‘देउमाईका सुसेलीहरू’ समय र संवेदनाको सङ्गम

-रूबि सत्याल

Ruby Satyal Shabdasarovar 885x1024

जहाँ सङ्ग्रहभित्रका सुसेलीहरूमा प्रकृतिसँगको अटुट सम्बन्ध देखिन्छ।

-रूबि सत्याल

नेपाली साहित्यको श्रीवृद्धिमा विगत पाँच दशकदेखि अनवरत रूपमा क्रियाशील व्यक्तित्व गङ्गाप्रसाद अधिकारी साहित्यिक वृत्तमा ‘खोलाघरे साहिँलो’ उपनामले सुपरिचित हुनुहुन्छ । वि.सं. २०८३ वैशाखमा प्रकाशित ‘देउमाईका सुसेलीहरू’ उहाँको पछिल्लो सिर्जनात्मक उपलब्धि हो । उक्त कृतिले नेपाली लघु-काव्य परम्परामा एउटा नयाँ इँटा थप्ने कार्य गरेको छ । छन्द कविता, खण्डकाव्य र संस्कृत साहित्यमा विशेष दख्खल राख्ने अधिकारीको कलममा पहाडी जनजीवनको सुगन्ध र दार्शनिक गहिराइको अनुपम सङ्गम पाइन्छ ।

उहाँका रचनाहरूमा देउमाई खोलाको कञ्चन पानी जस्तै पवित्रता र पहाडी पाखाहरूको जस्तै निश्छलता झल्किन्छ ।

फुर्तीली उषा

छर्दैछिन् लालिमा

ब्युँझियो धरा ।

भन्दै सुसेल्नुहुन्छ । उहाँको लेखन यात्रा केवल शब्दहरूको संयोजन मात्र नभएर सामाजिक रूपान्तरण र सांस्कृतिक संरक्षणको एउटा बलियो अभियान पनि हो । जसमा उहाँले नेपाली वाङ्मयमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदरस्वरूप विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका पुरस्कार र मानसम्मानहरू प्राप्त गर्नुभएको । उहाँको साहित्यिक व्यक्तित्व जति सरल छ, सिर्जनाहरू उत्तिकै ओजनदार र मर्मस्पर्शी छन् । जसले उहाँलाई नेपाली साहित्यको एक भरपर्दो खम्बाका रूपमा स्थापित गरेको छ ।

‘देउमाईका सुसेलीहरू’ जापानी हाइकु विधाको ५-७-५ को अक्षरीय संरचनामा आधारित भए तापनि यसले पूर्ण रूपमा नेपाली माटोको सुगन्ध र मौलिकतालाई आत्मसात् गरेको छ भने सत्र अक्षरको सानो आयतनभित्र एउटा पूर्ण चित्र उतार्नु र पाठकको मनमा गहिरो छाप छोड्नु यस कृतिको मुख्य विशेषता हो । लेखकले प्रकृतिका हरेक अवयवलाई मानवीकरण गर्दै शब्दमार्फत जीवन्त तुल्याउनुभएको छ । जहाँ सङ्ग्रहभित्रका सुसेलीहरूमा प्रकृतिसँगको अटुट सम्बन्ध देखिन्छ । लेखकले घाम, जून, बादल, पहाडी पाखा र खेतीपातीका दृश्यहरूलाई निकै कलात्मक ढंगले प्रस्तुत गरेका छन् । बिहानीको सूर्योदयलाई “फुर्तीली उषा” को रूपमा चित्रण गर्दै प्रकृतिको सौन्दर्यलाई पाठकको आँखा अगाडि जीवन्त तुल्याइनु र प्रकृतिका अवयवहरूलाई मानवीय संवेदनासँग जोड्नु कृतिको सबल पक्ष हो । मौसमको बदलिँदो स्वरूप र पहाडी भूगोलको वर्णन गर्दा उहाँका शब्दहरू यसरी गुञ्जन्छन् ।

हेमन्त सुरु

फुल्चोकीमा तुषारो

पर्छ फुरु फुरु ।

यस कृतिमा प्रकृतिलाई केवल वाह्य दृश्यका रूपमा मात्र नहेरी मानवीय संवेदना र भोगाइको अभिन्न अङ्गका रूपमा प्रस्तुत गरिएको छ । सरल र झर्रा नेपाली शब्दहरूको छनोटले गर्दा यो कृति सबै तहका पाठकका लागि सहज र बोधगम्य बनेको छ । थोरै शब्दमा धेरै कुरा भन्न सक्ने सामर्थ्यले लेखकको धैर्य र शब्दप्रतिको गहिरो पकडलाई पुष्टि गर्दछ ।

साहित्यकार अधिकारीका सुसेलीहरू केवल प्रकृतिको वर्णनमा मात्र सीमित नभई यसले समाजका ज्वलन्त मुद्दा र राजनीतिक विसङ्गतिहरूलाई पनि निर्भीक भएर उजागर गरेको छ । देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारीका कारण युवाहरू विदेशिनु परेको पीडा र न्यायको अभावप्रति लेखकको कलम निकै तिखो भएर चलेको छ । उहाँले समाजको ऐना देखाउँदै ,

