स्रष्टा पदयात्रा नेपालको १०६औं श्रृङ्खला भिमानमा सम्पन्न

-जयराम बिडारी

जेठ ३,सिन्धुली
भौगोलिक अन्वेषण र सांस्कृतिक अध्ययनलाई निरन्तरता दिँदै ‘स्रष्टा पदयात्रा नेपाल’ ले आफ्नो १०६औं श्रृङ्खला सिन्धुलीको भिमानमा सम्पन्न गरेको छ ।

शहीद रघुनाथ कोइराला ट्रस्टको निमन्त्रणमा २९ जना लेखक,साहित्यकार तथा पत्रकारहरुको प्रबुद्ध टोली जेठ १ गते त्यस तर्फ प्रस्थान गरेका थिए ।

पदयात्री टोलीले भिमान क्षेत्रको चौतर्फी विकास, सहिद रघुनाथ कोइरालाको ऐतिहासिक योगदानको स्मरण र स्थानीय रैथाने संस्कृतिको सम्वर्द्धनका लागि ऐक्यबद्धता व्यक्त गरेको छ ।

पानसमा दीप प्रज्वलित गरी शहीदप्रति एक मिनेट मौनधारण गरि कार्यक्रम सुरु गरिएको थियो । कमलामाई नगरपालिका वडा नम्बर १० गौरनटोलस्थित चौतारामा आयोजित कार्यक्रममा ट्रस्टकी संरक्षक तथा शहीद रघुनाथ कोइरालापत्नी कालिकादेवी कोइरालाको अध्यक्षता,पूर्व प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेको प्रमुख आतिथ्य स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी, कमलामाई नपा १० का वडाध्यक्ष दीपबहादुर कार्की,वडा नं ९ का विनोद प्रधान सामाजिक अभियन्ता सुवास देवकोटा, सोमबहादुर हायु लगायत उल्लेखनीय मात्रामा साहित्यानुरागी र स्थानीयको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

सो अवसरमा अनिता कोइरालाद्वारा लिखित उज्यालो औंसीका बारेमा समीक्षात्मक टिप्पणी राख्दै साहित्यकार भारती न्यौपानेले गौरनटोलमा उपस्थित भइरहँदा ‘उज्यालो औंसी’ का पात्रहरूलाई आफैँले भेटिरहेको आभास भइरहेको बताइन् । उनले औंसीले अन्धकारलाई जनाए पनि जीवनका पीडा र कठीनाइहरूलाई चिर्दै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने यस उपन्यासको सजीव कथावस्तुले जीवनमा गहिरो र सार्थक प्रभाव पारेको उल्लेख गरिन् ।

सोही अवसरमा अर्का समीक्षक डा. हेम भण्डारीले ‘उज्यालो औंसी’ का विविध पक्षमाथि समाजशास्त्रीय विश्लेषण गरे । उपन्यासभित्रका नायक रघु र खलनायकका रूपमा चित्रित रङ्गनाथको समाजलाई बुझ्ने भिन्न दृष्टिकोण र उनीहरूबीचको ‘वर्चस्वको लडाइँ’ ले गर्दा नै रघुको हत्या भएको रोचक तथा मार्मिक प्रसङ्गलाई कलात्मक रुपमा प्रस्तुत गरे । भण्डारीले समाजमा व्याप्त कुसंस्कार र असमानताका बीच चेतनाको राँको बाल्न उत्प्रेरित गर्ने यस सुन्दर कृतिका लागि सर्जक कोइरालालाई बधाई दिए । साथै, उनको आगामी सिर्जनशीलता अझ समुन्नत र सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै कृतिको पूर्ण सफलताको कामना गरे।

कार्यक्रममा सिन्धुलीको ऐतिहासिक पृष्ठभूमि, कृषि र पर्यटनको सम्भावना, हायु समुदायको रैथाने संस्कृति र सहिद रघुनाथ कोइरालाको सामाजिक योगदानबारे केन्द्रित रहँदै विशेष विचारगोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्व, राजनीतिक विश्लेषक, स्रष्टा तथा स्थानीय प्रतिनिधिहरूले जिल्लाको समग्र विकासका लागि आ-आफ्नो धारणा राखेका थिए ।

सो समारोहमा सुरेश पौडेलले सहिद रघुनाथ कोइरालाको बहुआयामिक व्यक्तित्व र सामाजिक रूपान्तरणमा उहाँले खेल्नुभएको भूमिकामाथि प्रकाश पारे । कोइराला तत्कालीन सिन्धुलीको ब्राह्मण समुदायमा जन्मिएर पनि सामाजिक चेतनाको संवाहकका रूपमा बंगुर पालन सुरु गर्नु सामान्य आँट थिएन भन्दै पौडेलले कोइरालाको हिम्मतको प्रशंसा गरे । साथै, हाटबजार सञ्चालन, शिव मन्दिर निर्माण, मिल स्थापना तथा यातायातका क्षेत्रमा कोइरालाले पुर्‍याएको योगदानले सिन्धुलीको सामाजिक, शैक्षिक र कृषि क्रान्तिमा अतुलनीय भूमिका खेलेको चर्चा उनले चर्चा गरे ।

