कथाकार पराजुलीको कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण

जेठ१५,काठमाडौँ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा कथाकार विष्णु शर्मा पराजुलीको नयाँ कथासङ्ग्रह ‘हिमलुङमा पलाएको माया’ को लोकार्पण गरिएको छ ।

ठमेलस्थित चि: बहालमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लगायत अतिथिहरुले साहित्यकार शर्माको कथासङ्ग्रहको एकसाथ लोकार्पण गरे । वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्रतिष्ठानका अध्यक्ष छवीरमण सिलवालको अध्यक्षता तथा समीक्षक डा. हरि सिलवाल,वरिष्ठ पत्रकार श्रीराम सिंह बस्नेत शंकर भारती,केशव पराजुली तथा राजेश खनाललगायतले कथासङ्ग्रह एकसाथ लोकार्पण गरे ।

कार्यक्रममा कृति र कृतिकारको प्राज्ञिक चिरफार गर्दै डा. हरि सिलवालले पराजुलीलाई यसअघि आफूले नियात्राकार, कवि र लेखकका रूपमा मात्र चिनेको स्मरण गरे । उनले यस नयाँ कृतिले पराजुलीलाई एक भरोसायोग्य कथाकारका रूपमा दह्रोसँग स्थापित गरेको औंल्याए । “साहित्यको कुनै एक विधामा मात्र व्यक्ति अब्बल हुन सक्छ” भन्ने परम्परागत शास्त्रीय चिन्तनलाई पराजुलीले पूर्ण रूपमा भत्काइदिएको उद्घोष डा. सिलवालले गरे । हिमाल, पहाड र तराईको बहुआयामिक परिवेश बोकेको नेपालका विशेषगरी हिमाली भेगका पात्र, परिवेश र जनजीवनलाई अत्यन्त निकटबाट नियालेर लेखिएको कथासङ्ग्रह पाठकमाझ पस्कने लेखकको कौशलको उनले उच्च प्रशंसा गरे । नेपाली आख्यानमा तुलनात्मक रूपमा कम लेखिएका हिमाली क्षेत्रका कथाहरूलाई न्याय गर्न यो कृति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै उनले कृतिको सफलता र सर्जकको उज्ज्वल लेखनयात्राको कामना गरे ।

सो अवसरमा प्रमुख अतिथि प्रमोद प्रधानले कृतिकार पराजुलीसँगको आफ्नो लामो मित्रताको प्रसङ्ग स्मरण गरे । उमेर र समयका हिसाबले ढिलो गरी लेखनमा लागे पनि पराजुलीले छोटो समयमै नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएको उनले बताए । नेपाली र अंग्रेजी भाषामा प्रकाशित ‘तिब्बत यात्रा’ बाट लेखन क्षेत्रमा प्रवेश गरेका पराजुलीले जीवित सङ्ग्रहालयका रूपमा परिचित डोल्पो, श्वेत पर्वत, कर्णालीको दर्शन परम्परा, ‘आधा बाँचेको मान्छे’ देखि ‘हिमालुङमा पलाएको माया’ सम्मका आधा दर्जनभन्दा बढी कृतिहरू सिर्जना गरेर साहित्य भण्डारलाई समृद्ध बनाएको प्रधानको भनाइ थियो । आख्यान क्षेत्रमा धेरै लेखकहरू भए पनि भूगोल, परिवेश र जनजीवनलाई यति नजिकबाट आत्मसात् गरेर लेख्ने सर्जक विरलै भेटिने उनले उल्लेख गरे । पराजुलीका कथाहरूले आफूलाई कैयौँ पटक भावुक बनाएको स्मरण गर्दै उनले पाठक रुवाउन सक्ने यस्तो सिर्जनशीलता कहिल्यै रोकिन नहुने विचार व्यक्त गर्दै कृतिको सफलताको शुभकामना दिए ।

उक्त अवसरमा कृतिकार पराजुलीले आफ्नो साहित्यिक यात्राको साक्षी बनी हौसला प्रदान गर्न उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गरे । उनले कृतिका सम्बन्धमा प्राप्त हुने यथोचित र रचनात्मक प्रतिक्रियाले आफ्नो आगामी लेखन यात्राका लागि थप ऊर्जा र प्रेरणा मिल्ने विचार व्यक्त गरे ।

