“हात्ती पर्यटनका सामान होइनन्”: सर्वोच्चको निर्देशिकासँगै चितवनको विवादास्पद खेल रोक्न पेटाको आह्वान

काठमाडौं — नेपालको सर्वोच्च अदालतले हात्तीहरूलाई केवल मनोरञ्जन वा पर्यटनको साधन नभई संवेदनशील प्राणीका रूपमा मान्यता दिने नयाँ निर्देशिका जारी गरेसँगै, पेटा (PETA) ले चितवन हात्ती महोत्सवमा भइरहेका शोषणपूर्ण हात्ती “खेलहरू” तत्काल बन्द गर्न आयोजकहरूलाई कडा रुपमा आग्रह गरेको छ । यसका साथै संस्थाले कार्यक्रमसँग अझै पनि आबद्ध रहेका बाँकी प्रायोजकहरूलाई पनि आफ्नो सम्बन्ध तोड्न आह्वान गरेको छ ।
पेटाले हालै सार्वजनिक गरेको भिडियो फुटेजमा ह्यान्ड्लरहरूले हात्तीहरूलाई जबरजस्ती “फुटबल” खेल्न लगाउन कुटपिट गरेको दृश्य बाहिर आएको थियो । यस संवेदनशील विषय बाहिरिएलगत्तै महोत्सवले माछापुच्छ्रे बैंक र काठमाडौंस्थित भ्रमण कम्पनी हिमालयन सोशल जर्नीलगायत धेरै प्रतिष्ठित प्रायोजकहरूको समर्थन गुमाइसकेको छ । यसअघि पनि पेप्सी, बुद्ध एयर र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकजस्ता प्रमुख प्रायोजकहरूले पेटाको उक्त पीडादायी फुटेज हेरेपछि आफ्नो समर्थन फिर्ता लिइसकेका छन् ।
नेपालमा, विशेषगरी चितवन हात्ती महोत्सवमा बन्दी बनाइराखिएका हात्तीहरूप्रतिको दुर्व्यवहारलाई लिएर वर्षौंदेखि गहिरो चिन्ता व्यक्त हुँदै आएको छ । पेटाद्वारा सार्वजनिक गरिएको फुटेजमा एक जना ह्यान्ड्लरले महोत्सवका क्रममा एउटा हात्तीलाई ६४ पटकसम्म घोचेको, लात्ती हानेको र कुटेको स्पष्ट देखिन्छ । त्यस्तै, पर्यटकहरूका लागि तस्बिर खिच्ने साधनका रूपमा प्रयोग गर्दा वा पालो पर्खाइमा राख्दा हात्तीहरूलाई बुलहुक (जनावरहरूलाई तर्साउन र पीडा दिन प्रयोग गरिने स्टिलको तिखो टुप्पा भएको हतियार) ले समेत कुटिएको पाइएको छ । यसरी क्रूरता प्रदर्शन गर्ने क्रममा एक माहुतेले हात्तीलाई तिखो लठ्ठीले निरन्तर रोपेर मुस्कुराइरहेको तथा अर्को एकले जिज्ञासु छावाको अनुहारमै कुहिने हानेको जस्ता अमानवीय घटनाहरू पनि प्रकाशमा आएका छन् ।
यससम्बन्धमा पेटाका अध्यक्ष जेसन बेकरले आफ्नो धारणा राख्दै भन्छन्, “नेपालको सर्वोच्च अदालतले हात्तीहरू पर्यटनका सामान नभई संवेदनशील प्राणी हुन् भन्ने स्पष्ट पारिसकेको छ, र यसको निर्देशिकाले चितवन महोत्सवको पुरातन हात्ती प्रदर्शनको अन्त्य गर्नुपर्छ’’ । उनले इबुकिङ नेपाल,बाह्रसिङ्गे बियर र टेकमाइण्ड्स नेटवर्क जस्ता हालसम्म पनि होल्डमा रहेका प्रायोजकहरूलाई तत्काल सम्बन्ध तोड्न र आयोजकहरूलाई यस्ता क्रूर तमासा सधैँका लागि बन्द गर्न जोडदार माग गरेका छन् । 
यस बाहेक, पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आगामी दिनमा महोत्सवमा हात्तीहरूको कुनै पनि प्रकारको प्रयोग नहुने कुराको सुनिश्चितता गर्न समेत अनुरोध गरेको छ ।
प्राकृतिक रूपमा हात्तीहरू मातृसत्तात्मक झुन्डमा बसोबास गर्ने, एकअर्काको रक्षा गर्ने र साना छावाहरूको सामूहिक रेखदेख गर्ने गर्छन् । तर, बन्दी जीवन बिताउन बाध्य पारिएका हात्तीहरू आफ्ना सम्पूर्ण प्राकृतिक अधिकारबाट वञ्चित हुनुका साथै गम्भीर मानसिक पीडाका कारण बारम्बार संकुचित र दोहोरिने किसिमका छटपटीयुक्त व्यवहारहरू देखाउन बाध्य हुन्छन् ।
“जनावरहरू मनोरञ्जनका लागि प्रयोग गर्ने वा अन्य कुनै तरिकाले दुव्र्यवहार गर्ने वस्तु होइनन्” भन्ने पेटाको मुख्य आदर्श वाक्यलाई आत्मसात गर्दै संस्थाले पीडा, भोक र तिर्खा महसुस गर्ने क्षमताको हिसाबले एउटा हात्ती, एउटा कुकुर र एउटा बालक समान तहमा हुने यथार्थलाई पुनः एकपटक जोड दिएको छ ।

Follow Us
0Shares
Jayaram Bidari
Jayaram Bidari
Articles: 116

Leave a Reply

Your email address will not be published. Required fields are marked *

शब्दसराेवर डटकम यहाँहरूकाे अाफ्नै शाब्दिक सराेवर हाे । हाम्राे उद्देश्य सिर्जनाकाे सम्मान , स्रष्टालाई प्राेत्साहन  नै हाे । हामी  कृतिकारका कृतिलाई Digitally Promotion गर्दछाैँ। तपाइँ पनि अाफ्नाे कृतिलाई प्रमाेशन गर्न , Ebook, Epub, Audio Book बनाउनुका साथै कृतिकाे परिचर्चा गर्न चाहनुहुन्छ भने हामी तपाइँकाे साथमा हुनेछाैँ । अाउनुहाेस् एउटा साहित्यिक सहयात्रा सँगै गराैँ ।