माधव घिमिरे अटल। भाद्र ६,२०८३
शब्दसरोवरले आफ्नो दोस्रो संवाद शृङ्खला राजधानीमा सुसम्पन्न गरेको छ । साहित्यकार तथा स्रष्टा पदयात्राका महासचिव गङ्गाप्रसाद भेटवालको दोस्रो उपन्यास ‘विश्वकर्मा भोजनालय’को विशद परिचर्चा गर्न आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आफ्नो विचार मात्र अभिव्यक्त गरेनन् बरु सामूहिक विमर्शमा पनि उत्साहजनक ढङ्गले सरिक भए ।
सो कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय दलित आयोगका अध्यक्ष माननीय देवराज विश्वकर्माले गङ्गाप्रसाद भेटवाल निष्ठाका सिपाही र न्यायका पक्षपाती भएको बताउँदै भेटवालले साहित्यमा दलनबाट मुक्त हुने उज्यालो पक्ष उजागर गरेर अत्यन्त सुन्दर बाटो समातेको जिकिर गरे । विभिन्न सान्दर्भिक दृष्टान्त प्रस्तुत गर्दै विश्वकर्माले आफ्नो सङ्क्षिप्त एवं सारगर्भित कथन प्रस्तुत गरे ।

समालोचक तथा साहित्यकार डा. हरिप्रसाद सिलवालले कृतिकारदेखि सम्मानित व्यक्तित्वसम्मलाई बधाई ज्ञापन गर्दै मानव जीवनलाई ऊर्जाशील र सशक्त बनाउन यस्ता परिचर्चा अत्यन्त प्रभावकारी हुने बताए । भाषिक सरलताको सराहना गर्दै सिलवालले वरिष्ठ साहित्यकार श्यामप्रसादको दृष्टान्त दिएका सिलवालले साहित्यमा विषय चयन, विचार र प्रस्तुतीकरण तथा कला वा सौन्दर्यशास्त्रको दरकार पर्ने दाबी गरे । शीर्षक चयनलाई समेत सिलवालले एउटा रणनीति भएको अर्थ्याए । महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि अन्य केही चर्चित साहित्यकारको सन्दर्भ उल्लेख गर्दै सिलवालले थर नभई कर्म ठुलो हुने आफ्नो सशक्त राय राखे । उनले भेटवालको चिन्तनमा मानवतावाद रहेको खुलासा गर्दै सूचनाको भूमिकाको विशद व्याख्या गरे । दलित शब्दमा उपन्यासकारसँग आफ्नो प्रस्ट विमति राख्दै तथा रूपपक्षका केही सीमाबारे उल्लेख गर्दै सिलवालले सारपक्षको सुन्दरतामा भने कुनै खोट नरहेको अभिमत राखे ।

सत्तारुढ दलका सचेतक सांसद माननीय प्रकाशचन्द्र परियारले विभेदका अनेक फेहरिस्त राख्दै अहिले पनि आरक्षण खसआर्यमा रहेको जिकिर गरे । उनले पुस्तकले अर्थराजनीतिलाई समेटेको बताए । चिन्तन, चेतना तथा रूपान्तरणको विश्व रङ्गमञ्चमा आफूहरू अहिले पनि निकै पछाडि रहेको उनको कथन थियो । पुस्तक धेरै कोणबाट निकै महत्त्वपूर्ण भएकाले आफूले यसलाई मूल धारका मिडियामा ल्याउने माननीय परियारले वाचा गरे । जनयुद्धपछि समावेशिताले मारेको छलाङलाई माननीय परियारले मुक्तकण्ठले सराहना गरे ।
उपन्यासकार गङ्गाप्रसाद भेटवालले आफूले कृति बेचेर कमाउने इरादा नराखेको जिकिर गर्दै पिछडिएको समुदायलाई भने व्यापार गर्न उत्प्रेरित गरेको आशय व्यक्त गरे ।

कार्यक्रममा सञ्चारकर्मी तथा साहित्यकार राजेश खनालले शब्दसरोवर तथा गङ्गाप्रसाद भेटवालप्रति कृतज्ञता ज्ञापन गरे त्यसै गरि अधिवक्ता डिवी विश्वकर्माले शब्दसराेवर साथै कृतिले उठाउनुपर्ने अतिअावश्यक कुरा उठाएकाे भाव व्यक्त गरे भने रेणुका भट्टराईले पनि कृतिकारलाई बधाई ज्ञापन गरिन् ।
उक्त कार्यक्रममा कर्णालीका साहित्यकार तथा समाजसेवी तुङ्गनाथ उपाध्यायलाई सम्मान पनि अर्पण गरियो । शब्दसरोवरका प्रबन्ध निर्देशक नवीन पल्लवले सहजीकरण गरेको तथा सञ्चारकर्मी जयराम बिडारीले उपस्थित साहित्यकारहरूलाई स्वागतका शब्दगुच्छा अर्पण गरेको सो कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई माननीय प्रकाशचन्द्र परियार, कृतिकार गङ्गाप्रसाद भेटवाल, परिचर्चाकार हरिप्रसाद सिलवाल र सञ्चारकर्मी राजेश खनालले शमन गरे ।
कार्यक्रममा लाेमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटल, वागमती टेलिभिजनका प्रबन्धक मनोज न्यौपाने, स्रष्टा पदयात्राका उपाध्यक्ष बिमल अर्याल, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाललगायतको समुपस्थिति रहेको थियो ।




