जेष्ठ २० । काठमाडाैँ
सम्झना पुस्तकको लोकार्पण गरी बुधबार प्रसिद्ध सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मीलाई काठमाडौँमा सम्झना गरियो । दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा “सितारवादक प्राध्यापक सतीशचन्द्र रेग्मी स्मारिका” नाम दिएको उक्त सम्झना पुस्तकको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ सङ्गीत विज्ञ, सङ्गीतकार, गायक, साहित्यकार, पत्रकार एवं रेग्मी परिवारका सदस्यहरूको सघन उपस्थिति रहेको थियो। राष्ट्रिय नाचघर, जमलमा आयोजित “प्रसिद्ध सितारवादक प्रा. सतीशचन्द्र रेग्मी स्मृति ग्रन्थ लोकार्पण तथा विशेष साङ्गीतिक कार्यक्रम” मा रेग्मीका माइला सुपुत्र डाक्टर शिवेशचन्द्र रेग्मीले आफ्ना पिताको साङ्गीतिक कर्मको चर्चा गर्दै आगन्तुकहरूलाई स्वागत गरेका थिए । अभिलाष आचार्यद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ सङ्गीतकार दीपक जङ्गम, सङ्गीत गुरु मोहन जोशी, शकुन्तला प्रधान, वाद्य सम्राट न्हुच्छेबहादुर डङ्गोल, रेग्मी कुलायन समाजका अध्यक्ष आमोदप्रसाद रेग्मी, सांस्कृत संस्थानका महाप्रबन्धक किरणबाबु पुन एवं रेग्मीका साहिँला सुपुत्र वरिष्ठ सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीले प्राध्यापक सतीशचन्द्र रेग्मीले नेपाली शास्त्रीय सङ्गीत खासगरी सितारमार्फत पुर्याउनुभएको विशिष्ट योगदानको स्मरण गरेका थिए ।

अधिकांश वक्ताहरूले पण्डित देवचन्द्र रेग्मी उहाँका छोराहरू पण्डित कृष्णचन्द्र रेग्मी र पण्डित पूर्णचन्द्र रेग्मी, नाती प्राध्यापक सतीशचन्द्र रेग्मी हुँदै पनाती प्राध्यापक डाक्टर ध्रुर्वेशचन्द्र रेग्मीसम्मको लगातार चार पुस्ताले सितार वादनमार्फत शास्त्रीय सङ्गीतको धरोहर उठाउने रेग्मी घरनाको यस क्षेत्रमा अतुलनीय योगदान रहेको चर्चा गरेका थिए। लोकार्पित पुस्तक सङ्गीतसाधक, सङ्गीतविज्ञ र सङ्गीत पारखी सबैका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै वक्ताहरुले यो सितारवादनको श्रृङ्खलालाई अबको पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकताका बारेमा समेत विचार व्यक्त गरेका थिए । पुस्तकको प्रकाशन श्री अच्युतराम भण्डारी सङ्गीत प्रतिष्ठान, गौरीघाट, काठमाडौँले गरेको थियो । प्रतिष्ठानका संरक्षक अच्युतराम भण्डारीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसमेत ज्ञापन गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ सितारवादक प्राध्यापक डाक्टर ध्रुर्वेशचन्द्र रेग्मीको अत्यन्तै सुमधुर साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । प्रस्तुतिमा रेग्मीलाई सितारमा लावश गुरुङ र सीतामैयाँ राजथला, तबलामा पण्डित अच्युतराम भण्डारी र अनन्त प्रजापति, बाँसुरीमा पण्डित उमेश पण्डित, बेलामा पंण्डित यतिराज अधिकारी, खिँमा नरेश प्रजापति र इफेक्टमा शिला विष्ट साथ दिएका थिए । साङ्गीतिक कार्यक्रममा पिता प्राध्यापक सतीशचन्द्र रेग्मी र पुत्र प्राध्यापक डाक्टर ध्रुर्वेशचन्द्र रेग्मीद्वारा सिर्जना गरिएका भिमपलासि, खमाज, यमन, गौड मल्हार/गारा, गिरिनारेश्वर, पिलु, राग निलाम्बरी/तिलक कामोद, राग देश र पहाडीसमेतका धुनहरू प्रस्तुत गरिएका थिए ।




