धनसम्पत्ति सकिएपछि बल्ल रमाउन पाएँ

अमर अधिकारी ‘कीर्तिमानी’

यो लेखको शीर्षक देख्दा बित्तिकै कतिपय पाठकहरु अलमलमा पर्नुहुन्छ होला सायद। किन कि मान्छेले धेरै धनसम्पत्ति कमाएपछि मात्र रमाउँछ भन्ने मान्यता हाम्रो समाजमा व्याप्त छ। प्रायःजसो मानिसले जीवनमा धेरै धनसम्पत्ति कमाउँला र मजाले रमाउँला भनेर सोँच राखेको हुन्छ। तर धेरै धनसम्पत्ति कमाउँदै गएपछि उसमा आवश्यकताभन्दा बढी महत्वाकांक्षा पलाउदै जान्छ र उसका आवश्यकता कहिल्यै पनि पूरा हुँदैनन्। कतिपय मान्छेहरु त धनसम्पत्ति थुपार्दाथुपार्दै त्यसको लेखाजोखा नै विर्सिन्छ र झनपछि झन सम्पत्ति कमाउने धुनमा रहिरहन्छ जीवित रहुञ्जेल, त्यसमा पनि शारीरिक र मानसिक शक्ति छउञ्जेल। प्रचलित उखानमा ‘धन देखेपछि महादेवको पनि तीन नेत्र खुल्छ’ भनिएको छ, झन मान्छेको त के कुरा? धन भनेको मान्छेलाई ऐयासी वा विलासी बनाउने एउटा साधन मात्र हो भन्ने कुरा कमैले मात्र बुझेका हुन्छन्। धनैधनले भरिपूर्ण मान्छे रमाएको खासै देखिदैनपनि। किन कि उसलाई अझ धेरै धन कमाउने हुटहुटी चलिरहेको हुन्छ,रातदिन त्यसैका बारेमा सोचिरहन्छ। रमाउने समय छुट्याउन नसक्दा कसरी रमाउन सक्छ ऊ?

साहित्य क्षेत्रमा लागेका राष्ट्रसेवकहरुमा लोभ लालच हुँदैन भन्ने कुरा मैले बुझ्दैआएको छु र म पनि त्यसै वृत्तमा परेको थिएँ। जो कर्मचारी कार्यालय समय अघिपछि फुर्सदमा सिर्जनाका काममा लागिरहन्छ उसमा लोभ पलाउने मौका नै पर्दैन। धनमुखी कर्मचारीले फुर्सद पाउँदा बित्तिकै कसरी धनी बन्ने रकसरी सुखी बन्ने भन्ने सोँच राख्दछ र वैध-अवैध जुनसुकै तवरबाट पनि उसले धनप्राप्तिका लागि अनेक योजना बनाउँछ र ऊ आकर्षक निकाय वा कार्यालयमा सरुवा भएर जानका लागि अनेक तिकडम गर्दछ। 

