‘बुवाहजुर’ महाकाव्य लिएर आइन् मञ्जिला अनिल


काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा साहित्यकार मञ्जिला अनिलद्वारा रचित ‘बुवाहजुर’ महाकाव्य लोकार्पण गरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र योगदानमा आधारित आधिकारिक महाकाव्यका रूपमा तयार पारिएको उक्त कृतिको लोकार्पण २०८३ साउन ३० गते शनिबार आयोजित विशेष समारोहबिच सम्पन्न भयो ।
अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवम् केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र के.सी.को अध्यक्षता तथा भागवत प्रवक्ता अजितप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । समारोहमा महाकवि देवकोटाका सुपुत्र साहित्यकार पदम देवकोटा, पूर्व सूचना आयुक्त कमला वली, त्रिवि नेपाली विभागका पूर्व प्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार प्रतीक ढकाल लगायतका व्यक्तित्वहरूको विशिष्ट उपस्थिति थियो ।


अतुल स्मृति गुरुकुलका बालबालिकाको मङ्गलाचरण तथा दीप प्रज्वलनबाट सुरु भएको कार्यक्रममा हालै निधन हुनुभएका वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। अनेसास नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा अतिथिहरूलाई रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सर्जक मञ्जिला अनिललाई बधाईपत्र, दोसल्ला, टोपी, माला र एकाङ्कित टिकाासहित विशेष सम्मान प्रदान गरियो। लोकार्पित कृतिमाथि समीक्षा गर्दै प्रा.डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले कृतिकारले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वलाई जीवन्त रूपमा काव्यमा उतार्न सफल भएको बताउनुभयो । सो क्रममा कविद्वय कल्पना काफ्ले र भवानी खतिवडाले महाकाव्यका केही अंश वाचन गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि अजितप्रसाद गौतम, पदम देवकोटा, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, राधेश्याम लेकाली, भीम रेग्मी, कमला वली, प्रा.डा. सावित्री मल्ल कक्षपति, लीला लुइटेल, नेत्रबन्धु पोखरेल र ऋषवदेव घिमिरेले कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। सर्जक अनिलले आफ्नो लेखन अनुभव साझा गर्नुभएको उक्त कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन र डा. घनश्याम खतिवडाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम सभाध्यक्ष राजेन्द्र के.सी.को समापन मन्तव्यसँगै सम्पन्न भयो ।

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top