नूर-गङ्गा सम्मान तथा पुरस्कार अर्पण समारोह भव्य रूपमा सम्पन्न

साउन ३०, काठमाडौँ

नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको आयोजनामा ‘सम्मान तथा पुरस्कार समर्पण समारोह २०८३’ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज अर्यालको प्रमुख आतिथ्य तथा गुठीका अध्यक्ष प्रा.डा. गोविन्द नेपालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा विभिन्न विधाका उत्कृष्ट स्रष्टाहरूलाई नगद पुरस्कार तथा सम्मानपत्र अर्पण गरिएको थियो । जसअन्तर्गत रु. १ लाख राशि रहेको ‘नूर-गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार’ लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद बनवासीलाई संयुक्त रूपमा प्रदान गरियो । त्यस्तै रु. १ लाख राशिकै ‘नूर-गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार’ स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई संयुक्त रूपमा अर्पण गरियो ।

Nur 1 1024x768


क्षेत्रीय र नवप्रतिभा पुरस्कारतर्फ रुपन्देहीका वनमाली निराकारलाई ‘साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार’ र नवलपरासीका पदमध्वज के.सी.लाई ‘लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार’ प्रदान गरियो, जसको राशि जनही रु. ५० हजार रहेको थियो । साथै रु. ३० हजार राशिको ‘साहित्य राष्ट्रिय नव प्रतिभा पुरस्कार’ ललितपुरकी आँचल श्रेष्ठ र ‘लोकगीत गायन राष्ट्रिय नव प्रतिभा पुरस्कार’ नवलपुरका अर्जुन सापकोटाले प्राप्त गरे ।
सोही अवसरमा साहित्य र लोकसंस्कृतिका क्षेत्रमा निरन्तर योगदान पुर्‍याएबापत रामबाबु नेपाल, डा. कमलराज पौड्याल र प्रा.डा. सावित्री कक्षपतीलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा ‘नूर-गङ्गा’ पुरस्कार र प्रतिभा कृतिको लोकार्पणसमेत गरिएको थियो ।

Nur3


गुठीका उपाध्यक्ष प्रा.डा. भवेश्वर पंगेनीद्वारा अभ्यागतहरुलाई स्वागत गरिएको सो समारोहमा प्नमुख अतिथि लगायत मञ्चासिन व्यक्तित्वहरुले संयुक्त रुपमा ‘नूर-गङ्गा पुरस्कार र प्रतिभा’ कृति लोकार्पण गरिएको थियो ।

सो समारोहमा गायकहरू अर्जुन सापकोटा, पूर्ण नेपाली र क्षेत्रबहादुर गुरुङले साङ्गीतिक प्रस्तुति दिएका थिए । उक्त अवसरमा बालसाहित्य मूल्याङ्कन उपसमितिका संयोजक प्रा.डा. ध्रुवकुमार घिमिरे र लोकगायन मूल्याङ्कन उपसमितिका संयोजक नारायण रायमाझीलगायत दुईसय बढि साहित्यकार, साहित्यानुरागी अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण गुठी प्रबन्ध समितिका सदस्य यादव भट्टराईद्वारा गरिएको थियो ।

Follow Us
5Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top