
कठोर काल (उपजाति छन्द)
न ज्ञानले रोक्छ न सम्पदाले
न मानले जित्छ न विज्ञताले ।
हारेर जान्छौँ जति जन्मिँदा छौ
चोला बनोस् सार्थक अर्थका हौँ । ।१।
बाला युवा जीवन वृद्धता छन्
दीर्घायु होस् चाह पुरा हुँदैनन् ।
सङ्घर्ष हो जीवन बाँच्नु पर्छ
लुछेर चुड्दैछ अकाल झर्छ । ।२।
सङ्केत के गर्छ र काल कैल्यै ?
भङ्लेठ झैँ लाग्छ अकाल जैल्यै ।
थाहै तपाइकन फुत्त तान्छ
असाध्य पापी छ अनिष्ट लान्छ । ।३।
रोकेर राखौँ पनि रोकिंदैन
कजाइ राखौँ तर छेकिंदैन ।
अनेक छन् ती छल जालझेल
अकाल छन् यावत गर्छ खेल । ।४।
रोऊँ कराऊँ जति फत्फताऊँ
असार भैmँ लाग्दछ हुन्न ठाउँ ।
न सुन्छ उस्ले करुणा करार
कृतघ्नी क्रोधी छ कठोर काल । ।५।
–०००–
पदम दाहाल
मादी न.पा. ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।