स्थानीय बुद्धिजीवी तथा समाजसेवी सागरमणि पौडेलले सुरुमा भीम आलेले बस्ती बसाउन थालनी गरेकोले यसको नाम ‘भिमान’ रहन गएको बताए । “भिमान बजारको इतिहास, वर्तमान र भविष्य” विषयक प्रसंगमा बोल्दै उनले विगतमा माझी र दनुवार जातिको मुख्य थलो रहेको भिमान, औलो उन्मूलनको सफलतासँगै बेँसीतर्फ विस्तारित भएको जानकारीदिए । इतिहासको त्यो कालखण्ड सम्झँदै उनले विगतमा भिमानवासीले सिन्धुली जानका लागि मात्रै कमला नदीलाई २३–२४ ठाउँमा तर्नुपर्ने कहालीलाग्दो र कठीन यात्रा भोग्नुपरेको स्मरण गरे । तर, समय बदलिएको र वर्तमानमा भिमानले विकासको कोल्टे फेरेको बताउँदै आज यहाँ गुणस्तरीय विद्यालय, कलेज, बैंकिङ सेवा र सुलभ यातायात जस्ता सम्पूर्ण सुविधाहरू स्थापित भइसकेको चर्चा गरे ।

साहित्यकार भवानी खतिवडाले सिन्धुली र कृषिको सम्बन्धबारे प्रकाश पार्दै जनकपुरको रातोढिकमा वेणुगोपाल गौडबाट कृषि क्रान्तिको सुरुवात भएको स्मरण गर्दै भिमानबासीलाई कृषिजन्य लाभका विषयमा प्रकाश पारिन् । यसैगरी स्रष्टा सावित्री श्रेष्ठका अनुसार “मरेर पनि बाँच्न सक्नु नै मानिसको सार्थक कर्म हो । रघुनाथ कोइराला आज भौतिक रूपमा नरहे पनि आफ्नो सत्कर्म र समानताको आवाजका कारण अमर हुनुहुन्छ भन्दै उनकै सुपत्री अनिता कोइरालाले दिवंगत पिताका सत्कर्म लाई साहित्यको माध्यमबाट उजागर गरेकी कारण आज यो गौरनटोलको को चौतारो पनि धन्य भएको बताइन् ।

उक्त अवसरमा स्रष्टा पदयात्री मन्दिरा मधुश्रीले स्रष्टा पदयात्रा नेपालका गतिविधिबारे प्रकाश पारिन् । यसैगरी हिमाल विज्ञ तथा प्रसिद्ध नियात्राकार प्रतीक ढकालले परमेश्वरले मानवलाई पृथ्वीमा यथेष्ट भ्रमण गर्न पठाएको यहुदी धर्मको प्रसंग उल्लेख गर्दै आफूले कत्तिको भ्रमणको वर्णन गर्न सकिन्छ त्यसमै पर्यटन प्रवर्द्धन र मानव जीवन सार्थक रहन सक्ने उल्लेख गरे । उनले ऐतिहासिक कालखण्डमा साम्राज्यवादी अंग्रेजलाई हराएर गौरवपूर्ण इतिहास निर्माण गरेको सिन्धुलीले प्रत्येक ढुंगाका टुक्रालाई ब्राण्डिंग गर्न सक्नुपर्ने कुरामा जोड दिए । साथै सवैभन्दा बढी जिल्लासंग सिमाना जोडिएको सिन्धुलीले त्यसलाई पनि समृद्धिको रुपमा प्रयोग गर्नका लागि उपाय सुझाए ।

सो समारोहमा सहिद रघुनाथ कोइरालाले सामाजिक रूपान्तरणमा खेलेका भूमिकाका बारेमा बोल्दै सुरेश पौडेलले सहिद रघुनाथ कोइरालाको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारे । उनले सिन्धुलीको ब्राह्मण समुदायमा जन्मिएर पनि सामाजिक चेतनाका सम्वाहकका रुपमा तत्कालीन समयमा बंगुर पालन गर्नु तानचुने हिम्मत होइन भन्दै कोइरालाले हाट बजार संचालन ,मन्दिर निर्माण, मिलको स्थापना तथा यातायातका क्षेत्रमा पुर्याएको सिन्धुलीको सामाजिक, शैक्षिक, र कृषि क्रान्तिमा पुर्‍याएको योगदान अतुलनीय रहेको चर्चा गरे ।

