
शारीरिक मोह भन्दा माथि उठेर गरिएको यो जोडीको प्रेमलाई पढिरहँदा मेरो मनमस्तिष्कमा एकैपरिवेशका, एकै माटोका नेपाली युवायुवतीको अन्तरजातीय प्रेमसम्बन्धका दुखान्त घटनाहरू झलझली याद आइरहे । साँच्चै नेपाली समाजको चेत थोरै भएपनि जातिवाद भन्दा बाहिर निस्केर मानववादमा लागेको भए कस्तो हुन्थ्यो होला है !
कृतिः अपूर्वा, विधाः उपन्यास, कृतिकारः रुबि सत्याल
कसैको जीवन रूपान्तरणको मेलो अकल्पनीय रूपमाघटित हुने ससाना घटनाक्रमहरूको संयोजनले निर्धारण गर्दोरहेछ क्यारे । यस्ता घटनाक्रमहरुको संयोजन हुनलाई पनि उचित मुहुर्त जुर्नुपर्छ होला । यदि जापानको इकेबुकुरो ट्रेनस्टेशनमा रेलबाट ओर्लदैँ गर्दा एउटा नेपाली कामदार केटो कसैको खुट्टामा अल्झिएर नलडेको भए नेपाली वाङ्मयमा “अपूर्वा” कहाँ जन्मन्थ्यो होला र?
कविता कृति अछूत जून लिएर साहित्य क्षेत्रमा आफ्नो दमदार उपस्थिति जनाएकी कवि रुबि सत्यालले पाठकलाई अपूर्वा उपन्यास थमाएर आफुलाई वहुविधामा कलम चलाउने लेखकको रूपमा उभ्याएकी छन् ।
यो उपन्यासलाई आमपाठकको रूपमा एकसरो निफनि सकेपछि भने यस कृतिमाथि प्रशंसा र केही प्रश्नहरू गर्ने धृष्टता गरेको हुँ । खासगरि यस कृति पढिरहँदा मैले नियालेका केही पक्षहरू हुन् कृति कत्तिको सरल सहज ढंगले बगेको छ ? पढ्दै जाँदा पाठक अल्मलिनु परेको छ कि छैन ? कृतिले समाजको चित्रण गर्यो कि गरेन?समाजका विकृति विसङ्गतिका विरुद्ध यो कृति कत्तिको बोल्यो ? केवल शब्दहरुको उरूङ मात्र पो ओथारो बसे कि?
यस कृतिमा कथावस्तुको रौँचिरा केलाउन भन्दा पनि कृतिले दिन खोजेको मूल सन्देश के हो भन्ने मेरो चासोको विषय रहेको हो । उपन्यासले फरक परिवेश मात्र नभई फरक देशमा हुर्केका पात्र श्रीजल र हानाको प्रेमसम्बन्धलाई आदर्शप्रेमको रूपमाउभ्याउँदै संयोगान्त टुङ्गोमा पुर्याएको छ । शारीरिक मोह भन्दा माथि उठेर गरिएको यो जोडीको प्रेमलाई पढिरहँदा मेरो मनमस्तिष्कमा एकैपरिवेशका, एकै माटोका नेपाली युवायुवतीको अन्तरजातीय प्रेमसम्बन्धका दुखान्त घटनाहरू झलझली याद आइरहे । साँच्चै नेपाली समाजको चेत थोरै भएपनि जातिवाद भन्दा बाहिर निस्केर मानववादमा लागेको भए कस्तो हुन्थ्यो होला है ! श्रीजल र हानाको सफल प्रेमकथाले म भित्र जन्माएको चिन्तन हो यो ।
आफ्नो माटो र मातृभूमि प्रति अगाध ममता हुँदाहुदै पनि जीविकोपार्जनको निमित्त परदेशिनु परेका युवा जमातको प्रतिनिधि पात्र श्रीजल अनेक अप्ठ्याराहरुसंग जुध्दै गर्दा पनि इमान्दारिता नगुमाएको कुशलपात्र हुन् । जसले परदेशी भूमिमा पनि सम्मान प्राप्त गरे अनि आफ्नो प्रेम पनि । यहाँनेर हानाको योगदान, र त्यागको चर्चा जतिगरे पनि कमै हुन्छ ।
कुल ३६ भागमा समावेश गरिएको यो उपन्यासमा नेपाली समाजले नारी प्रति गर्ने दुष्कृत्य चित्रण गरेको छ । भने अर्कोतिर जापानीमुलकमा नारीहरू कति सशक्त छन् र त्यो समाजमा पुरुषले पीडित छन् बिचरा…पुरुष भएकाछन्। जहाँ जुन पक्ष शक्तिशाली छ त्यहाँ कमजोर पक्ष हेपिएको छ,थिचिएको छ । जापानी कम्पनीकी मालिकले कामदार पुरुषमाथि गरेको दुव्र्यवहारले पुरुष पात्र कति निरीह बनेका छन् भन्ने कुरा उपन्यासमा छर्लङ्ग पारिएको छ।
कृतिकारले उपन्यासको केन्द्रमा श्रीजल र हानालाई नायक पात्रको रूपमा उभ्याए पनि अन्तरकथाको सबैभन्दा शक्तिशाली पात्र चाहिँ श्रीजलकी आमा हुन् मेरो दृष्टिमा । जो आवाज विहिन नारी हुन् । आजपनि हाम्रो समाजमा विकृत मानसिकता बोकेका पुरुषहरू आफ्नो यौन भोक मेटाउन जुनसुकै हदसम्म गिर्न सक्दछ । यतिसम्म कि आफ्नो भोक मेटिसकेपछि हत्या गरिन्छ । सशक्त प्रतिवाद गर्न सक्दैनन्, आत्मारक्षा गर्न सक्दैनन् । बलत्कार शिकार बनेका विवश नारी कि मारिन्छन् कि त स्वयम् मर्दछन् अर्थात् आत्महत्याको बाटो रोज्न बाध्य छन् । न्यायिक निरुपण नभएका यस किसिमका दर्जनौं घटनाको ठेली अदालतको दराजमै थन्किएरहेका होलान् भने यी यौन पिपासुहरू खुलेआम डुलिरहेका होलान् ।