आफ्नो पहिलो कथा प्रकाशन भएपछि कम रमाएँ

२०५३ सालको गोरखापत्रमा ‘भाग्य र कर्म’ शीर्षकको मेरो कथा प्रकाशन भएपछि मलाई त्यतिबेला खासै खुशी लागेको थिएन र साहित्यका बारेमा महत्व त्यति बुझेको थिइनँ। तर त्यो कथा प्रकाशन वापत पारिश्रमिक पाँच सय रुपियाँ पाउँदा चाहिँ म दंग थिएँ। त्यो कथा एकजना भ्रष्ट कर्मचारी र इमानदार कर्मचारीबीच तुलना गरेर रचिएको थियो। बराथा अर्थात बलराम थापाको चित्रले सजिएको मेरो सो कथा छापिएको गोरखापत्र अझै पनि मेरो प्लास्टिक फाइलमै सुरक्षित छ। त्यतिबेला मैले नाम भन्दा पनि दामलाई महत्व दिएँ, किन कि काठमाडौँको महंगीमा त्यो समय पाँच सय रुपियाँ ठूलो ठानिन्थ्यो। कतिपय कर्मचारी साथीहरु काठमाडौँको महंगीबाट मुक्ति पाउनका लागि घरपायक सरुवा गराएर गए। कसैकसैले मलाई सल्लाह दिन्थे पनि घरपायक मिलाएर जानका लागि। आ.व. २०५७।५८ को बजेट भाषणबाट कर्मचारीहरुको तलव ह्वात्तै बढाइएपछि कर्मचारीहरुमा उत्साह छाएको थियो। सो आ.व. अघि मेरो तलव भनेको साढे सत्ताइस सय पनि थिएन। सो आ.व. देखि हाम्रो श्रेणीको तलब उनान्चास सय पुर्‍याइएपछि मलगायतका खुशी नहुने कुरा पनि थिएन। काठमाडौँमा एउटा सामान्य जागिर गरेर दैनिकी गुजार्नु भनेको असम्भव जस्तै थियो। त्यतिबेला काठमाडौँको महंगीमा रहनु भनेको कर्मचारीको हकमा सजाय पाए सरह हुन्थ्यो। व्यापारव्यवसायलाई भन्दा जागिरलाई कमजोर पेशा ठानिन्थ्यो त्यो समयमा।कसैकसैले ‘उत्तम खेती-मध्यम व्यापार-खत्तम जागिर पनि भन्दथे। कुनै बखतवरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठको गीत पनि बज्दथ्यो- “जागिरदारलाई झनझन बाँच्न कठिन भो” बोलको।

पहिलो कविता प्रकाशन भएपछि रमाएँ

२०६० अघि कान्तिपुरमा ‘हाम्रो गाई व्यायो’ शीर्षकको मेरो बालकविता प्रकाशन भएपछि रमाएको थिएँ भने कान्तिपुरमै प्रकाशित आफ्नै बालकविता‘हाम्रा बाजे’ एकजना स्कुले विद्यार्थीले अन्नपूर्णपोस्टमा चोरी प्रकाशन गरेपछि पनि रमाएँ। किन कि मेरो कविता उत्कृष्ठ ठहरिएको भएर न चोरी भयो, मैले यसरी बुझेँ।

कवितासङ्ग्रह प्रकाशन भएपछि रमाएँ

मेरो पहिलो कृति बालकवितासङ्ग्रह ‘इन्द्रेणी’ २०६१ सालमा प्रकाशन भएको थियो। आफ्नो पहिलो कृतिको जन्म भएकोमा नरमाउने कुरा थिएन। २०६० सालअघि मैले बालकथा तथा बालकविताहरु पनि लेख्दै आउँदा र प्रकाशन हुँदै जाँदा आफूले पाउने पारिश्रमिकले पनि काठमाडौँको महंगीमा भरथेग गरेकै थियो।

जीवनी पुस्तक प्रकाशन भएपछि रमाएँ

२०८१ पुस १५ गते मा डा. घनश्याम पुडासैनीको लेखन र सम्पादनमा प्रकाशित ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पुस्तक लोकार्पण भयो। आफ्नो जीवन पुस्तक प्रकाशन भएपछि नरमाएको भन्न मिल्दैन। पुस्तकमा चित्रित, अकित र वर्णित पहिलो रोल्पाली सायद म नै हूँ जस्तो लाग्छ।

लेख भाइरल भएपछि रमाएँ

२०८१ साउन १८ गते एक अनलाइन मिडियामा प्रकाशित ‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको मेरो लेख इलामदेखि डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरुले साभार प्रकाशन गरेको देख्दा मलाई लाग्यो यो पनि मेरा लागि ठूलो उपलब्धि हो। कुनै एक विद्यालयले सो लेख हाम्रो सूचना पाटीमा टाँसौँ भनेर सहमती मागेपछि मैले नाइँ भन्ने कुरा थिएन।