सोही क्रममा स्थानीय अभियन्ता सुवास देवकोटाले कृषिका लागि अनुकूल भूमि र उत्पादनका प्रचुर सम्भावनाहरूका कारण सिन्धुली खाद्यान्नमा आत्मनिर्भर मात्र नभई व्यापारिक बिक्री-वितरणका लागिसमेत सक्षम जिल्ला रहेको प्रष्ट्याए । । खनियाखर्क र तिनकन्या जस्ता क्षेत्रहरू जुनार उत्पादनका लागि मुख्य ‘पकेट क्षेत्र’ रहेको उल्लेख गर्दै उनले गौरवमयी इतिहास बोकेको सिन्धुली कमला नदीका कारण सिँचाइको दृष्टिकोणले समेत अत्यन्त सबल रहेको बताए ।
यसैगरी, हाल भग्नावशेषमा परिणत भएको ऐतिहासिक रानीचुरीबाट मनमोहक सूर्योदय अवलोकन गर्न सकिने र मौसम खुलेका बेला जनकपुरको प्रसिद्ध जानकी मन्दिरको झिलिमिलीसमेत सहजै देखिने हुनाले यस क्षेत्रमा पर्यटनको ठुलो सम्भावना रहेको उहाँको भनाइ थियो। यस्तो स्वर्णिम सम्भावना र सामर्थ्य बोकेको जिल्लाले अन्य निकायसँग सहयोगको याचना गर्नुभन्दा आफ्नै स्रोत र साधनको परिचालन गरी आत्मनिर्भरतातर्फ पाइला चाल्नुपर्नेमा जोडदिए । यसैगरी सोमबहादुर हायुले पूर्खाका ऐतिहासिक प्रसंगहरुको उल्लेख गर्दै लोपेन्मुख जातिका कला संस्कृति सभ्यता जोगाउनुपर्नेमा जोड दिए ।

सोही क्रममा दीपक अर्यालले देशबाट युवाशक्ति दिनानुदिन पलायन भइरहेको चिन्ताजनक प्रसंग उल्लेख गर्दै स्वदेशमै रोजगारी प्रवर्द्धनका लागि सीपमूलक शिक्षा र तालिममा जोडदिए । हाम्रो देशमा सामान्य र मामुली ठानिएका कामहरू गरेर पनि छिमेकी मुलुकका नागरिकहरूले यथेष्ट आम्दानी गरिरहेको यथार्थ औंल्याउँदै उनले सिर्जनशील र शिल्पी हातहरू कहिल्यै बेरोजगार बस्नु नपर्ने धारणा व्यक्तगरे ।वडाध्यक्ष दीपबहादुर कार्कीले स्वस्थ शरीर सकारात्मक चिन्तन र अभियान अनि परोपकारी कर्म स्रष्टा पदयात्रीको पहिचान रहेको उल्लेख गरे । यसैगरी वडा नम्बर ९ का वडाध्यक्ष विनोद प्रधानले कतिपय योजनाहरु सम्बन्धित समुदाय सम्म पुग्न नसकेकोमा दुख मान्दै आफू सो को लागि प्रयत्नशील रहेको बताए ।
सो अवसरमा स्रष्टा पदयात्री खोलाघरे साहिंलो घनश्याम प्रसाईं,दुर्गा भवानी भट्ट,शम्भु गजुरेल भवानी खतिवडा वासु,पौड्याल लगायतले कविता वाचन गरेका थिए । भने डा. बालचन्द्र मिश्रले हास्य प्रधान प्रसंग सुनाए । महासचिव गङ्गाप्रसाद भेटवाल द्वारा सहजीकरण गरिएको कार्यक्रममा उत्तम कोइरालाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा ‘उज्यालो औंसी’ उपन्यासकी उपन्यासकार अनिता कोइरालाले केवल अक्षरको खेती गर्दैमा कोही साहित्यकार बन्न नसक्ने धारणा व्यक्त गरिन् । आफ्ना पिता रघुनाथ कोइरालाले आधिकारिक रूपमा कुनै पुस्तक वा काव्य सृजना नगरे तापनि समाजप्रतिको निष्ठा र कर्मका कारण उहाँ कुनै महाकाव्यकारभन्दा कम नरहेको उल्लेख गरिन् ।
समाजको हित र रूपान्तरणका लागि पिताले पुर्‍याउनुभएको सार्थक योगदानकै कारण आज दर्जनौं साहित्यकार, लेखक, पत्रकार, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको जनसागर उर्लिएको भन्दै भावुक भएकी कोइरालाले यस्तो विशाल र आत्मीय उपस्थिति देखेर आफ्नो खुसी थाम्न हम्मे-हम्मे परेको बताउँदै उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरिन ।

समारोहमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष तथा लोकवार्ताका परिषदका अभियानी दर्शनका मर्मज्ञ तन्त्र विज्ञ शीतल गिरीले हाम्रा धर्म संस्कृति कला र परम्पराको समुचित संरक्षण र जगेर्ना गर्नुपर्ने मन्तव्यका साथ सभा समापन गरिएको थियो ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top