दिवङ्गत सुवर्णकारको स्मृतिमा श्रद्धाञ्जली अर्पण


२८ असार, काठमाडौं । जन्मेपछि सवैले एक न एकदिन अवश्य मृत्युवरण गर्नुपर्छ यो शास्वत सत्य हो । फरक यत्तिमात्र हो कतिपय मानिसले मृत्युवरण गरे पनि आफ्ना कीर्तिहरुले सदैव समाजमा सम्झन योग्य रहिरहन्छन् । अमर बनिरहन्छन् । आफ्नो जीवनलाई आजीवन सामाजिक सेवामा समर्पण गरेर अमर बन्नुभएको छ । समाजसेवी तथा शिक्षाप्रेमी इन्द्रबहादुर सुवर्णकार । दिवङ्गत सुवर्णकारको यही असार ५ गते ८८ बर्षको उमेरमा असामयिक निधन भएको छ । दिवङ्गत सुवर्णकार प्रति हिजो शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।

लोमश वाङ्मय प्रतिष्ठान द्वारा २७ गते शनिवार हिम रश्मि हाइ स्कुलको सभाकक्षमा गरिएको श्रद्धाञ्जली सभामा दिवङ्गत सुवर्णकारले सामाजिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान अविश्मरणीय भएको र उहाँको निधनले समाजलाई अपुरणीय क्षति पुगेको वताइएको छ ।

जापानका लागि पूर्व नेपाली राजदूत डा. विष्णुहरि नेपालको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो सभामा दिवङ्गत सुवर्णकारको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणा गरिएको थियो । भने उहाँका परिवारजनमा समवेदना व्यक्त गर्दै परिवारलाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथि नेपाल द्वारा हस्तान्तरित श्रद्धान्जली पत्रमा “श्रद्धेय सुवर्णकारको असामयिक देहावसनको दुखद् खवरले हामी अत्यन्त मर्माहत भएका छौँ । उहाँले सत्कर्म, सहिष्णुता र मानव सेवाको अनुपम पाठ सिकाएको महसुस गर्नुका साथै उहाँका जीवन मूल्यहरु भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनिरहने हामीले अपेक्षा गरेका छौँ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै लोमश वाङ्मय प्रतिष्ठान शोक सन्तप्त सुवर्णकार परिवार, आफन्तजन तथा शुभेच्छुकहरुमा यो असह्य पीडा सहन सक्ने धीरता, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गर्दै यो भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको छ ।” उल्लेख गरिएको छ ।

श्रद्धान्जली पञ ग्रहण गर्दै दिवङ्गत सुवर्णकारका कान्छा सुपुत्र नवीन पल्लवले शोकको यस घडीमा प्रतिष्ठान लगायतका शुभेच्छुकजनले आफु र आफ्नो परिवारजन प्रति देखाएका समभाव प्रति कृतकृत्य भएका छौँ साथै लोमश परिवार लगायतका संस्थाहरुले पिताजी प्रति गरेको सम्मानले आफुहरुलाई विचलित हुनबाट जोगाएको भन्दैै पिताजीको आदर्श र विश्वासलाई टुट्न नदिने बताउनु भएको छ ।

लमजुङ जिल्लाको सुन्दरबजार न.पा.मा वि.सं १९९५ सालमा पिता हिरामणी र खगुमाया सुवर्णकारको कोखबाट माइलो सन्तानको रुपमा जन्मनुभएका सुवर्णकारले नीजि र सिमित वर्गसमुदाय भन्दा माथि उठेर सिंगो समाज प्रति पुर्याउनु भएको छ । शिक्षाको ज्योति पुग्न नसकेको तत्कालिन समयमा पनि स्वअध्ययन गरि आफुलाई साक्षर तथा संस्कृत भाषामा समेत दखल राख्नुभएका उहाँले वि.सं २०२४ सालमा भक्ति नमूना माध्यामिक विद्यालयका संस्थापक सदस्य एवम् भवन निर्माण समितिको अध्यक्ष भई शैक्षिक उन्नयन योगदान पुर्याउनु भएको थियो । त्यसैगरि २०३६ सालमा स्थापित श्री कालिका शिक्षा मन्दिरको संस्थापक सदस्य तथा पटक पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बन्नु भएको थियो । साथै पञ्चायतकालीन व्यवस्थामा तत्कालिन कालिका गाउँ पञ्चायतको प्रधानपञ्च समेत रहनुभएको सुवर्णकार वि.सं २०५४को आम निर्वाचनमा भोटेओडार गाउँ विकास समितिको वडा नं ६ को वडा अध्यक्ष समेत बन्नु भएको थियो । लमजुङ जिल्लाको राजनीतिक क्षेत्रमा समेत राम्रो पहिचान बनाउनु भएका उहाँको सामाजिक योगदान अवर्णनीय रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा अभ्यागतहरूलाई प्रतिष्ठानकी कार्यकारी सदस्य अप्सरा के.सीले स्वागत गर्नुभएको थियो भने श्रद्धाञ्जली पत्र वाचन ममिला पौडेल आस्थाले गर्नुभएको थियो । सो कार्यक्रममा साहित्यकार र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

दिवङ्गत सुवर्णकार प्रति शब्दसराेवर डटकम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top