-जयराम बिडारी
असोज ४, काठमाडौं
लेखक, पत्रकार तथा अनुसन्धाता महेन्द्र चालिसेद्वारा लिखित खोजमूलक कृति ‘मिथकभित्र लुकेका सत्य’ को एक विशेष समारोहका बीच लोकार्पण गरियो ।
सुरभि साहित्य प्रतिष्ठानको आयोजनामा सुन्दरीजलस्थित बीपी स्मृतिकेन्द्रमा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्व तथा साहित्यकार एवं कूटनीतिज्ञ जयराज आचार्यको प्रमुख आतिथ्यमा सञ्चालन भयो । उक्त समारोहमा रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष तथा आवरण चित्र सर्जक के.के. कर्माचार्य, प्राज्ञ तथा प्राध्यापक दिनेशराज पन्त र बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल लगायतको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जयराज आचार्यले मूर्धन्य प्रगतिशील साहित्यकार रमेश विकलको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरे । सुरभि साहित्य प्रतिष्ठानका सचिव अच्युत घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेपछि मञ्चासिन अतिथिहरूबाट संयुक्त रूपमा पुस्तकको विमोचन गरियो ।
पुस्तकमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै साहित्यकार प्रमोद प्रधानले यस कृतिलाई गम्भीर अध्ययन पश्चात् लेखिएको नेपाली साहित्य, कला र शैलीको एक अद्वितीय दोभानका रूपमा चित्रण गरे । प्रयुक्त मिथकहरू श्रुतिपरम्परामा आधारित हाम्रो मौलिक पहिचान भएको उल्लेख गर्दै उनले शून्य प्रयोगमा रहेका मिथकहरूलाई लिपिबद्ध गरिनु चाखलाग्दो र सार्थक प्रयत्न भएको बताए ।
अर्का समीक्षक रमेशप्रसाद खनालले मिथक काल्पनिक र यथार्थबीच सन्तुलन मिलाउने माध्यम भएको धारणा राखे। घटनाक्रम र परिस्थितिको व्याख्याका आधारमा मिथक स्थापित हुने भन्दै उनले सांस्कृतिक, आर्थिक र धार्मिक पक्षका अन्धविश्वासको मनोविज्ञानलाई अनुसन्धानमूलक ढङ्गले विश्लेषण गरिनुपर्नेमा जोड दिए । उनले विषयवस्तुको अत्यधिक आदर्शवादले पाठकको स्वतन्त्र विश्लेषणमा दबाब पर्न सक्ने खतरातर्फ औंल्याउँदै अनुसन्धानमूलक लेखनका लागि कृतिकारलाई शुभकामना दिए ।
वरिष्ठ समालोचक एवम् प्रतिष्ठानका संरक्षक युवराज मैनालीले लेखकको विषयवस्तुप्रतिको गम्भीरताको प्रशंसा गर्दै अनुसन्धानात्मक साधनाको दायरा अझै विस्तार हुने विश्वास व्यक्त गरे। अर्का समालोचक गोपी मैनालीले साहित्य र तथ्यको संयोजनबाट बनेका कृति कालजयी हुने भन्दै,हराउँदै गएका मिथकहरूको पुनर्जागरणमा चालिसेको योगदान इतिहासले चिरकालसम्म स्मरण गर्ने बताए ।
सम्पादक ठाकुर शर्मा भण्डारीले मिथक र साहित्यका शब्दहरू आदिम मानवको ज्ञान र कल्याणका लागि भएको र ऐतिहासिक-पौराणिक प्रसङ्ग भ्रम नभई कल्पवृक्ष भएको विचार व्यक्त गरे । दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले मिथकप्रतिको सत्य र अर्धसत्यबारे भूमिकामा सविस्तार उल्लेख गरेको बताउँदै कृतिकारलाई निरन्तर लेखनको निम्ति शुभकामना दिए ।
प्राध्यापक दिनेशराज पन्तले लेखकको खारिएको अध्ययनपछि आएको यो कृतिले पाठकलाई नयाँ स्वाद दिने बताए । ललितकला प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्यले दृश्यकला र मूर्त-अमूर्त कलाको संयोजन प्रशंसनीय रहेको उल्लेख गरे ।
बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले चालिसेको १५ औं कृतिका रूपमा यो पुस्तक आएको जानकारी दिँदै विकलको लेखन-विरासत बोकेका पात्रको कृति लोकार्पण बीपी सङ्ग्रहालय परिसरमा गर्न पाउनु गर्वको विषय भएको बताए । उनले प्रमुख अतिथिसहित कृतिकार दम्पतीलाई सम्मान समेत गरे ।
विशेष अतिथि रोचक घिमिरेले रमेश विकलसँगको पारिवारिक सम्बन्धका कारण अफ्ठ्याराका बीच पनि उपस्थित भएको स्मरण गर्दै कृतिकारलाई गुणात्मक लेखनका लागि शुभकामना दिए ।
प्रमुख अतिथि जयराज आचार्यले बीपी कोइराला र कृष्णप्रसाद भट्टराईले देश बनाउने चिन्तनका साथ बन्दी जीवन बिताएको यस ऐतिहासिक स्थानको व्यापक चर्चा हुनुपर्नेमा जोड दिए । उनले यस स्थललाई विद्यार्थीको अध्ययन-अनुसन्धान तथा साहित्य लेखनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।
कृतिकार महेन्द्र चालिसेले अध्ययन, अनुसन्धान र पत्रकारिताको अनुभवका साथै सुरभिका बाजुराम पौडेल, समीक्षक ठाकुर शर्मा र रामप्रसाद पन्तको सहयोगमा कृति तयार भएको बताए । पुस्तक पाठकको सम्पत्तिका रूपमा समर्पित गरिएको भन्दै उनले पाठकहरुबाट प्राप्त हुने यथोचित प्रतिक्रियाकै आधारमा आगामी सिर्जनात्मक यात्राको स्वरुप तय गर्ने धारणा राखे ।
रमेश विकल साहित्य प्रतिष्ठानका सचिव आलोक चालिसेले सञ्चालन गरेको सो कार्यक्रममा डा. हेमनाथ पौडेल, शङ्कर भारती, गोविन्द घिमिरे वेदमणि, श्रीओम श्रेष्ठ, डा. विप्लव ढकाल, मोहन दुवाल, बिमल अर्याल, माधवलाल श्रेष्ठ, गङ्गा कर्माचार्य, इन्दिरा चालिसे, रुबि सत्याल, प्रह्लाद पोखरेल,, नवराज चालिसे, सुवासचन्द्र पौडेल, शुकदेव उपाध्याय, अच्युत पौडेल, माधव घिमिरे ‘अटल’, दीपक भेटुवाल दीपसागर, नवीन पल्लव लगायत सयौं साहित्यिक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले प्रतिष्ठानको ६६ औं कृतिका रूपमा पुस्तक प्रकाशन गर्न पाउँदा संस्था गौरवान्वित भएको बताउँदै धन्यवाद मन्तव्यसहित सभा विसर्जन गरे ।