लोकार्पण कार्यक्रम र अन्तरकृयात्मक गरी दुई सत्रमा सञ्चालित कार्यक्रमको पहिलो चरणलाई प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले कुशलतापूर्वक अघि बढाएका थिए भने दोस्रो चरणको सञ्चालन चर्चित सञ्चालक, पत्रकार तथा साहित्यकार राजेश खनालले गरेका थिए ।

अन्तर्क्रियात्मक रूपमा सञ्चालित दोस्रो शृङ्खलामा खनालले कृतिकारको रचनागर्भका विविध पाटा उधिन्ने प्रयास गरे। साथै, उनले प्रकाशन गृहका कतिपय व्यावहारिक कठिनाइ र आगामी योजनाका बारेमा भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुलीसँग सार्थक बहस समेत गरे । यस चरणमा कृतिकार पराजुलीले आफूले आफैंलाई कुनै साहित्यकारको दर्जामा नराखेको स्पष्ट पार्दै पाठक, समीक्षक र समालोचकहरूका रचनात्मक सुझावलाई शिरोधार्य गरी आगामी लेखनमा इमानदारिताका साथ प्रयोग गर्ने प्रण गरे।

नियात्रा र कथा लेखनमध्ये कुन विधामा बढी आत्मसन्तुष्टि मिल्छ?” भन्ने खनालको प्रश्नको उत्तर दिँदै विष्णु शर्मा पराजुलीले आमाका लागि आफ्ना सबै सन्तान प्रिय हुने दृष्टान्त पेस गरे । उनले थपे, “नियात्रा लेखनमा तथ्यहरूलाई तोडमरोड गर्न मिल्दैन, तर कथा लेखनमा वाक्य संरचनालाई छरितो बनाउँदै कल्पनाशीलताको आकाशमा विचरण गर्न सकिने स्वतन्त्रता हुने उल्लेख गरे ।

सोही क्रममा प्रकाशक केशव पराजुलीतर्फ सोझिएको “वर्तमान अवस्थामा प्रकाशकहरूको रोजाइमा कस्ता विधा पर्छन्?” भन्ने प्रश्नको उत्तर दिँदै उनले सरकारी उदासीनताका कारण कतिपय अवस्थामा खस्कँदो पठन संस्कृतिलाई ब्युँझाउन गाह्रो भइरहेको उल्लेख गरे । यद्यपि, लामो समयदेखिको लगावका कारण अन्य क्षेत्रजस्तै शिथिल बनेको प्रकाशन जगत् पनि अहिले समुचित अवसरको व्यग्र पर्खाइमा रहेको उनले बताए । अर्को एक प्रसङ्गमा प्रकाशक पराजुलीले लेखकले आफ्ना कथामा कल्पनाशीलता र नियात्रामा स्थानीय यथार्थ (विशेषगरी डोल्पा र मुस्ताङका विकट क्षेत्रहरू) लाई सुन्दर ढङ्गले संयोजन गरेको चर्चा गरे।

यसैगरी वरिष्ठ पत्रकार एवं साहित्यकार श्रीराम सिंह बस्नेतले यो कथासङ्ग्रहमा प्रयुक्त आञ्चलिकताको सुन्दर संयोजन नै यसको विशेष गुण हो भन्दै कृतिले हिमाली क्षेत्रको स्पष्ट दर्पणका रुपमा आफ्नो स्थान सुरक्षित राख्न सफल हुने बताउँदै शुभकामना व्यक्त गरे ।

तीन दर्जनभन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष तारा केसीले स्वागत मन्तव्य राखेकी थिइन् । समापनका अवसरमा अध्यक्ष छविरमण सिलवालले कृतिको सफलताको कामना गरे । उनले आगामी दिनमा पनि यस्ता उत्कृष्ट कृतिहरूलाई प्रतिष्ठानका तर्फबाट प्रोत्साहन र प्रवर्द्धन गरिने प्रतिबद्धता जनाए ।

Follow Us
0Shares

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top