-श्रीराम खाइजु

लामो प्रतीक्षापछि भिसा झर्यो, खुसीको सिमाले डाँडो नाध्यो । ग्रामीण जीवनको शहरीया बसाई, महंगीको भार, बेरोजगारी र अभावको मारले थलिएका कर्णेलाई आज झरेको भिसाले राहत त पक्कै मिलेकै हो । टण्टलापुर घाममा उकालीको यात्रीले प्याक प्याकी घाँटी सुक्दा हात परेको लेकाली पानीले भन्दा अधिक तृप्ति कर्णेले अनुभूत गरे ।
भिसाले जन्माएको उद्वेलन, नीलो आकाशमाथि कावा खाँदै उडेकाे पन्छी देख्दा आफ्नै हवाइजहाज चढेको अनुभूत गर्यो । “भोलि त म पनि त्यसरी नै आकाशमाथि बाटो नाप्छु ।” तर रित्तिएको गोजीले उनको तन्द्रा भङ्ग गर्यो । अव के गर्ने ? कोसँग माग्ने ? कसले पत्याउला ? तरंगको तान्द्रामा अर्को पोयो थपियो ।
म नेपाली हुँ, त्यो नीलो आकाशमाथि मेरो पनि अंश छ । भिसा मेरै नाममा छ, अध्यागमन अधिकारीले दिनदहाडै सवैको सामू भंगेरा टाउके छाप लगाएकै हुन् । मैले जान खोजेको, कुइरा, खैरा चिम्सा आँखाले मलाई नै छानेको खसोखास साँचो हो, त्यसैले मेरो विदेशयात्रा पक्का । तर त्यो बज्या हवाइजहाजमा मेरो सियर छैन, त्यो चलाउने पाइलट, टिकट काट्ने नक्कली, करिव सवा सयक किलोको बनढ्याब्रे जहाज मालिक कसैसँग मेरो बराजुको बराजुको पनि कुनै साइनो वा सन्धि सर्पण पर्दैन ! अनि मलाई सित्तै कसरी लगोस् ? पैसा त चाहियो …।
दौंतरीहरू क्रमशः सम्झँदै गइयो, आइते, मइते, टण्टलापुर घाममा साहुको बाँझो फोर्दैछ । दैनिक ज्याला पनि पाउने हो कि होइन ठेगान छैन, काँवाट पैसा हुनु र मलाई दिनु ? ‘बा’का सगोत्री, आमाका मैतालु कसैको पनि उद्योग छैन, ब्यापार छैन, भनेजस्तो जागिर पनि छैन । बनिबुतो र मालिकको सेवा चाकरीमा दिन कटेको छ, काँ पाउनु र मलाई दिनु ? दुइ पाँनसय, दुइ पाँचहजार पनि होइन, लाखौंको सवाल छ, भो… “तोलाको बोली खोलामा नफालौं !”
अपर्झट साइलाबाको छोरा बिराज दाइको सम्झनाले अपेक्षाको ढोका उघ्रियो । चोकमै टक्क अडिएर फोन लगायो । एकै घण्टीमा फोन उठ्यो, अपेक्षाको उपक्रमले अर्को खुड्किलो उक्लियो । गाउँवाट आएर करोडमा खेल्ने दुर्लभ मान्छे, नेतादेखि केटासम्म हुकुम चल्ने, चिल्ला खुराफातले सेतोलाई कालो र कालोलाई सेतो भनाउन सक्ने दुर्लभ कलाका धनीले “घरमै आइजो !” भनेपछि कोठामा जानु भन्दा बिराजदाइको घरमै जानु मनासिब ठाने ।
गेटमा पुग्नेवित्तिकै चिल्लो कार भित्रैवाट “ओइ कर्णे, माथि किचेनको ग्यास लगेर बुकुनेको पसलमा लाईन बस्न जा त, मेरो एउटा मिटिङ्ग सकेर आउँछु !” कर्णेको कुरा सुन्ने समय बिराजसँग छैन, सायद आवश्यकतानै ठानेन् । गाउँवाट जो आए पनि एकाध बास राख्ने, एकाध छाक खुवाउने र आवश्यकताका सवै काम गराउने उनको परम्परा धान्यो ।
पाँच तला माथिको मटानमा सिरियल हेरिहेकी भाउजुसँग कुपन मागे, सिलिण्डर काँधमा बोकेर बुकुने साहुकहाँ पुग्दा लाइन सर्पाकार हुँदै चोकसम्म पुगिसकेको थियो । काँधवाट सिलिण्डर लाइनमै बिसाएर मनमनै सिलिण्डर गन्दा आफ्नो लाईन त २११औँमा परेछ । गोजीमा रहेको कुपन नम्बर हेरे २१५ रहेछ । चार सिलिण्डर अगाडि परेकामा मख्ख पर्यो । लाइन बढ्दै गयो, बढ्दैगयो, नागबेली आकारमा निक्कै लामो गुडुल्कियो ।
