डिजिटल युगमा नेपाली साहित्य: चुनौती, अवसर र नयाँ दिशाबारे काठमाडौँमा बृहत् प्राज्ञिक विमर्श

-रुबि सत्याल

साउन १४,काठमाडौँ
प्रविधिको तीव्र विकास, कृत्रिम बौद्धिकता (एआई) को बढ्दो दबदबा र परिवर्तनशील पठन संस्कृतिका बीच नेपाली साहित्यको संरक्षण, प्रवर्द्धन र हस्तान्तरण कसरी गर्ने भन्ने विषयमा राजधानीको ग्रिनलिफ फुडल्याण्डमा एक विशेष प्राज्ञिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । ‘शब्दसरोवर डट कम’ को आयोजनामा निर्मित हुन गइरहेको नयाँ पोडकास्ट शृङ्खलाको पूर्व-विमर्शका रूपमा आयोजित उक्त कार्यक्रममा देशका प्रतिष्ठित साहित्यकार, प्राध्यापक, समालोचक, पत्रकार तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शब्दसरोवर डट कमका कार्यकारी सम्पादक जयराम बिडारीले डिजिटल युगका चुनौतीलाई चिर्दै नेपाली साहित्यलाई विश्वमाझ पुर्‍याउन र नयाँ पुस्तालाई जोड्न श्रव्य -दृश्य (पोडकास्ट) माध्यमको प्रयोग गर्न लागिएको जानकारी दिनुभयो ।


विचार गोष्ठीमा बोल्दै प्राज्ञिक व्यक्तित्वहरूले एआई प्रविधि र डिजिटल माध्यमका चुनौतीबारे आफ्ना गहन विचार प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले पुराना स्रष्टाले भाषा जोगाउन ठूलो योगदान दिएको स्मरण गराउँदै अहिलेका लेखकहरूमा व्यक्ति केन्द्रित हुने प्रवृत्ति बढेकाले नाम र साहित्य दुवैलाई माथि उठाउन गहन अध्ययन आवश्यक रहेको बताउनुभयो । उहाँले छापा माध्यममा पाइने सिर्जनात्मक आनन्द पूर्ण रूपमा डिजिटलमा नहुने भएकाले प्रविधि र मौलिकताबिच सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा डा. रमेश शुभेच्छुले अनलाइन सामग्री चोरी हुने डर, निरन्तरताको चुनौती र गुणस्तरीय अतिथि पाउने समस्या औँल्याउँदै डिजिटल सामग्री क्षणिक रूपमा सनसनीपूर्ण भए पनि जीवन्त बनाउन कठिन हुने धारणा राख्नुभयो । यस्तै मुकुन्द सिलवालले एआईले तत्कालै साहित्य लेखिदिने भएकाले सिर्जना पहिलेको जस्तो मौलिक नरहेको हो कि भन्ने आशङ्का व्यक्त गर्नुभयो भने अमर कृतिमानीले प्रविधिले विषयवस्तुलाई बढाइचढाइ प्रस्तुत गर्दा मानवीय संवेदना ओझेलमा पर्ने खतरा औँल्याउनुभयो ।

कमला घिमिरेले प्रविधिलाई सहजतापूर्वक आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो भने डा. छायादत्त न्यौपानेले डिजिटल माध्यमका कारण मौलिकता र भाषा जोगाउन कठिन भइरहेकाले अर्थ र विषयवस्तुको स्पष्टतामा ध्यान दिनुपर्ने बताउनुभयो ।


दृश्य-श्रव्य सामाग्री, पोडकास्ट र पठन संस्कृतिका विषयमा चर्चा गर्दै डा. हरिप्रसाद सिलवालले पोडकास्ट सञ्चालन सहज देखिए पनि कानुनी परामर्श र स्रोतको आधिकारिकता आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले दर्शकका कमेन्ट र प्रश्नका आधारमा उत्तरसहितको अन्तरक्रियात्मक कार्यक्रम चलाउँदा पठन संस्कृतिको विकास हुने धारणा राख्नुभयो ।

कार्यक्रममा गंगा प्रसाद भेटवालले लामा लेखभन्दा साना भिडियोले समाजमा द्रुत प्रभाव पार्ने भए पनि सामग्रीको गुणस्तर जोगाउनु मुख्य चुनौती रहेको बताउनुभयो ।

यसैगरी पुस्तान्तरण, नवोदित स्रष्टा र नेपाली साहित्यको नयाँ सम्भावनाबारे बोल्दै डा. शैलेन्दु प्रकाश नेपालले छापा माध्यम दीर्घकालीन हुने भए पनि समय अनुसार प्रविधिमा युवा पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने बताउनुभयो । डा.शेखरकुमार श्रेष्ठले ‘कृतिभित्र कृतिकार’ भन्ने अवधारणा सान्दर्भिक रहेको र पछिल्लो समय नाटक विधामा कमै कलम चलेकाले नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा यम जोतीले डिजिटल युगको समाजसँगै साहित्य पनि ‘स्मार्ट’ र कालजयी हुनुपर्नेमा जोड दिनुभयो भने बिजयध्वज थापाले समयको परिवर्तनलाई स्वाभाविक रूपमा लिनुपर्ने धारणा राख्नुभयो । साहित्यकार कृष्ण प्रसाईंले नयाँ स्रष्टाको प्रोत्साहनका लागि आफू सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । रुबि सत्याल, गंगा खतिवडा र माधव घिमिरे ‘अटल’ ले समयसापेक्ष रूपान्तरण नभए पछि परिने भएकाले जीवन र जीविकाको साहित्य बचाउन अवसर र चुनौती दुवैलाई मध्यनजर गर्नुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमको समापन गर्दै माइण्ड प्लस तथा शब्दसरोवरका प्रबन्ध निर्देशक नवीन पल्लवले प्राज्ञिक व्यक्तित्वहरूबाट प्राप्त रचनात्मक सुझाव, आलोचना र मार्गदर्शनलाई आत्मसात् गर्दै शब्दसरोवर डट कमले आफ्नो पोडकास्ट यात्रालाई अझ सशक्त, विश्वसनीय, बौद्धिक र परिपक्व बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Follow Us
6Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top