काठमाडौँ
परम पूज्य आचार्य श्री विभव सागर जी महाराजको प्रेरणा तथा आशीर्वाद र दशलक्षण महापर्वको पावन अवसरमा नेपालको श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिरमा साङ्गीतिक ‘भक्ताम्बर दीप अर्चना’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। बाल ब्रह्मचारिणी रुचि दीदी (टीकमगढ) को विशिष्ट सान्निध्यमा आयोजित उक्त कार्यक्रममा श्रद्धालुहरूको उत्साहजनक सहभागिता रहेको थियो।
श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर समितिका अध्यक्ष सुभाष जैन सेठीका अनुसार, प्रभातकालीन समयमा भगवान् श्री आदिनाथ एवं भगवान् श्री पार्श्वनाथको अभिषेक, शान्ति धारा, नित्य नियम पूजन-पाठ तथा दशलक्षण महामण्डल विधानको विशेष पूजा-अर्चना गरिएको थियो।
त्यसैगरी, सन्ध्याकालीन समयमा महाआरतीसँगै ४८ वटा दीप प्रज्वलन गरी भक्ताम्बर दीप अर्चना सम्पादन गरियो। सो अवसरमा ब्रह्मचारिणी रुचि दीदीले ‘उत्तम संयम धर्म’ माथि सारगर्भित प्रवचन प्रस्तुत गर्नुभएको थियो। उहाँले आफ्नो मधुर वाणीमार्फत सम्पूर्ण धार्मिक अनुष्ठानलाई भक्तिमय र उत्साहपूर्ण वातावरणमा सम्पन्न गराउनुभयो।
कार्यक्रमको अर्को मुख्य आकर्षण साङ्गीतिक भजन सन्ध्या रहेको थियो। ललितपुरका सङ्गीतकारहरू सुरेन्द्र जी, अङ्कित जी र अनिल जीको सुमधुर स्वर लहरीमा प्रस्तुत भजनहरूले सम्पूर्ण जैन समाजका श्रावक-श्राविकाहरूलाई मन्त्रमुग्ध बनाएको थियो। उपस्थित सम्पूर्ण भक्तजनहरूले झुमी-झुमी भक्ताम्बर पाठ गर्दै आध्यात्मिक आनन्द प्राप्त गरेका थिए।
Follow Us