‘सुपर राइटर’ को उपाधि पाएपछि रमाएँ

२०८१ माघ ५ मा मलाई बुढानिलकण्ठको सिर्जनशील टोल विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपिन्द्र पौडेलकोहातबाट ‘सुपर राइटर’ को उपाधि पाउँदा खुशी भएको थिएँ भने कार्यक्रमलाई सम्बोधन गर्दाका बखत उहाँले मलाई ‘तुफानी लेखक’ को उपनाम पनि दिनुभएको, त्यस्तै मेरो जीवनी पुस्तक लेखक डा. घनश्याम पुडासैनीले आफ्नो मनतव्यमा मलाई ‘आसुसहित्यकार’ को उपनाम दिनुभएको थियो।

‘प्रेमनारायण–सावित्रा–हेमकुमारी प्रज्ञापुरस्कार’ पाएपछि रमाएँ

राप्ती साहित्य परिषदले २०८२ बैशाखमा मलाई ‘प्रेमनारायण-सावित्रा-हेमकुमारी प्रज्ञापुरस्कार २०८१’ बाट सम्मान गरेपछि मझनै खुशी भएको थिएँ। नगद पुरस्कार सहितको सम्मान पाएपछि साहित्य-लेखनतर्फ ममा दायित्व थपिनुका साथै अझ उत्साह नबढ्ने कुरा पनि भएन।

सन्देशमूलक गीत सार्वजनिक भएपछि रमाएँ

२०८३ असार ३ गते होटेल सोल्टीको सभाहलबाट मेरो शब्दको र बुलु मुकारुङको संगीतको यातायात गीत ‘बसमा सरर…’ सार्वजनिक भयो। मेरो र गीत रेकर्डिङ समूहको एक पैसा पनि खर्च नपर्ने गरी गरिएको सो सन्देशमूलक गीत सार्वजनिक गरिदिएकोमा म नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभारी छु। साथै बग्गीखानाले पनि सो गीतका लागिमलाई समर्थन सहित सहयोग गरेको छ। नेपालभरका यात्रुवाहक सवारी साधनहरुमा सो गीत बजेको खण्डमा र चालक-सहचालक अनि यात्रुहरुको मानसिकतामा परिवर्तन भएमा त्यो नै मेरा लागि करोड कमाए बराबर हुनेछ।