यद्यपी श्रीजलकी आमा ती शक्तिशाली पात्र हुन् जसले आफूलाई शोषण गर्ने कुपात्रको अन्त्य गरिदिएकी छन् । यतिमात्र होइन उनी त्यस्ति पात्रको रूपमा उभिएकि छन् जसले आफ्नो कोखमा आइसकेको सन्तानलाई जन्मदिनुपर्छ भन्ने सोचले श्रीजल जन्माइन जेल भित्रै । एकल नारी त्यसमा पनि बन्दी जीवन । सन्तान हुकार्उनु बढाउनु पक्कै सजिलो थिएन । त्यसमा पनि निधारमा हत्यारा जस्तो कलङ्कको टिका लगाएर । सामाना गरिन् सवैकुराको । ध्यानमार्गमा लागिन् आफुलाई तपस्विनीको रूपमाउभ्याइन् । जेलभित्रै श्रीजल जन्मिए । कमैव्यक्तिले पाउने अवसर उनले प्राप्त गरे । सरकारले कामदारको रूपमाजापान पठायो । नारीले चाहे भने जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न सक्छिन् आफुमाथि भएको अन्यायको बदला लिन सक्छिन् भन्ने गतिलो प्रमाण दिएकी छन् श्रीजलकी आमाले । न्यायिक सिद्धान्तको आधारमा आत्मरक्षाको निम्ति गरिएको प्रहारमा अपराध करार हुदैन तर त्यो समाजले यी अबलालाई दोषी करार गरि छाड्यो उनलाई जेल जीवन बिताउन बाध्य गरायो ।
सायद कृतिकार स्वयम् नारी भएर होला यस उपन्यासमा नारी पात्रलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । चाहे ती पात्र श्रीजल कि आमा हुन् या हानाकी हजुरआमा । यसो त यस उपन्यासलाई सामाजिक चरित्र चित्रण गरिएको नारी प्रधान कृति भन्दा अत्युक्ति नहोला ।
कृतिले “परोपकारः पुण्याय पापाय परपीडनम्” भन्ने श्लोकको अनुसरण गरेको पनि पाइन्छ । त्यसका उदाहरणको रूपमालिन सकिन्छ फिरोज खान, श्यामदाइ लगायतले निर्वाह गरेका पात्रता देखि श्रीजलले आमाको नाममा सञ्चालन गरेको आश्रामसम्मका कुरा ।
कृतिभित्र विचरण गरिरहँदा यस कृतिमा मेरा प्रश्नहरुको सहज उत्तर छ । मात्र कोरा कल्पना कोरेर पाठकलाई भुलभुलैयामा पार्नु भन्दा पनि सामाजिक यथार्थ कोरिएको छ कृतिमा । सरल वाक्य संरचना छन् । निश्वार्थ सम्बन्धका धागाहरू जस्तोसुकै आँधीबेहरी आए पनि चुँडिदैनन् । प्रेम चाहे व्यक्ति व्यक्तिबीचको होस् या आध्यात्मिक, कुनै भौगोलिक सीमारेखाले छेक्दैन । यदि छेक्दो हो त भगवान बुद्ध केवल लुम्विनीमा मात्र सीमित हुँदा हुन्, नेपालीका मात्र पेवा हुँदाहुन् । विश्वजगत् बौद्धमार्ग पछ्याउँदैनथ्यो । हानाको हजुरआमा लगायत बुद्धभूमि नेपाल भ्रमणमा आउँदैनथे ।
मानिस आर्थिक प्रगतिले मात्र सन्तुष्ट हुँदैन । काम, काम र काम मात्रको जीवनशैलीबाट पनि मानिस दिक्क बन्दोरहेछ । विकासको चरम उचाइ पार गरेको जापानीहरू पनि मानसिक रूपमा खासै सन्तुष्ट नहुने रहेछ । आत्मिक शान्तिको बाटो अध्यात्म नै हो तर सामाजिक जीवनबाट बाहिर रहेर होइन, उपन्यासमा पुष्टि गर्न खोजिएको छ । कताकति पौराणिक सन्दर्भहरू जोड्नेक्रममा भने अलि अलि चिप्लिएको हो कि भन्ने भान हुन्छ ।
अन्त्यमा, उपन्यासले दिनानुदिन वैदेशिक रोजगारीका निम्ति विदेशिएका युवाहरुको कथा बोकेको छ । नेपाली समाज बोलेको छ । खासगरी वैदेशिक मोहमा मोहित हुने नेपाली युवा जमात्का लागि यो कृति गतिलो सन्दर्भ सामाग्री हुनसक्दछ । छिटपुट धमिला पक्षका बाछिटाहरू यस कृतिमा पनि परेकाछन् नै । आशा छ , उपन्यासकारका पछिल्ला कृतिहरूमा परिष्कृत भएर आउने नै छन् । कृतिकार अब्बल लेखकीय चेतको बाटोतिर लम्कँदै गरेको उपन्यासमा कुँदिएका शब्द शिल्पहरूबाट अनुमान गर्न सकिन्छ । एक सचेत पाठकका हैसियतमा ढुक्कले यति चाहिँ दावाका साथ भन्छु कृति पठनीय छ । जयहोस् ।




