
बैशाख ११, काठमाडौँ
नयाँ बर्ष २०८३को शुभकामना सहित लोकतन्त्र दिवस अवसर पारेर शब्दसरोवर डटकमले एक भव्य समारोहका बीच आफ्नो औपचारिक शुभारम्भ गरेको छ । लेखक देखि पाठकसम्म भन्ने मूल उद्देश्य बोकेर सञ्चालनमा ल्याइएको यस शब्दसरोवर डटकमले लेखकका सिर्जनालाई पाठकसम्म पुर्याउने सेतुको रुपमा काम गर्नेछ ।
माइन्डप्लसले आफ्नो विशेष प्रस्तुतिका सहित सञ्चालनमा ल्याएको शब्दसरोवर डटकममा सर्जकका कृतिहरुलाई आधुनिक सञ्चारप्रविधिका विभिन्न माध्यमहरु प्रयोग गरि बढीभन्दा बढी पाठकहरुसामु पुर्याउने र उनीहरुमा पठनसंस्कारको विकास गराउने लक्ष्य बोकेको छ ।

प्रा.डा.शैलुन्दु प्रकाश नेपालको प्रमुख आतिथ्यमा माइन्डप्लसद्वारा आयोजित औपचारिक शुभारम्भ समारोहमा प्रमुख अतिथि नेपालले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपालले नेपाली साहित्यिक क्षेत्रमा शब्दसरोवर डटकमले जुन उद्देश्यका साथ सञ्चालन सुरु गरेको छ यो अत्यन्तै सराहनीय कार्य भएको बताउँदै यसले साहित्यिक क्षेत्रमा एक कोशेढुँगा सावित हुने वताउनु भयो ।
कार्यक्रममा अतिथिहरु स्थापित लेखकद्वय महेन्द्र चालिसे र ललिता दोषीले यस कार्यको खुलेर प्रशंसा गर्दै आफुहरु शब्दसरोवरको साथमा रहेको बताउनुभयो । त्यसै गरि लोमश वाद्दमय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले लोमश र शब्दसरोवर एउटै परिवार भएको हुनाले आफुहरु सदैव सहकार्य गरि अघिबढ्ने बताउनु भयो । कीर्तिकार अमर कीर्तिमानीको सभापतित्वमा आयोजित सो कार्यक्रममा माइन्डप्लसले शब्दसरोवरका तर्फबाट छिट्टै नै फरकखालको साहित्यिक पडकाष्ट सञ्चालनमा ल्याउने घोषणा समेत गरेको छ ।
साथै यस डिजिटल प्लेटफर्ममा कृतिकारले आफ्ना कृतिहरुलाई इबुक, अडियोबुक आफ्ना कृतिका प्रचारात्मक सामाग्रीहरु राख्न सक्नेछन् ।