साठी कटेसी रमाएँ

‘चालीस कटेसी रमाउँला’ बोलको गीत एकताका निकै बज्ने गरेको थियो। मेरो हकमा भने चालीस त होइन साठी कटेसी रमाएँ। २०७९ मा मैले निजामती सेवाबाट अनिवार्य अवकाश पाउँदा ५८ वर्षको उमेर थियो भने सोही वर्षमा मेरो मूल रचना रहेको आफ्नै गाउ-ठाउँ र नदी-नाला चित्रण गरिएको १४ मिनेट ४६ सेकेण्डको ‘साइँली सलल…’ गीत रेकर्डिङ भएर बजारमा आयो। २०८० मा मेरो दोस्रो कृतिको रुपमा आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ प्रकाशन भयो। सो पुस्तकलाई ‘मोबाइलमा कोरिएको पहिलो आत्मकथासङ्ग्रह’ भनेर समाचार पनि आयो। विगतका अर्थात् बाल्यकालदेखिका आत्मवृतान्तहरु मैले फेसबुकमै शृंखलावद्ध रुपमा सम्प्रेषण गर्दैआएकोमा साथीभाइहरूको सल्लाहमा ती आत्मकहानीहरुले पुस्तकाकार पायो। ‘ओगिल्जा’ पुस्तकले मलाई केही उचाइमा पुर्‍याइदिएको महसुस पनि भयो। लगत्तै मेरै संकलन र सम्पादनमा राप्ती भेगका रैथाने शब्दहरुको कोश (भाषिका) पनि प्रकाशन भयो। आधा दर्जनको हाराहारीमा साहित्यिक पत्रपत्रिका तथा अनलाइन मिडियाहरुले मेरो जीवनीहरु प्रकाशन गर्दै आए भने आठवटा टेलिभिजन-रेडियो-कागजी पत्रिका तथा अनलाइन मिडियाहरुले मेरा अन्तर्वार्ताहरु लिए। साठी वर्षको उमेरमा साहित्य-लेखनका क्षेत्रमा मैले उल्लेखनीय उपलब्धिहरु हासिल गरेँ। उमेरले साठी कटेपछि धेरैजना स्रष्टाहरुसँग निकट रहेँ र धेरै साहित्यिक संस्था तथा मिडियाहरुसँग नजिक भएँ। २०७९ असारमा अवकाशपछि साहित्य तथा लेखन क्षेत्रमा एकाएक सक्रियता अपनाउँदा शुभचिन्तकहरु अचम्ममा पर्नुभयो र “लुकेको प्रतिभा अवकाशपछि पो देखिन थाल्यो” भन्न थाल्नुभयो। जागिर सकिएपछि मेरो शब्दभण्डार उजागर हुँदै गयो। साथीहरुले “जागिरमा छउञ्जेल तपाईँ यस्तो त लाग्दैनथ्यो” पनि भन्नुभयो। जे होस् साहित्य-लेखनले मलाई बढी परिचित बनायो। नेपाल प्रज्ञाप्रतिष्ठानबाट मैले लेखक तथा साहित्यकारको परिचयपत्र प्राप्त गरेपछि धेरैले मलाई त्यसको प्रक्रियाका बारेमा सोध्नुभयो र मपछि धेरैले परिचयपत्र लिनुभएको देखिन्छ।

अध्ययन र दुईथरि जागिरको दौरानमा करिब त्रिचालिस वर्ष काठमाडौँमा बिताउँदा मैले गाउँमा हाइवे अर्थात् पिच बाटोमा जोडिएको मूल्यवान जग्गाहरु पटकपटक सस्तो मूल्यमा बिक्री गर्नुपरेको थियो। मेरो लालपूर्जा हेर्ने हो भने गाउँमा एकरोपनी घाँसे मैदान, बाटोले नछोएको चारपाँच हजार रुपियाँ पर्ने दुई आना बारी र बाटो बिस्तारले भत्काउनेवाला आधा घर छ। मेरो लालपूर्जा अनुसार मेरो सम्पत्ति सून्यप्रायः नै छ। यता काठमाडौँमा साहित्य-लेखनका क्षेत्रमा एकपछि अर्को सफलता पाउदा मलाई सम्मान,पुरस्कार तथा लाखौँ शब्द अनि मेरा कृतिहरु नै मेरा सबैभन्दा ठूला सम्पत्ति हुन् जस्तो लाग्दछ। मेरा लेखहरुले राष्ट्रियस्तरमा पारेका सुधारात्मक प्रभावहरु पनि ठूला सम्पत्ति हुन्। प्राज्ञहरु तथा साहित्यिक संस्थाहरुबाट पाउदैआएको माया-स्नेह पनि सम्पत्ति नै ठानेको छु। मिडियाहरुबाट महत्वकासाथ प्रकाशित मेरा लेख-रचनाहरु पाठकहरुले रुचाइदिने कामलाईमहत्वपूर्ण सम्पत्ति भन्दा फरक पर्दैन। अरुहरु जागिर खाएर सम्पत्ति जोड्छन् भने मेरो हकमा त्यसको ठीक विपरित भएको छ। मैले जागिर खाएर भएकोपैत्रिक सम्पत्ति गुमाउदै गएपछि रमाउँदैछु। धनसम्पत्तिले रमाउने वातावरण दिँदैन भन्ने मेरो बुझाइ छ। धनसम्पत्तिका कारण मान्छे रमाउदछ भन्नु मैले उपयुक्त ठान्दिनँ। सन्तोष सबैभन्दा ठूलो सम्पत्ति हो।

Follow Us
3Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top