कुशको शव

–पदम दाहाल
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१ ।

रसुवा र नुवाकोटको नदी किनारामा
बढारिएका छन् थुप्रै सिङ्का भवनहरू
र असङ्ख्य बस्तीभित्रका निमुखा तनहरू
जे जसरी पनि जोडेँ भनेर
खुसाउन नपाउँदो रहेछ मान्छे
जेजसरी पनि ठाउँ पाएँ
उन्नतिमा रमाउन भ्याएँ भनेर पनि
पूर्ण आयु बिस्तार गरेर
बाँचिरहन नभ्याउँदो रहेछ मान्छे ।

रोएर अघाइसकेका छन्
विरक्तिएका आफन्त मनहरू
आँसु अविरल बगेर
थाकिसकेका छन्
एकै घरका बाँकी जीवनहरू
निकटस्थ शुभेच्छुकहरूले
तिनै शोकाकुल जुनीलाई
दिइरहेछन् धैर्यधारणका खातिर
वय ढाडस र नव आश्वासनहरू ।

कति मसहुर र कत्ति क्रूर छ भोटेकोशी
जसले किनारा लाएर
देखाउनै खोजेन जिन्दगीहरूलाई
अनुहार मात्रै देख्न र ठम्याउन
सजिलो पारिदिएको भए पनि त हुन्थ्यो
सायद त्यतिले पनि चित्त बुझेन उसको
लेदो माटोभित्र टाउको देखिने गरी
राखिदिएको भए पनि त हुन्थ्यो
कम्तीमा बगरकै ढुङ्गाको कापमा
झुक्किएर अड्काइदिएको भए पनि त हुन्थ्यो
तर, पटक्कै बुझाएनछ चित्त
रौद्र रूप बोकेको भोटेकोशीले ।

कहिले उसले घोप्ट्यायो लासलाई
कहिले पछार्यो
कहिले उत्तानोचित पार्यो
मानवीय विनाशलाई
त्यतिले पनि उसको क्रोधाग्नि
नभएपछि शान्त
भ्याएसम्मको उसको सामथ्र्यले
विक्षिप्त तुल्यायो
अज्ञात स्थलतर्फ घिसारिरह्यो
हुत्याइरह्यो निर्ममतापूर्वक
चिथोरिरह्यो ह्रिंसक बनेर
सायद बिपत् खन्याउँदै
बेपत्ता पारिरह्यो
मातेको पागल मत्ताले झैँ लुछिरह्यो ।

बिर्सिन लागेको
उक्त खाटोलाई
फेरि एकचोटि संस्कारगत पातो पल्टाएर
आफन्तहरूका साथमा अर्कै एक
नौलो घाटमा चितारूपी खाटमा
मृतकको प्रतिरूपमा
अहिले एक कुशको शव तैयारी छ
भौतिक आवरणबेगरको
अर्को थप प्रसव वेदना थपिएको छ
वरिपरि साछी बसेका छन्
असङ्ख्य आफन्त जनहरू
चढाइँदैछन् चुरापोते र श्रृङ्गारका सामानहरू
कोही दागवती लिएर हातमा
परिक्रमा भैरहेछ शवको
आगो झोस्ने काम भैरहेछ मुखमा
उपस्थित सबै सबै तम्तयार छन्
मलामीहरू दैहिक विसर्जनमा
कुशको शवमाथि
आत्मशान्तिको कामना भैरहेछ
मौनतामा भक्कानिदै
श्रद्धाञ्जलि अर्पण चलिरहेछ
कठोर वेदनाले छट्पटाएकाहरू
शायद त्यहाँ खोजिरहेछन्
एउटा जिन्दगीको विराम चिन्ह
सायद तिनै हुन् आफन्तजन
मृत्यु संस्कारमा हत्पताएकाहरू ।
–०००–

Follow Us
3Shares
Shabdasarovar
Shabdasarovar
Articles: 59

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।