काठमाडौँ । शिक्षा, संगीत, समाजसेवा तथा बीमा क्षेत्रका अग्रणी समाजसेवी स्वर्गीय केदारनाथ शर्मा बिडारीको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा उहाँको योगदानलाई अमर बनाउने उद्देश्यका साथ ‘सम्झनामा स्व. केदारनाथ शर्मा बिडारी’ नामक स्मृतिग्रन्थ प्रकाशित गरी सार्वजनिक गरिएको छ।
जयराम बिडारीको सम्पादनमा तयार पारिएको यस कृतिमा स्व. शर्माको सामाजिक, राष्ट्रिय तथा पारिवारिक योगदानका साथै उहाँलाई नजिकबाट चिन्ने-जानेका मित्र, आफन्त र शुभचिन्तकहरूका स्मरणलेखहरू समावेश गरिएका छन्। सम्पादक बिडारी (कार्यकारी सम्पादक, शब्दसरोवर अनलाइन), जसको यसअघि ‘जीवन्त विम्ब’ मुक्तकसङ्ग्रह प्रकाशित भइसकेको छ भने विभिन्न पत्रपत्रिकामा समसामयिक लेखहरू प्रकाशित छन्, उहाँले शर्माको राजनीतिक, आर्थिक, पारिवारिक तथा शैक्षिक आयामहरूलाई समेटेर पुस्तकलाई १३ मुख्य शीर्षकमा विभाजन गर्नुभएको छ:
१. स्मृतिमा केदारनाथ शर्माको जीवनी
२. स्मृतिका पानाहरूमा नियतिको लेखा
३. बुवाको सम्झनामा
४. ‘भुन्टे मोरो’ र मेरा अमर यादहरू
५. एकान्तकुना
६. केदारजीको सम्झना
७. सम्झनामा केदारनाथ शर्मा बिडारी
८. मेरो स्मृतिमा केदार काका
९. पुण्यात्मा बाबा केदारनाथ शर्माप्रति श्रद्धासुमन
१०. काकाको छत्रछाया र आत्मीय सम्झना
११. केदारनाथ शर्माज्यूको आत्माप्रति चिरशान्तिको कामना
१२. सम्झनामा केदार काका
१३. स्वर्गीय केदारनाथ शर्मासम्बन्धी स्मृतिका तस्बिरहरू
स्व. शर्माका छोरा आलोक शर्मा र छोरी अपेक्षा शर्मा खत्री प्रकाशक रहेको यस कृतिमा उहाँका अनन्य मित्र उत्तमप्रसाद उपाध्यायले सल्लाह, संयोजन तथा सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो।
एक विशेष समारोहका बीच उपस्थित सम्पूर्ण अतिथिहरूले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो। कार्यक्रममा उत्तमप्रसाद उपाध्यायले स्व. शर्माको बहुआयामिक व्यक्तित्व र समाजमा उहाँले पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहज सहजीकरण सम्पादक जयराम बिडारीले गर्नुभएको थियो।




