकोटीले साहित्यकार पारिजातका चोटिला कविताहरु वाचन गरेर कार्यक्रमलाई थप रोचक बनाएका थिए ।

डा.बिन्दु शर्माद्वारा स्वागत मन्तव्यसहित कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विशिष्ट व्यक्तित्व, तथा नवप्रतिभाशाली युवा कवि तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।अन्तमा, सभाध्यक्ष इन्दिरा दलीद्वारा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गरिएको थियो ।

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top