बाह्रखरी कथा लेखनको आठौं संस्करण २०८३ को घोषणा

भदौ ४,काठमाडौं 

बाह्रखरी कथा प्रतियोगिताको माध्यमबाट नेपाली कथा साहित्यलाई चलायमान बनाइरहेको परिप्रेक्ष्यमा ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का निम्ति कथा आह्वान गरिएको छ । 

म्यारिअट होटल नक्साल काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको आठौँ संस्करण घोषणासँगै कथा आह्वान गरेको हो । कार्यक्रममा नेपाली भाषामा कथा लेख्ने कथाकारहरु विश्वभरिबाट यस प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ ।  बाह्रखरी मिडियाले विगत सात वर्षदेखि कथा लेखनको प्रवर्द्धन गर्दै आइरहेकोमा यस पटकको आयोजनाले निरन्तरता पाएको छ । 

उक्त अवसरमा बोल्दै बाह्रखरीका कार्यकारी सम्पादक बलराम पाण्डेले अभ्यागतलाई स्वागत गर्दै कथा प्रतियोगिताका सर्त हरुका बारे प्राकाश पारेका थिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुन नेपाली भाषामा लेखिएको मौलिक कथा पठाउनुपर्नेछ । यस प्रतियोगिताका निम्ति पठाइएका कथाहरु  अघिल्लो प्रतियोगितामा समावेश भएको पाइएमा त्यस्ता कथालाई स्वत: रद्द गरिने जनाइएको छ । कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । प्रविधिको प्रयोग (ए आइ) बाट लेखिएका कथा समावेश नगरिने जनाइएको छ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन । कथा कम्तीमा १,५०० देखि बढीमा ४,००० शब्दसम्मको वर्ड फाइलमा तयार गरि 12kharibooks@gmail.com मा आउँदो असोज ३ गते भित्र प्राप्त भएका कथाहरुलाई मात्र समावेश गरिने जनाइएको छ । 

कार्यक्रममा प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यसैगरी अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा समावेश गरी ‘उत्कृष्ट कथा, २०८३’ प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशन हुने सर्वोत्कृष्ट तीनबाहेक बाँकी २२ कथाका कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिने बाह्रखरी मिडियाले जनाएको छ ।

सो अवसरमा डिसहोमका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेलले मानिस बाहेक अन्य प्राणीका कतिपय कुराहरु समान रहने भए पनि मानव मात्रका कथा हुने बताउँदै त्यसलाई सुन्दर रुपमा प्रस्तुत गरिनुपर्ने बताए । 

डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ का संयोजक भुवन ढुंगानाले आफूले ३० को दशकदेखि कथा लेखनको कर्म गर्दै आइरहेको बताउँदै कतिपय परिस्थितिमा अमूर्त कथाहरु सिर्जना गर्नु परेको उल्लेख गरिन् । उनले कथामार्फत विद्यमान समाज, परिवेश,सोच र रुचि अभिव्यक्त हुने बताइन् । यस्ता प्रतियोगिताले नेपाली समाजलाई चिनाउने र पढाउने काम गरिरहेको बताउँदै यस्ता प्रतियोगिताको बीजारोपण कसले र कसरी गर्‍यो भन्दा पनि समग्र कथा साहित्यका निम्ति मियोको रुपमा स्थापित भएको बताइन् । ढुंगानाले “नेपाली कथा र कथाकार अब्बल रहे पनि तिनका  कथाहरु अन्य भाषामा अनुवाद नहुँदा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा ती ओझेलमा परेका छन् उनको भनाई थियो । 

डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता, २०८३’ कि निर्णायकमण्डल सदस्य डा. ज्ञानु अधिकारीले पछिल्लो समय आख्यानको प्रभावका कारण कथा विधा पिल्सिएको हो कि भन्ने अवस्थामा यस्ता प्रतियोगिता नेपाली कथा साहित्यका लागि एक उत्सवको रुपमा स्थापित भएको बताइन् । उनले जिन्दगीका हरेक क्रियाकलापमा कथा हुने भन्दै त्यसलाई अभिव्यक्त गर्ने डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता उत्कृष्ट अवसर रहेको बताइन् । 

यसैगरी प्रतियोगिता निर्णायक मण्डलका अर्का सदस्य चर्चित कलाकार खगेन्द्र लामिछानेले आफू फिल्म क्षेत्रमा पनि काम गर्ने भएकाले प्राप्त कथाहरुको अध्ययनका क्रममा सोही नजरले हेरी उत्कृष्ट कथानक समेटेर सिनेमा बनाउन पहल गर्ने जानकारी गराए । लामिछाने स्वयम्ले 

साहित्यकार बन्ने लक्ष्य लिएर स्याङ्जाबाट काठमाडौं आएको बताउँदै यता संघर्षका क्रममा साहित्यसँगै नाटक र चलचित्रसँग जोडिएको उनले सुनाए । साहित्य बलियो भए त्यसले सिनेमा निर्माणमा पनि सहयोग पुग्ने उनको धारणा छ । 

समारोहमा प्रोल्लास सिन्धुलीय,भावना पराजुली,चन्द्रप्रसाद भट्टराई र कञ्चन बस्नेतले आवश्यक सुझाव तथा जिज्ञासा राखेका थिए, भने बाह्रखरीका प्रमुख कार्यकारी अधिकृत सूर्य घिमिरेले समाजशास्त्रीका लागि पनि प्रतियोगितामा समावेश हुने कथाहरु अध्ययनको भरपर्दो स्रोत हुने बताउँदै  उठेका जिज्ञासाको समन गरेका थिए । 

यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा डिगो रहेको छ,भने अन्य सहायक प्रायोजकका रुपमा सूर्य नेपाल युनाइटेड अजोड इन्स्योरेन्स,एनआईएमबी बैंक, यति एयरलाइन्स, सिटी एक्सप्रेस मनी ट्रान्सफर,नासा सेक्युरिटिज,करुणा फाउण्डेशन ,बेदालय तथा प्रकाशक पार्टनरका रुपमा फाइन प्रिन्ट रहेका छन् । 

बाह्रखरी मिडियाले आयोजना गर्दै आएको यो प्रतियोगिता नेपाली साहित्यको श्रीवृद्धि र नयाँ प्रतिभा उजागर गर्ने एक सशक्त मञ्चका रूपमा स्थापित भइसकेको छ।

Follow Us
1Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top