सुशीला देउजाको कालेमा नैतिक चेतना

नेपाली बालसाहित्य लेखनको क्षेत्रमा सुशीला देउजाको योगदान उल्लेखनीय रहेको छ । वि.सं. २००७ साल फागुन २४ गते डोटी जिल्लाको सिलगढीमा जन्मिनुभएकी देउजा पिता स्वर्गीय तुध्वज खाण र माता स्वर्गीय लक्ष्मीदेवी खाणकी सुपुत्री हुनुहुन्छ । बाल्यकालदेखि नै नेपाली भाषा र साहित्यप्रति गहिरो रुचि राख्दै आउनुभएकी उहाँले कथा, कविता, यात्रा संस्मरण तथा बालसाहित्यका विभिन्न विधामा सक्रियतापूर्वक कलम चलाउँदै आउनुभएको छ ।

उहाँका हालसम्म प्रकाशित प्रमुख कृतिहरूमा प्रयासको पहिलो खुड्किलो, नयाँ बिहानी, पर्दाभित्रको यथार्थ, काबुल यात्रा (यात्रासंस्मरण), दोभान (लघुकथासङ्ग्रह), केही पाइला, केही अनुभूति (संस्मरण), चारू (कवितासङ्ग्रह), भगवानको रुप  (सचित्र कथासङ्ग्रह), बाघ र बाबा (बालकथासङ्ग्रह), पेटको आगो (लघुकथासङ्ग्रह), चारुमतिको रहस्य (सचित्र बालकथासङ्ग्रह), सम्पदा दर्शन (बालनियात्रा), अमेरिका दर्शन (यात्रासंस्मरण), साबमो (बालउपन्यास), विभुति दर्पण (बालजीवनी), Progeny (अंग्रेजी कथासङ्ग्रह) तथा हिमा (बालउपन्यास) रहेका छन् । उहाँको लेखनमा समाज, संस्कृति, बालजीवन, यात्रा अनुभव तथा मानवीय संवेदनाहरू सजीव रूपमा अभिव्यक्त भएका पाइन्छन् । सरल, स्पष्ट र भावपूर्ण भाषा शैली उहाँको लेखनको प्रमुख विशेषता हो, जसले बालपाठकदेखि वयस्क पाठकसम्मलाई आकर्षित गर्दै आएको छ । “काले” उहाँद्वारा लिखित सबैभन्दा पछिल्लो बालकथासङ्ग्रह हो । यस सङ्ग्रहमा “काले”,“मानिस ठूलो कामले हुन्छ” र “एकताको बल” जस्ता तीनवटा कथाहरू रहेका छन् । सङ्ग्रहको पहिलो कथा “काले” मानव र जनावरबीचको सम्बन्धमा आधारित भावनात्मक कथा हो । यसमा राम र कुकुर “काले” बीचको सम्बन्धलाई रोचक ढंगबाट देखाइएको छ । कथाको सुरुवातमा प्राकृतिक सौन्दर्य पहाड, सूर्य र हिमालको वर्णन गरिएको छ । जसले प्रारम्भिक चरणमै बालपाठकलाई प्राकृतिक दृश्यप्रति  आकर्षित गर्छ । त्यसपछि राम र कालेको मित्रता कथाको केन्द्रमा आउँछ, जसले बालबालिकामा निष्ठा र मायाको भावना विकास गर्छ । काले घाइते हुँदा रामको भावनात्मक प्रतिक्रिया अत्यन्त मानवीय र संवेदनशील रहेकोे छ । यसले बालबालिकामा करुणा र सहानुभूति विकास गर्ने उद्देश्य बोकेको छ । कथाको अन्त्यमा अस्वस्थ अवस्थामा रहेकोे काले आफैँ स्वास्थ्य केन्द्रमा गएर उपचार गराएको  र निको भएर घर फर्किएको प्रसंग अत्यन्त महत्त्वपूर्ण प्रतीकात्मक पक्ष हो । यसले जनावर पनि बुद्धिमान, आत्मरक्षक र सचेत प्राणी हुन् भन्ने सन्देश दिएको छ । समग्रमा यो कथा मानव र प्रकृति सम्बन्ध तथा करुणा र जिम्मेवारीको सशक्त प्रस्तुति हो । 

“मानिस ठूलो कामले हुन्छ” शीर्षकको दोस्रो कथा नेपाली समाजमा विद्यमान जातीय विभेदमा आधारित रहेकोे छ ।  उमा पात्रको माध्यमबाट लेखकले मानिसको मूल्य जातले होइन, कामले निर्धारण हुन्छ भन्नुभएको छ । प्रस्तुत कथामा दलित बालिकाहरूले उमासँग खेल्न नमानेको सन्दर्भ प्रस्तुत  गर्दै सामाजिक असमानताको विषय उठाइएको छ । प्रस्तुत कथाले सबै मानिस समान हुन्, नैतिकता र साँचो व्यवहार नै मानवताको आधार हो भन्ने सन्देश बोकेको छ । यो कथा सामाजिक न्याय र समानताको सशक्त बाल आवाज हो ।

सङ्ग्रहको तेस्रो तथा अन्तिम कथा “एकताको बल” कथा  जनावरहरूको व्यवहारमार्फत मानव समाजलाई दर्पण देखाउने प्रतीकात्मक कथा हो । श्यामु पात्रले कमजोर जीवप्रति गरेको अत्याचारले अहंकार र हिंसात्मक प्रवृत्ति उजागर गरेको छ । प्रस्तुत कथामा व्यक्तिगत शक्ति कमजोर र सामूहिक शक्ति बलियो हुन्छ तथा अन्यायको विरुद्ध एकता आवश्यक हुन्छ भन्ने अडान राख्दै श्यामुको अन्तिम परिवर्तन गल्ती स्वीकार र सुधारलाई देखाइएको छ । यो कथा सामाजिक अनुशासन, एकता र आत्मसुधारको प्रतीकात्मक प्रस्तुति हो । समग्र रूपमा हेर्दा देउजाका प्रस्तुत कथाहरू नेपाली बालसाहित्यमा नैतिक शिक्षा, सामाजिक चेतना र मानवीय मूल्यहरूको प्रभावकारी अभिव्यक्ति हुन् । यी कथाहरू केवल मनोरञ्जनका लागि मात्र नभई बालबालिकामा करुणा, समानता, एकता र जिम्मेवारीजस्ता जीवनोपयोगी मूल्यहरू विकास गर्ने उद्देश्यले लेखिएका स्पष्ट देखिन्छन् ।

“काले” कथाले मानव र जनावरबीचको सहअस्तित्व र संवेदनशीलताको सन्देश दिएको छ भने “मानिस ठूलो कामले हुन्छ” ले जातीय विभेदको आलोचना गर्दै मानव समानताको विषय उठाएको छ ।  त्यस्तै “एकताको बल” कथाले सामूहिक शक्ति र एकताको महत्त्वलाई प्रतीकात्मक ढङ्गले उजागर गरेको छ । यसरी तीनै कथाहरूले बालपाठकलाई सोच्न, बुझ्न र व्यवहारमा सुधार ल्याउन प्रेरित गर्ने क्षमता राख्छन् । सरल भाषा, स्पष्ट सन्देश र भावनात्मक प्रस्तुति यी कथाहरूको प्रमुख विशेषता हो । सामान्य कमजोरीलाई छोडेर समग्रमा यी कथाहरू सन्देशमूलक र प्रभावकारी देखिएका छन् ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top