कार्तिक २२, काठमाडौँ
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औँ जन्मजयन्ती अवसरमा कीर्तिपुरमा स्रष्टा पदयात्रा नेपालद्वारा आयोजित एक कार्यक्रममा शब्दसरोवर डटकमका कार्यकारी सम्पादक जयराम बिडारी सम्मानित हुनुभएको छ ।
साहित्यिक पत्रकारिताको क्षेत्रमा अनवरत कलम चलाउँदै आउनुभएका बिडारीलाई योगदानलाई कदर गर्दै स्रष्टा पदयात्रा नेपालले यो सम्मान प्रदान गरेको हो । सोही कार्यक्रममा कार्यकारी सम्पादक बिडारीसँगै चर्चित गायक कमलीकान्त भेटुवाललाई पनि सम्मानित गरिएको थियो ।
संघीय सांसद प्रदीप बिष्टको प्रमुख आतिथ्य रहेको सो कार्यक्रमको विशेष अतिथिमा पद्यकन्या क्याम्पसका नेपाली विभाग प्रमुख डा.गुरुप्रसाद पोखरेल रहनुभएको थियो। त्यसैगरी कार्यक्रमको आयोजनामा सहकार्य गरेको पृथ्वीनारायण शाह पार्क तथा शालिक व्यवस्थापन समितिका अध्यक्ष ध्रुव बस्नेतको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले गर्नु भएको थियो ।
प्रमुख अतिथि विष्टद्वारा सम्मान पत्र ग्रहण गरेपछि सम्मानित व्यक्तित्वहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै कार्यकारी सम्पादक बिडारीले यो सम्मानले आफुलाई थप हौसला प्रदान गरेको र सम्मानको साख जोगाउन आफु प्रयत्नरत रहने बताउनुभएको थियो । अर्का सम्मानित व्यक्ति भेटुवालले सारगीको धूनसँगै सुमधुर आवाजमा सवैलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद बिष्टले कलाकार, साहित्यकार राष्ट्रका गहना भएकाले उहाँहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको र यस्ता काममा आफ्नो सदैव सद्भाव रहने बताउनु भयो । कार्यक्रममा विशेष अतिथि डा. गुरुप्रसाद पोखरेलले लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो ।
सो कार्यक्रममा अतिथि स्रष्टाका रूपमा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटल, नियात्राकार राजेन्द्रमान डंगोल, सूचक प्रकाशनका अध्यक्ष दीपक भेटवाल, शब्दसरोवर डटकमका प्रबन्ध निर्देशक नवीन पल्लव, उपन्यासकार रुबी सत्याल साथै ज्येष्ठ सदस्य नरहरि बस्नेत, मेजर पुञ्यबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
छन्दकवि सुशील रिजालले स्वागत मन्तव्य रहेको सो कार्यक्रममा वरिष्ठ अधिवक्ता राजु बस्नेत, साहित्यकार पवन बुढाथोकी, समाजसेवी बिदुर लामा, रिता खड्का, मेजर प्रधुम्न रावल, केशव अधिकारी र स्थानीय बुद्धिजीवी केदारबहादुर केसीले मन्तव्य राख्नु भएको थियो भने अनिता बस्नेत लगायतका कविहरूले रचना वाचन गर्नु भयो ।
शब्दसराेवर परिवार सम्मानित व्यक्तित्व कार्यकारी सम्पादक बिडारी एवम् कमलीकान्त भेटुवालकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछ ।
Follow Us



