लन्डनमा भानु र ईश्वर जयन्ती भव्य रूपमा सम्पन्न: सुप्रमा–ईशप्रमा पुरस्कार वितरण तथा तीन कृति लोकार्पण

लन्डन, ११ जुलाई २०२६

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाको आयोजनामा लन्डनस्थित ‘टेस्ट अफ पर्सिया’ रेस्टुरेन्टमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा २१३औँ भानुभक्त आचार्य जयन्ती तथा ९५औँ ईश्वर प्रसाद मानन्धर जयन्ती मनाइनुका साथै ‘सुप्रमा–ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ समर्पण र तीन नयाँ कृतिको लोकार्पण समेत गरियो ।

समारोहमा डा. रूपक श्रेष्ठद्वारा लिखित दुई मुक्तक सङ्ग्रहहरू ‘चौशूल’ र ‘पोक्तक’ तथा सुमल कुमार गुरुङद्वारा लिखित युद्ध उपन्यास ‘कर्मवीर’ को संयुक्त रूपमा लोकार्पण गरिएको थियो ।

उक्त कार्यक्रममा अनेसास बेलायत शाखाका अध्यक्ष राज श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मिडिया प्रबन्धक कुमार केसीले गरेका थिए । उनले डा. रूपक श्रेष्ठको नवप्रकाशित कृति ‘चौशूल’ का केही मुक्तकका हरफहरू वाचन गर्दै कार्यक्रमको सुरुआत गरेका थिए । अनेसास तथा नेप्रमु युकेकी उपाध्यक्ष प्रतिमा केसी ‘प्रवासी’ ले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरूमा प्रा. डा. देवी प्रसाद सुवेदी तथा प्रा. डा. सूर्य प्रसाद सुवेदी (OBE) रहनुभएको थियो । विशेष अतिथिहरूमा पूर्व सुप्रमा पुरस्कार विजेता तथा प्रतिष्ठित स्रष्टाहरूको उपस्थिति थियो । कृष्ण बजगाईँ (कवि, नियात्रा तथा आख्यानकार), प्रतिमा केसी ‘प्रवासी‘ (मुक्तककार, पत्रकार तथा उपाध्यक्ष, अनेसास/नेप्रमु युके) डा. सुमाया राई (कवि तथा साहित्यकार),केदार सङ्केत (कवि तथा यात्रास्पर्शकार), माया गुरुङ (कवि, समाजसेवी तथा उपाध्यक्ष, अनेसास),प्रा. डा. चाड म्यानियन रहनु भएको थियो ।

कार्यक्रममा कवि, साहित्यकार तथा समाजसेवी सुमल कुमार गुरुङले आदिकवि भानुभक्त आचार्यको ‘घाँसी’ कविताको चर्चा गर्दै नेपाली साहित्यमा उनको योगदान र स्व. ईश्वर प्रसाद मानन्धरप्रति श्रद्धासुमन अर्पण गर्नुभयो ।

सो समारोहमा ‘सुप्रमा–ईशप्रमा अन्तर्राष्ट्रिय पुरस्कार २०२६’ समर्पणका क्रममा डा. रूपक श्रेष्ठले पुरस्कारको पृष्ठभूमि, स्व. ईश्वर प्रसाद मानन्धरको साहित्यिक योगदान, उद्देश्य र स्थापना कालदेखि आजसम्मको मार्गचित्र (रोडम्याप) माथि विस्तृत प्रकाश पार्नुभयो ।

विशिष्ट अतिथि प्रा. डा. सूर्यप्रसाद सुवेदी (OBE) ले आफ्नो शुभकामना मन्तव्य राख्दै यस वर्षको पुरस्कारबाट सम्मानित व्यक्तित्व प्रा. डा. देवी प्रसाद सुवेदीको लेखकीय आयाम र उनको साहित्यमा वेदहरूको ज्ञान तथा प्रभावबारे चर्चा गर्नुभयो । साथै, उहाँले अनेसास बेलायत शाखाले नेपाली भाषा र साहित्यको उत्थानका लागि पुर्‍याएको अतुलनीय योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा भाग लिनका लागि साहित्य प्रेमी तथा मुक्तककार भोजराज नेपाली लन्डनबाट २५ किलोमिटर साइकल यात्रा तय गरेर कार्यक्रममा सहभागी भएका थिए, जसलाई कार्यक्रममा विशेष चासोका साथ हेरिएको थियो।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top