पसलमा काम गर्ने केटो आएर सवैलाई उर्दी जारी गर्यो, “कुपन भएकाहरूमात्र बस्नुस् है अरु फर्कनुस् ग्यास धेरै आउँदैन ।” सवैका कान ठाडा भए … कोही हप्तादिनदेखि कोठामा आगो नबाल्नेहरूले समेत कुपन पाएका रहेनछन् । कोलाहल बाक्लियो । “कुपन नहुने भोकै बसे हुन्छ ? केको कुपन सुपन ? मनलाग्दी कुपन बाँडेर हुन्छ ?” एकाएक हुलमुलवाट आवाज आयो । कुपन दिँदा आफ्नो मान्छेलाई दिएको, २–३ सय नजराना लिएर कुपन लिएको पनि थाहा रहेछ भीडमा ।
दिउँसो १२ बजेदेखि लाइन बसेका कर्णे साँझ ७ बजिसक्दा पनि ग्याँस आइनपुगेपछि अत्ताल्लियो । भोलिको उडान छ, पैसा छैन, दाजुले काम मात्र अह्रायो, कुरा त सुनेकै होइन, बेस्करी औडाहाले पोल्यो । ग्यासको लाइनमा चलेको कोलाहल, भन्दा कर्णेको मनमा खेलेको हुण्डरीले धेरै ठाउँ ओगट्यो । किनकि आज अर्काको धोति स्यार्न लाग्दा कतै आफ्नै लंगौटी खुस्कने त होइन ? पीडाले छट्पटायो । रातको १० बजीसक्यो, अभैm ग्यास अत्तो पत्तो छैन । कसैले भोलि मात्र आइपुग्छ, भन्ने पनि सुनायो । उनलाई झन औडाहा भयो । दाजुलाई फोन लगायो, कुरै सुन्दैन, “ग्याँस पाइस् ? लिएरै मात्र आइज नी ३ सय घुस दिएर कुपन लिएको .. खेर जाला …!” ‘आफ्नो स्वास्नी पोइल गैसक्यो, साला बनढ्याब्रेको आमा मामाघर गएको चिन्तामा मलाई डुबाउँछ ! थुक्क जिन्दगी …’ “दाइ कुरा सुन्नुस् न भन्या मलाई अलि पैसा चाहिया छ के !” “ग्याँस लिएर आइज न दिउँला के दिउँला !”
सायद स्वास्नीकै अँगालोवाट बोलेको होला ..! तर सकारात्मक जवाफले मन हलुका भयो । तर ग्याँस जम्मा २०० मात्र आएको हल्ला सुन्यो । ला.. अव आफ्नो त २१५ नम्वरको कुपन छ के गर्ने ? अन्तर कुन्तरमा रहेको खुराफाति दिमाग चलायो । अलि अगाडी लाइन बसेका, सँगै चिया खाएर साइनो गाँसेका ‘मुबोली’ दाजुसँग सौदा गर्यो, “तपाइकहाँ हप्तादिनलाई पुग्ने ग्याँस घरमा छ भनेको होइन ? तपाइको कुपन मलाई दिनुस् न म १००० दिन्छु ।” सुरुमा उनले मानेको थिएन, तर एउटा हात्ती सित्तै पाउने आशा देखाएपछि कर्णेको कुपन र सिलिण्डर आफुले लियो र आफ्नो कर्णेलाई दिएर बाटो लाग्यो ।
लडान्त गरेपछि बल्लतल्ल ग्याँस हात पर्यो । रातको १ बजे सिलिण्डर काँधमा बोकेर दाजुको घर पुगे । भाउजुले ढोका खाेल्दै १० हजार हातमा थमाए । बत्तिको उज्यालोमा कर्णेको टाउका माथिको आकाश खस्यो, ओठ थरथराएको, निधार खुम्चिएको भाउजुले देख्यो, “बाबुलाई दाइले यति दिनुभएको छ, पुगेन ?” “कसरी पुग्छ त भोलिको फ्लाइट छ, टिकट किन्ने पैसा मागेको, के गर्ने जावो दशहजारले ? दाइलाई पठाइदिनुस् !” भाउजु भित्र गइन् ।
गम्छा बेरेर ढोकामा आइपुगेको दाइलाई एकै गाँसमा निलुँला झैं गरेर हपारे .. “त्यत्तिकै पाएको ग्यास हो यो ? एकहजार अर्कालाई घुस ख्वाएर अर्काकै कुपनवाट लिएको ग्यास हो यो ।” “अनि के त त्यो एकहजार थप्नुपर्यो ? दिनभरीको ज्याला चाहिया तँलाई ?” कर्णेको मथिंगल झन तात्यो, “ए दाई मेरो भोलि फ्लाईट छ, गोजीमा सुक्को छैन, तँ मलाई उल्टो–पाल्टो कुरा गरेर के गर्न खोज्या ? पैसा दिने कि नदिने ?” “रातको बीचमा निहुँ खोज्छ .. तैंले राख्न दिया छस् ? कि भन्न पर्छ अगिनै… ! यति कुरा था पाएको भए तँलाई कामै अह्राउँदिन थें नी !”