भ्रष्टाचारमा

देश ख्यातनामा भो

विश्वभरमा ।

भन्दै सटिक प्रहार गर्नुभएको छ । जसले पाठकलाई केवल आनन्द मात्र दिँदैनन्, बरु समाजको यथार्थ अवस्थाबारे गम्भीर भएर सोच्न बाध्य बनाउँछन् । सङ्ग्रहभित्र न्यायको खोजी, बेरोजगारीको पीडा र सामाजिक अन्यायका विरुद्धमा उठाइएका आवाजहरूले लेखकको क्रान्तिकारी र सचेत नागरिकको पहिचानलाई प्रस्ट्याएका छन् । सत्र अक्षरको सानो परिधिभित्र राष्ट्रिय पीडा र सामाजिक विसङ्गतिलाई यसरी सटिक ढङ्गले अटाउनु साहित्यकार ‘खोलाघरे साहिँलो’ को काव्यिक विलक्षणता हो ,जसले यो कृतिलाई एक समसामयिक र सान्दर्भिक दस्तावेज बनाएको छ ।

अध्यात्म, संस्कृति र साहित्यिक योगदानको सङ्गालो ‘देउमाईका सुसेलीहरू’ एक सशक्त कृति हो, जसमा आध्यात्मिक चेत, सांस्कृतिक परम्परा र आधुनिक समाजको चित्रणको सुन्दर संयोजन पाइन्छ । संस्कृत भाषामा समेत दख्खल राख्ने लेखकले भगवान् शिवप्रतिको भक्ति र शान्तिको कामना गर्दै “

शिवको बास

कैलाश शिखरमा

शान्तिको आश” भन्दै सुसेल्नुभएको छ ।

उहाँको यो कृति मनोहरा साहित्य समाजद्वारा प्रकाशित भएको हो । उहाँ विभिन्न साहित्यिक पुरस्कार सम्मान साथै विभिन्न साहित्यिक व्यक्तित्वहरूबाट प्रशंसित हुनुले यसको साहित्यिक गरिमालाई अझ उचो बनाएको छ । थोरैमा धेरै कुरा पस्कने खुबीले गर्दा यो कृति व्यस्त आधुनिक पाठकका लागि निकै रुचिकर र उपयोगी सिद्ध भएको । गङ्गाप्रसाद अधिकारीको पाँच दशक लामो साहित्यिक साधनाको प्रतिफलका रूपमा आएको यो सङ्ग्रहले नेपाली साहित्यमा नयाँ विधाको खोजी र संरक्षणमा लागेका स्रष्टाहरूका लागि एउटा बलियो प्रेरणाको स्रोत प्रदान गरेको छ ।

देउमाईको कलकल प्रवाह जस्तै यो कृतिले पनि नेपाली पाठकको मनमस्तिष्कमा निरन्तर सकारात्मक ऊर्जा र साहित्यिक चेतना प्रवाह गरिरहने निश्चित छ, जहाँ

देउमाई सुसाउँछ

शब्दको लहरमा

भाव बुझाउँछ” भन्दै कृतिले नेपाली लघु-काव्य परम्परामा एउटा इँटा थप्ने काम गरेको छ । थोरैमा धेरै कुरा भन्न सक्ने खुबी नै यसको मुख्य आकर्षण हो र नेपाली साहित्यमा नयाँ विधाको खोजी र संरक्षणमा लागेका स्रष्टाहरूका लागि यो कृति एउटा प्रेरणाको स्रोत बन्न सक्छ । गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’ द्वारा रचित यो सुसेली सङ्ग्रह (२०८३) नेपाली लघु-काव्य विधामा एउटा अर्थपूर्ण योगदान हो, जसले प्रकृति, समाज, अध्यात्म र समसामयिक विसङ्गतिलाई सत्र अक्षरको सानो आयतनभित्र अत्यन्तै सटिक र मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । सङ्ग्रहभित्र न्यायको खोजी, बेरोजगारीको पीडा र भ्रष्टाचारजस्ता सामाजिक मुद्दाहरूदेखि लिएर नयाँ वर्षको उमङ्ग र प्राकृतिक सौन्दर्यसम्मका विषयहरू समेटिएका छन् भने पाँच दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय स्रष्टाले यस कृतिमा पनि आफ्नो मौलिक शैली र बिम्बात्मक प्रस्तुतिका माध्यमबाट पाठकलाई चिन्तनशील बनाउने सामर्थ्य राखेका छन् ।

विशेष गरी, संस्कृत सुसेली र छन्दबद्ध काव्यमा दख्खल राख्ने लेखकले ‘देउमाईका सुसेलीहरू’ मार्फत नेपाली जनजीवनको यथार्थलाई सजीव रूपमा उतार्दै यो सङ्ग्रहलाई एउटा पठनीय र सान्दर्भिक दस्तावेजका रूपमा स्थापित गरेका छन् । प्रकृतिको सजीव चित्रण र सामाजिक चेतनाको यो सङ्गमले नेपाली वाङ्मयलाई थप समृद्ध बनाएको छ भने यसमा समेटिएका हरेक सुसेलीहरूले समाजको ऐनाका रूपमा कार्य गर्दै पाठकको हृदयमा गहिरो प्रभाव छाड्न सफल भएका छन् ।

अन्त्यमा, यो कृति केवल शब्दहरूको थुप्रो नभएर एउटा जीवन्त अनुभव हो, जसले नेपाली साहित्यको आकाशमा ‘खोलाघरे साहिँलो’ को नामलाई अझ उज्ज्वल नक्षत्रका रूपमा चम्काएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top