असोज १९,काठमाडौँ
काठमाडौँस्थित जैन भवनमा आचार्य श्री १०८ विभव सागर जी महाराजकी परम प्रभावक शिष्या बाल ब्रह्मचारिणी (बा.ब्र.) रुचि दीदी (टीकमगढ) को गरिमामय उपस्थिति एवं सात्रिध्यमा ‘क्षमावाणी पर्व‘ अत्यन्तै उल्लासका साथ सम्पन्न भएको छ। कार्यक्रमको शुभारम्भ नवकार महामन्त्रद्वारा मङ्गलाचरण गरी गरिएको थियो।
श्री १००८ आदिनाथ दिगम्बर जैन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठीका अनुसार, कार्यक्रमका दौरान बा.ब्र. रुचि दीदी, तपस्वी सञ्जय काला, अङ्कित जैन, चाँदनी जैन, ललितपुरबाट पाल्नुभएका सङ्गीतकारहरू सुरेन्द्र जी, अङ्कित जी र अनिल जी तथा पण्डित सनत कुमार जैनलाई संस्थाका तर्फबाट खादा, तिलक, माल्यार्पण र कदर-पत्र (प्रशस्ति पत्र) द्वारा विशेष सम्मान गरियो। यसै क्रममा बा.ब्र. रुचि दीदीलाई ‘प्रवचन प्रबोधनी‘ को उपाधिबाट विभूषित गरी कदर-पत्र प्रदान गरिएको थियो।
कार्यक्रमका आयोजक तथा अध्यक्ष सुभाष जैन सेठीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि एवं जैन समाजका महानुभावहरूलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले भन्नुभयो— “जैन धर्ममा क्षमाभावलाई वीरहरूको आभूषण मानिएको छ। क्षमावाणीका दिन हामीले आफ्नो जीवनबाट सम्पूर्ण वैरभाव र मनमुटाव त्यागेर सबै प्राणीसँग साँचो मनले क्षमा माग्नुपर्छ।“ सो अवसरमा जैन समाजका विभिन्न वक्ताहरूले पनि क्षमावाणी पर्वको महत्त्व र सान्दर्भिकतामाथि आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा लेखिका सुमनऋषि कोठारीले आफूद्वारा लिखित “हामी र हाम्रा महावीर“ (हम और हमारे महावीर) नामक पुस्तक रुचि दीदीलाई उपहारस्वरूप भेट गर्दै भगवान् महावीरका अमर सिद्धान्तहरूमाथि संक्षिप्त प्रकाश पार्नुभयो। सिङ्गो कार्यक्रमको मञ्च सञ्चालन मन्दिर कमिटीका अध्यक्ष सुभाष जैन सेठी स्वयम्ले गर्नुभएको थियो।
जैन समाजका सदस्यहरूको व्यापक उपस्थिति रहेको उक्त समारोहमा नेपाल जैन परिषद्का अध्यक्ष सुशील कुमार जैन, नेपालस्तरीय जैन श्वेताम्बर तेरापन्थी सभाका अध्यक्ष दिनेश कुमार नौलखा, जैन श्वेताम्बर तेरापन्थी सभा (काठमाडौँ) का अध्यक्ष रमेश लूनिया, सरदार सहर परिषद्का अध्यक्ष कन्हैया लाल सुराणा, तेरापन्थी महिला मण्डलकी अध्यक्ष सङ्गीता बोथरा, कमल सिंह भंसाली, विजय कुमार बोथरा, महावीर प्रसाद काला, पवन जैन, पङ्कज जैन, राजेश लूणावत, ऋषि प्रकाश कोठारी, जैन मन्दिर कमिटीका कोषाध्यक्ष राजेश काला, सचिव सञ्जय ‘गुड्डु’ जैन, सदस्य प्रदीप जैन र सञ्जय काला लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अन्त्यमा, औपचारिक धन्यवाद ज्ञापनसहित मञ्च सञ्चालकले कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।







