विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासङ्घको डिजिटल साक्षरता अभियान आरम्भ


-माधव घिमिरे ‘अटल’
काठमाडौं, ११ असोज २०८३
४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासङ्घ नेपाल (एचपीएफएन) ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ ।
नेपाल सरकार, बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव श्रीमान दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यमा सुसम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । नेपाल उद्योग व्यापार महासङ्घका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासङ्घ नेपालका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलिया लगायत पर्यटन तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
कार्यक्रममा महासङ्घका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्ला सङ्घका प्रतिनिधि, आबद्ध सङ्घ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चारकर्मी एवं पर्यटन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिमा मन्त्रालयको साथ रहने भन्दै कार्यक्रमलाई सम्बोधन गर्नुभएका बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिवले नेपालको आतिथ्य क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो । साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्य क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहने उल्लेख गर्दै सुवेदीले महासङ्घले सुरु गरेको राष्ट्रिय डिजिटल साक्षरता अभियानलाई महत्त्वपूर्ण पहलका रूपमा चित्रित गर्नुभयो । अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सुवेदीले यसलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायी महासङ्घले अघि सारेको डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
श्रेष्ठले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन दुवै महासङ्घबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका व्यवसायीलाई प्रविधि र नयाँ व्यावसायिक अवसरसँग जोड्ने यस अभियानमा नेपाल उद्योग वाणिज्य महासङ्घले आवश्यक सहयोग र सहकार्य गर्ने वाचा गर्नुभयो ।
त्यसरी नै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्य क्षेत्रको व्यावसायिक विकासमा जोड दिनुभयो ।
मन्तव्य दिने सिलसिलामा नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पर्यटन बोर्डले विगतदेखि नै पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा विभिन्न पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासङ्घले अघि सारेको अभियान महत्त्वपूर्ण रहेको बताउँदै गौतमले आगामी दिनमा आफूहरू होटल व्यवसायी महासङ्घसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नेपाल पर्यटन बोर्ड तयार रहेको खुलासा गर्नुभयो ।

एक दिनको कार्यक्रम होइन, वर्षभरि चल्ने राष्ट्रिय अभियान –
विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासङ्घले एकबर्से राष्ट्रिय अभियान अघि बढाएको हो । यस वर्षको विश्व पर्यटन दिवसको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यलाई आधुनिक प्रविधिसँग जोड्ने दूरगामी लक्ष्य राखेको छ ।
महासङ्घका अध्यक्ष टी.आर. भण्डारी ‘शंङ्कर’को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ । सातै प्रदेशदेखि दूरदराजका व्यवसायीसम्म डिजिटल पहुँच –
महासङ्घले आफ्नो सातवटै प्रदेश, जिल्ला तथा आबद्ध सङ्घ-संस्थाको सङ्गठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने महासङ्घले जनाएको छ ।
अभियानअन्तर्गत गुगल बिज्नेस प्रोफाइल तथा गुगल म्याप्समा व्यावसायिक विवरण र लोकेसन व्यवस्थापन, ओटीए तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, क्युआर भुक्तानी, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ । विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।
व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य हुनेछ। यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान, आवश्यकताअनुसार प्रशिक्षण र प्राविधिक सहयोगलाई प्राथमिकता दिइनेछ ।
आजदेखि सुरु भएको अभियानलाई आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा देशभर सञ्चालन गर्दै संस्थागत निरन्तरता दिने महासङ्घले जनाएको छ । विश्व पर्यटन दिवसको अवसरमा सुरु भएको यस अभियानले डिजिटल प्रविधिको पहुँचलाई व्यवसायीको वास्तविक सशक्तीकरणसँग जोड्दै नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य पनि महासङ्घले लिएको जनाएको छ ।

Follow Us
1Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 115

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।