कर्णेको पैताला भासियो, गर्लम्म आकास खस्यो, सयौंदिनको प्रतीक्षापछि झरेको भिसाको उद्देलन सिसाझैँ फुट्यो । स्वास्नीलाइ समेत नभेटी दाजुको चाकरी गर्न आएकोमा पछुतो मान्दै आँगनमा निस्किए । उनको चिल्लो गाडिको छेलो पर्दै थोरै खुराफाति दिमागको तेस्रो नजर खुलाए । “ओइ दाइ यता आइज त …” “नरिसा न कान्छा .. तैंले दिउँसै भन्या भए …” “अरु कुरा था छैन मलाई धोखा दिनेलाई म पनि बाँकी राख्दिन..” “के गर्छस् त के ?” सुस्तरी बोल्दै “बालाजुको च्याँखुरीलाई यो घर देखाइदिन्छु ! ल म गएँ …” फन्केर गयो । घर अगाडिको लठ्ठामा बलेको बत्तिको प्रकाशले रातको अँध्यारो चिर्दै
“ओइ ओइ ओइ सवै कुरा गर त्यति चैं नगर त.. ” “ले न त पैसा” “कति चाहियो ?” “तीनलाख ले… दुइलाख टिकट एक लाख घरमा छोड्दिन्छु ।” हत्त न पत्त माथि पुगेर रातो प्लास्टीकमा पोको पारेर तीनवटा गड्डी हातमा थमाए । दुइ विवाह गर्न नपाउने नेपाली कानून छल्दै बर्षैदेखि लुकाएको च्याँखुरीसँगको सम्वन्ध खुलेमा परिवार छिमेकी र हाता नाता मात्र होइन बिराजको सर्वश्व नै सत्यानाश हुने देख्यो… र कर्णेको मुख तीन गड्डीले टालेर सम्झौता गरे ।
कर्णे मखलेल फुरुङ्गग पर्दै कोठामा पुगे । पियारी सुतिसकेको रहेछ । एक सप्को गाली खाए । भात खाँदा खाँदै “झन एउट खुसीको कुरा सुनाउँछु भन्या, दिउँसभरी काँ बेपत्ता काँ ! सँधै हल्लेर काम चल्छ ?” कसको खुसीको कुरा पहिले भन्ने ? तैपनि “भन न त भन् !” लेडिज फस्टको मर्म राखे कर्णेले । लाजले मुस्कुराउँदै “तपाई बाउ बन्दै हुनुहुन्छ ।” अवाक कर्णेको गला अवरुद्ध भयो, खुसी हो कि दुःख हो भेउ पाउनै सकेन । पियारीलाई अँगालो मार्यो, हुने नहुने धेरैतिर चुप्पा गर्यो । “तर बुढी मेरो भिसा झर्यो, भोली ४ बजेको फ्लाइट छ ।”
“अव केको फ्लाइट नी ? मेरो स्याहार सुसार कसले गर्छ ? बच्चालाई बाउकोे मायाँ दिनु पर्दैन ? यहीँ बस्ने, दुःख सुःख यतै गर्ने !” “अनि यता बसेर चैं के गर्ने त ? मुखामुख गरेर पेट भरिन्छ ?” “६० हजार पाए रामभाइचाको दुनट पसल बेच्ने अरे … म अगि दुनट किन्न जाँदा सुनेको !” घरबेटीको भाले बासिसक्दा पनि कर्णेको परेली जिउँदै थियो । कतिखेर आँखा लागेछ कुन्नी.. पियारीले “ओइ हजुर… ” गर्दै गिल्गिल्याउँदा स्वास्नी डुनट पकाउँदै गरेको, सानो बालख आते ताते गर्दै दुनट चपाउँदै गरेको, आफु दुनटको सयौं पोका साइकलमा लोड गर्दैगरेको कता.. कताको बजारमा छरिएको उधारो उठाउनु, पिठो र तेलको बक्यौता चुक्त गर्नु अनेक मनमा खेलाउँदै एक मुठ्ठा पैसा घर्रामा राखिरहेको सपना भंग भयो ।
Follow Us



