मुक्तककार: कमला घिमिरे अधिकारी
कोहीसँग छेकिन त कसैलाई भेट्न मन छ
अनायासै आइदिने भुमरीहरु छेक्न मन छ
जिन्दगीको पुराना पानाहरु खाली बनाएर,
सन्तुष्टिले भरिएका छुट्टै कथा लेख्न मन छ
कतै गुलाब त कतै पारिजात फूलको पराग बनेर
बन्ने कोशिस गर्नु भन्दछन् स्वच्छन्द प्रयाग बनेर
जता लाग्ने हो शुरुआतबाटै बाटो तय गर्नुस् हजुर,
अन्धकारमा रुमलिनु हुन्न रे कुहिरोको काग बनेर ।
चर्खा सरि घुम्दै घुम्दै प्राप्त भएका बदला हेर्नुहोस् त
पत्तै नदिइ चुपचाप पस्किने दैवको फैसला हेर्नुहोस् त
प्रकृतिसँग हार्नैपर्ने रहेछ घमण्ड गरेर के गर्छौ मानव,
अन्धकारमा मुस्कुराउने चन्द्रमाको कला हेर्नुहोस् त
सगरमाथा बेच्नु छैन गौरवशाली पहिचान बेच्नु छैन
आफ्नो फाइदाका लागि पुर्खाको बलिदान बेच्नु छैन
झुठो भिडको समर्थन भन्दा एक्लोपन नै ठिक छ हजुर,
स्वार्थको भिडमा जम्मा भएर आफ्नो इमान बेच्नु छैन ।
सुन्दर देखुँ, असल मार्ग भेटुँ कसलाई पो रहर हुदैन
व्यवहार नगरि मुखले मात्रै दिन्छु भन्नेको पनि भर हुदैन
रगतको नाता पनि कस्तो हुन्छ ? अप्ठ्यारोमा चिनीसकेँ,
त्यसैले उपस्थिति स्विकार्य छैन हजुर जहाँ कदर हुदैन ।
(मुक्तककार घिमिरे लाेमश वाङ्मय प्रतिष्ठान र मुक्तकालय नेपालसँग अाबद्ध हुनुहुन्छ)
Follow Us



